काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सरकारले जाँगर नचलाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘उपाध्यायता धेरै नभए पनि परम्परा धानिएकै छ । १२ वर्षदेखि मैले चाख लिएर सुन्दै आएको हो । यो कर्मकाण्डमै सीमित छ’, उनले भने, ‘यो थोकको सरकारले जाँगर नलगाई ल्याएको पुरानै कर्मसूची हो ।’
शुक्रवार सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल भइरहेको छ । डा. वाग्लेले नीति तथा कार्यक्रममा मन्त्रालयहरू बीचमा नै पनि समन्वय नहुने गरेको बताएका छन् ।
‘दुई तिहाइ सरकारको लय, चरित्र, सामर्थ्य, ऐतिहासिकता यस्तै नै हो त ? सत्तारुढकै अन्य नेताहरूसँग अनौपचारिक छलफल गर्दा त्यहाँ पनि निराशा रहेको पाएको छु’, उनले भने, ‘नीति तथा कार्यक्रम खुद्रे, मसिना, परिचित घोषणाहरूमा रुमलिएको छ ।’
नीति तथा कार्यक्रमका बुँदाहरू हेर्दा सबै खत्तम नै नभए पनि महत्त्वपूर्ण भने नभएको उनले टिप्पणी गरे । प्रमुख दुई दलले ल्याएको नीति तथा कार्यक्रमले नयाँ दिशा निर्देश नगर्ने उनले बताए ।
दुई तिहाइको सरकारले इन्टर्नको कुरा गर्दा नसुहाउने उनले टिप्पणी गरे । डा. वाग्लेले भने, ‘सरकारी सेवामा इन्टर्न राख्ने कुरा पोहोर हाम्रै पार्टीको मन्त्रीले प्रस्ताव राख्दा उल्लीबिल्ली गरियो । यसपालि सरकारले राखेको रहेछ । दुई तिहाइको सरकारले इन्टर्नको कुरा गर्दा अलिकति नसहाउने रहेछ । तर, नियमित काम हो । गरेर देखाउनु पर्यो ।’