काठमाडौं । कांग्रेस राजनीति छोडेर राजावादी अभियानमा हिँडिरहेका ७२ वर्षीय खेमराज सेढाईंलाई अनायाश हिजो पक्राउ गरिएको छ । तीनकुने घटनासँग जोडेर प्रहरीले उनलाई हिजो संयुक्त जनआन्दोलन समितिको बैठक स्थलबाट उठाएको हो ।
आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको बैठक राखिएको थियो । बैठकबाट निस्किँदै गर्दा सोही पार्टी प्यालेसमा पुगेका प्रहरीले उनलाई झ्यापझुप पारे । सेढाइले आफूले नियमित सेवन गर्ने औषधि लिन घर पुर्याइदिन आग्रह गरेका थिए । तर, प्रहरीले ‘औषधि हामी नै ल्याइदिन्छौं’ भन्दै भद्रकाली लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तीनकुनेमा राजावादीले आन्दोलन गरेको चैत १५ मा हो । घटना भएको ३८ दिनपछि सेढाईंलाई पक्राउ गरिँदा राजावादीहरु आश्चर्यमा परेका छन् ।
संयुक्त जनआन्दोलन समितिका एक सदस्यले भने, ‘तीनकुने घटनामा उहाँको कुनै नेतृत्वदायी भूमिका थिएन । उहाँ अतिथिको रुपमा सहभागी भएको मात्र हो । त्यो घटनासँग कुनै सम्वन्ध भए त्यतिबेलै पक्राउ गरिन्थ्यो होला । उहाँ कतै भाग्नुभएको त थिएन ।’
त्यसो भए किन पक्राउ गरियो त उनलाई ? यसको उत्तर खोज्न सेढाइको पृष्ठभूमिमा जानुपर्छ । अहिले राजावादीका रुपमा कहलिए पनि सेढाइ कांग्रेस पृष्ठभूमिका नेता हुन् ।
उनी पञ्चायतकालबाटै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । विद्यालयका प्रधानाध्यापक रहेका उनलाई नेविसंघमा संलग्न भएको नुवाकोटको लिखु गाउँपालिका ३ निवासी सेढाईं कांग्रेसका पुराना हस्ति भए पनि कहिल्यै लाभको पदमा पुगेनन् ।
उनले ५१ सालमा नुवाकोटबाट सांसदको चुनाव लडेका थिए, तर डा. प्रकाशचन्द्र लोहनीसँग पराजित भए । त्यसयता उनलाई कांग्रेसले टिकट दिएन । नुवाकोटमा अर्जुननरसिंह केसीका दाजुभाइ र डा. रामशरण महतका दाजुभाइसँग भिड्न नसक्दा उनी पछि परिरहे ।
सेढाईं कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईसँग निकट थिए । उनले अन्तिम समयसम्म भट्टराईलाई साथ दिए । कांग्रेसले राजतन्त्र छोडेर गणतन्त्रको लाइन समातेपछि उनी भट्टराईसँगै असन्तुष्ट बने । भट्टराईको देहान्तपछि उनलाई कांग्रेसप्रति मन मर्दै गयो ।
सेढाईंले औपचारिकरुपमा कांग्रेस परित्याग गरेको भने दुई वर्ष मात्रै भयो । त्यसपछि उनी राजावादी अभियन्ताका रुपमा खुलेका छन् । यद्यपि, कुनै पार्टी वा संगठनमा उनी गएनन् । स्वतन्त्ररुपमा नै राजसंस्थाको वकालतमा हिँडे । पछिल्लो समय उनी कांग्रेस र खासगरि देउवाको कटु आलोचक बनेका थिए ।
निकटस्थका अनुसार विगतमा देउवासँग खेमराज सेढाइको असल सम्बन्ध थियो । २०४८ सालमा देउवाले आरजु राणासँग विवाह गर्दा उनले सहयोग गरेका थिए । आफूले त्यतिबेला बेहुलीका लागि ७५ हजार रुपैयाँमा हिराको औंठी किनिदिएको सेढाईं आफैंले बताउने गर्छन् । तर, त्यो गुन अहिले देउवाले बिर्सिएको आरोप सेढाईं निकटको छ ।
विगतदेखि उनी निकट रहेका एक कांग्रेस नेताले भने, ‘उहाँले युट्यूव च्यानलमा दिएका केही अन्तरवार्ताहरुमा देउवाविरुद्ध बोल्नुभएको थियो । अहिले देउवाले प्रतिशोध साध्नुभएको हो । तीनकुने घटनासँग यो पक्राउको कुनै लेनादेना छैन ।’
देउवाले नै गृहमन्त्री रमेश लेखकलाई भनेर सेढाईंलाई पक्राउ गर्न लगाएको उनले दावी गरे । ‘जनआन्दोलन समितिको सल्लाहकार भएकै आधारमा पक्राउ पर्नुभएको होइन । यदि त्यसो हुन्थ्यो भने जगमान गुरुङहरु पनि पक्राउ पर्नुहुन्थ्यो । यो उहाँप्रति व्यक्तिगत प्रतिशोध साँध्न खोजिएको मात्र हो ।’