एल क्लासिको सधैं ठूलो विषय हो, जुन संसारभर सबैभन्दा बढी हेरिने खेलहरूमध्ये एक हो । तर यस पटक बार्सिलोना र रियल म्याड्रिड लिग सिजनको अन्त्यतिर भेटिंदै छन् र लालीगा उपाधि अझै अनिश्चित छ, जसले यो पछिल्ला वर्षहरूको सबैभन्दा ठूलो क्लासिको बनाएको छ ।
बार्सिलोनाको ओलम्पिक स्टेडियममा आइतवार (नेपाल समय साँझ 8:०० बजे) यी दुई विशाल टोली एकअर्काविरुद्ध भिड्नेछन् । यस सिजनको अन्तिम चरणमा यी दुई मात्र यस्तो टोली हुन् जसले स्पेनको च्याम्पियन बन्ने सम्भावना राखेका छन् । उपाधि जित्ने लक्ष्य आफैमा ठूलो प्रेरणा हो, तर लामीन यामाल र किलियन एमबाप्पे जस्ता स्टार खेलाडीहरूका लागि आफ्ना कट्टर प्रतिद्वन्द्वीहरूसँग पराजित हुनु झन् असह्य हुन सक्छ ।
यो सिजन बार्सिलोना म्याड्रिडमाथि प्रत्येक भेटमा हावी भएको छ । तर चार अंकको अग्रता कायम राख्न नसकेर उपाधि गुमाउनु भनेको प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनलाई कठोर अन्त्य दिने हो, विशेष गरी यसै हप्ता इन्टर मिलानसँगको ऐतिहासिक च्याम्पियन्स लिग सेमिफाइनल हारपछि ।
रियल म्याड्रिडका लागि उपाधिविहीन सिजन त विनाश नै हो । र यही सम्भावनाको सामना गर्दै छन् प्रशिक्षक कार्लो एन्सेलोटी, जो सम्भवत: क्लबमा आफ्नो अन्तिम वर्ष बिताइरहेका छन् ।
किन यो वर्षको सबैभन्दा ठूलो क्लासिको हो
यस सिजनमा हामीले चारवटा क्लासिको देख्यौं, हरेक अघिल्लोभन्दा बढी महत्त्वपूर्ण । अब, यस्तो लाग्छ कि सारा सिजन नै यो एक खेलतर्फ निर्माण भइरहेको थियो ।
सामान्यतः क्लासिको यति ढिलो हुँदैन, र अझै यति धेरै दावमा त झनै हुँदैन । लालीगाले मार्च वा अप्रिलमा क्लासिको हुनेगरी तालिका बनाउने गर्छ, ताकि खेलको परिणामले उपाधिमा प्रभाव पारोस् । विगत ३० वर्षमा क्लासिको यति ढिलो हुँदा एकपटक मात्रै भएको थियो- मे २७, १९९५ मा, जब बार्सिलोनाले १-० ले जितेको थियो । तर त्यो सिजन म्याड्रिडले लिग जितिसकेको थियो ।
तर अहिले हामी खेल सप्ताह ३५ मा छौं, बार्सिलोना चार अंकले अगाडि र डोमेस्टिक डबलको नजिक छन्। म्याड्रिड भने अन्तिम आशामा बाँचेका छन्, जित्ने र बार्साले बाँकी खेलमा चिप्लिने आशामा।
ऐतिहासिक क्लासिकोलाई फर्केर हेर्दा, अप्रिल २०१२ मा क्याम्प नोउमा म्याड्रिडले २-१ ले जितेको थियो। रोनाल्डोको “काल्मा, काल्मा” इशारा अहिले पनि क्लासिकोको एउटा प्रतीक हो। त्यसपछि म्याड्रिडले १०० अंक र १२१ गोलसहित लिग जितेको थियो।
त्यसअघि, मे २, २००९ मा बार्साले सान्टियागो बर्नबेउमा ६-२ को ऐतिहासिक जित निकालेका थिए । मेस्सी र थियरी हेन्रीले दुई–दुई गोल गरेका थिए । त्यो नतिजाले उपाधि त तुरुन्त सुनिश्चित गरेन, तर दौड कता जाँदैछ भन्ने स्पष्ट भयो ।
के आइतवार पनि त्यस्तै इतिहास रचिनेछ ? आशा गरौं !
यहाँ कसरी आइपुग्यौं ?
खेल तालिका सार्वजनिक हुँदा धेरैले अनुमान गरेका थिए कि यो क्लासिको आउँदा उपाधिको दौड समाप्त भइसकेको हुनेछ । तर त्यो गलत सावित भयो । सिजनको अन्त्यमा यस्तो रोमाञ्चक मोड आइपुग्छ भन्ने कमैलाई लाग्थ्यो ।
केही समय यस्तो भयो जब दुबै टोली शीर्ष स्थानबाट अलग देखिए । एट्लेटिको म्याड्रिडले पनि योगदान दिए, तर सिजनको अधिकांश समय बार्सिलोनाले अग्रता लिएका थिए, यद्यपि २०२४ को अन्त्यमा उनीहरूको लय कमजोर भएको थियो ।
लालीगा तालिका:
1 – बार्सिलोना – ३४ खेल – ७९ अंक
2 – रियल म्याड्रिड – ३४ खेल – ७५ अंक
3 – एट्लेटिको – ३५ खेल – ७० अंक
पछिल्लो अक्टोबरमा म्याड्रिडलाई ४-० ले हराएर बार्साले सिजनको उत्कृष्ट सुरुवात प्रमाणित गरेका थिए । त्यसबेला उनीहरूले ६ अंकको अग्रता लिएका थिए । त्यसपछि भने बार्सिलोना लडखडे, एट्लेटिको शीर्षमा पुग्यो । त्यसपछि एट्लेटिको पनि चिप्लियो, र म्याड्रिडले फाइदा उठाए ।
जनवरीमा रियल भलाडोलिडलाई पराजित गरेपछि म्याड्रिड ७ अंकले अगाडि भयो। तर फेब्रुअरी १ देखि मार्च १ सम्म ५ खेलमा १ जित मात्रै निकाल्न सके । त्यही समयमा बार्साले पुनरागमन गरे ।
२०२५ मा बार्साले १५ खेलमा १३ जित, २ बराबरी निकालेका छन् । उनीहरूले सुपरकोपा र कोपा डेल रे पनि जितिसकेका छन् । आइतवार हार नखाए दोस्रो उपाधि तीन वर्षभित्र सुरक्षित हुने सम्भावना बलियो छ ।
बार्सिलोनाको लागि के दाउमा छ ?
