काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आजबाट सुरु हुन लागेको संयुक्त जनआन्दोलनमा पहिलो दिन जुलुसले टुँडिखेलको परिक्रमा गर्ने भएको छ ।
सबैतिरबाट आएका जुलुसका टुकुडीहरु रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्ने योजना बनेको हो ।काठमाडौंका ७ स्थानबाट राजावादीको जुलुसहरु निस्किएका छन् ।
मैतीदेवीबाट निस्किएकाे जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे । उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागीता छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन् ।
यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौरबाट अर्को जुलुस निस्किएकाे छ । नयाँ बजारबाट सुरु भएकाे जुलुसको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किने जुलुसमा केशरबहादुर विष्ट सहभागी भएका छन् ।
सबै जुलुसहरु २ बजे रत्नपार्कमा भेला हुने पूर्वतयारी थियो । तर भृकुटीमण्डमा एमालेको प्रदर्शन नसकिएको हुँदा राजावादीको प्रदर्शनमा केही ढिलाइ भएकाे छ। रत्नपार्कबाट निस्किएर टुँडिखेल परिक्रमा गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । आजको प्रदर्शनमा कोको नेताले सम्वोधन गर्ने भन्ने तय भइसकेको छैन ।