विराटनगर । कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन पुगेका एकीकृत समाजवादीका नेताहरूलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाटी एकताको प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका उप महासचिव तथा प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राइ लगायतको टोलीलाई स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले पाटी एकताको प्रस्ताव गरेका हुन् ।
ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले अनौपचारिक छलफलमा भने, यतिका नेता भएको ठाउँमा म एउटा कुरा भन्छु, दुई गौरवशाली पार्टी भनेर मात्रै भएन । अब एउटै गौरवशाली पार्टी बनाउनुपर्छ ।’
ज्ञापन पत्र बुझाउन पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्युरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायतका तीन दर्जन बढी नेताहरू मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
यस अघि समाजवादी कोशी प्रदेश कमिटीले १७ वटा विषयका १३८ बुँदे मानपत्र बुझाएको छ । पाटीले बजेट तथा नीति कार्यक्रमलाई लक्षित गरेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा गिरीबन्धु टि स्टेटको जग्गा विषयमा भएको अनियमितताको उच्च स्तरीय छानबिन गर्न नेकपा एकीकृत समाजवादीका नेताले माग राखेका थिए ।
यस्तै प्रदेश सरकारको विकास निर्माणमा हुने ढिलासुस्ती, गुणस्तरको ग्यारेन्टीको अनुगमन निरीक्षण गर्न शक्तिशाली संयन्त्र निर्माण गर्न र फजुल खर्चको कटौती मार्फत सरकार सञ्चालनलाई मितव्ययी बनाउन पनि उनीहरूले माग गरे ।
मुख्यमन्त्री कार्कीले समाजवादी पार्टीले राखेका अधिकांश माग र मुद्दाहरू जायज रहेको बताए । ‘तपाईँहरूले राखेका मागहरू जायज छन्,’ उनले भने, ‘प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि पनि यो माग पत्रले सहयोग गर्नेछ ।’