Take a fresh look at your lifestyle.

राजावादी जुलुसमा किन छाता ओढे नेताहरूले ? राप्रपा प्रवक्ता भन्छन्- मुकुटको प्रतीक हो !

0

काठमाडौं । राजसंस्थाको पुन:स्थापनाको माग सहित आजबाट ‘संयुक्त जनआन्दोलन’ सुरू भएको छ । काठमाडौंका सात स्थानबाट जुलुसहरू निस्किएर रत्नपार्कस्थित शान्ति वाटिकामा जम्मा भएका छन् ।

यो आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन् । नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक-फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन् ।

आजको राजावादी प्रदर्शनमा एउटा फरक दृष्य देखियो । धेरै नेताहरूले विभिन्न रंगका छाता ओडेका छन् । काठमाडौंमा अहिले पानी परेको छैन, घाम भने चर्किएको छ । तर, व्यवस्था बदल्ने आन्दोलनमा हिँडेकाहरू यस्तो घामसँग नडराउनुपर्ने हो । त्यसो भए छाता किन ओढियो त ?

यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालबाट प्रष्ट्याएका छन् । उनको भनाइअनुसार ‘मुकुट’ को प्रतिकको रुपमा लिङदेनले छाता ओढेका हुन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विरोधको प्रतीक कालो रङ्ग र मुकुटको प्रतीकको रूपमा छाता (कालो छाता) लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राजसंस्थावादी आन्दोलनको जुलुस मैतीदेवीबाट अघि बढेको छ ।’

नेपाल प्रेससँग थप कुरा गर्दै श्रेष्ठले देशलाई अभिभावक चाहिएको संकेत गर्न मुकुटको प्रतीकको रूपमा छाता ओढिएको बताए ।

‘पूर्वतयारी अनुसार नै आज अधिकांश नेताहरूले छाता ओढ्नुभएको छ । घामपानीसँग जोडिनलाई भन्दा पनि यसलाई प्रतिकात्मक अर्थमा बुझ्नुपछ,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.