सिजन सुरु हुँदा कसैले अपेक्षा गरेको थिएन- सुपरकोपा, कोपा डेल रे जित्ने र च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुग्ने युवा टोलीले यति उत्कृष्ट प्रदर्शन गर्नेछ ।
तर अब अपेक्षा फरक भइसकेका छन् । लामीन यामालको उदय, रफिन्हा र लेवान्डोस्कीको गोल वर्षा, र फिट बनेका पेड्री- सबैले फ्लिकको उच्च-इंटेन्सिटी प्रणालीमा उत्कृष्टता देखाएका छन् ।
तर इन्टर मिलानले देखाएझैं, यो प्रणाली अपूर्ण पनि छ । अब म्याड्रिडलाई चौथो पटक हराउन सके भने उपाधिको ढोका लगभग खुल्नेछ । जितेमा फ्लिकको पहिलो सिजनलाई उत्कृष्ट भनिनेछ; हारेमा भने सारा प्रगति ओझेलमा पर्नेछ ।
रियल म्याड्रिडको लागि के दाउमा छ?
सबै कुरा । या त जित्ने, लिग जित्ने र सिजन बचाउने- वा हार्ने र सिजन पूरै विफल मानिने ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि धेरै म्याड्रिड समर्थक र मिडियाका लागि सिजन समाप्त भइसकेको हो । क्लबको मापदण्डमा क्वाटरफाइनल हार अस्वीकार्य हो । इन्टरले उपाधि जित्दा बार्साले जित्न नपाएकोमा राहत मिल्यो ।
यदि म्याड्रिडले लिग जिते भने, फ्लिकको ‘रमाइलो’ बार्सालाई पछि पार्दै सफल सिजनको दाबी गर्न सक्छन् ।
एन्सेलोटीको बिदाइ लगभग पक्का छ- उनी ब्राजिलको प्रशिक्षक बन्ने तयारीमा छन्। तर क्लासिको जितेमा र लिग जितेमा, नयाँ प्रशिक्षक (संभावित रूपमा साबी आलोन्सो) का लागि टिम परिवर्तनमा कति जोश देखाउने भन्ने निर्धारण हुन सक्छ ।
क्लासिकोको परिणामले उपाधि दौडमा कस्तो असर पार्छ ?
यदि बार्साले जित्यो:
बार्साको अंक ८२ पुग्नेछ र म्याड्रिड ७५ मा रोकिनेछ। तीन खेल बाँकी हुँदा लिग लगभग बार्साको हातमा पुग्नेछ। त्यसपछि बार्साले एस्पान्योलविरुद्ध जित निकाल्दै उपाधि पक्का गर्न सक्नेछ।
यदि म्याड्रिड मल्लोर्कासँग हार्छ भने, बार्साले एस्पान्योल खेल्नु अगाडि नै उपाधि जितिसकेको हुनेछ ।
यदि बराबरी भयो:
बार्साको ८०, म्याड्रिडको ७६ अंक हुनेछ। बार्सालाई बाँकी तीन खेलमा ५ अंक गुमाउनुपर्नेछ र म्याड्रिडले सबै खेल जित्नुपर्नेछ । सम्भावना कम छ, तर असम्भव होइन ।
यदि म्याड्रिडले जित्यो:
बार्सा ७९ मा रहनेछ, म्याड्रिड ७८ पुग्नेछ। यसपछि म्याड्रिडका खेलहरू तुलनात्मक रूपमा सजिला छन्- मल्लोर्का, सेभिल्ला, र सोसिडाड। जबकि बार्साले एस्पान्योल (जहाँ उनीहरू १२ मध्ये ११ खेल नहारिकन आएका छन्), भिल्लारियल र एथ्लेटिकसँग खेल्नुपर्नेछ ।
यदि म्याड्रिडले ४ वा सोभन्दा बढी गोल अन्तरले जित्यो भने, बार्साको हेड-टु-हेड फाइदा पनि गुम्नेछ ।
पिचिचीको दौड:
लेवान्डोस्कीले किलियन एमबाप्पेको आगमनपछि पनि आफूलाई सिद्ध गरेका छन् । बार्साको ९१ गोलमध्ये २५ गोल उनीबाट आएका छन् ।
तर एमबाप्पे पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा छन्- अहिले २४ गोलसहित उनी लेवान्डोस्कीको एक गोलमात्र पछाडि छन् ।
अब यी दुई स्ट्राइकरबीचको व्यक्तिगत दौड बाँकी चार खेलमा तय हुनेछ। मुख्य लक्ष्य लिग जित्नु भए पनि, व्यक्तिगत सम्मानको चाहना पनि ठूलो प्रेरणा हो ।