काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते भएको घटनामा राज्यले निर्मम दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
राप्रपाले चैत १५ गते राजधानीको तीनकुनेमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि राज्यद्वारा गरिएको दमन र मानवअधिकार उल्लंघनविरुद्ध विरोध जनाउँदै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगका एशिया प्यासिफिक क्षत्रेका मानवअधिकार अधिकृत रघु मेननलाई ज्ञापनपत्र बुझाएको हो ।
उक्त पत्रमार्फत चैत १५ गते भएको घटनाको विस्तृत विवरण, राज्यद्वारा प्रदर्शनकारीमाथि प्रयोग गरिएको अति बल, घेरा हालेर गोली प्रहार, आँसु ग्यास, निर्दोष नागरिक घाइते भएको अवस्था, र त्यसपछि सुरु गरिएको गिरफ्तारीको शृङ्खला, सबै विषयमा गम्भीर ध्यानाकर्षण गराइएको राप्रपाले जनाएको छ ।
पत्रमा विशेषगरी शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी नेताहरूलाई अन्यायपूर्वक गिरफ्तार गरिनु, उनीहरूविरुद्ध अपराध सम्बन्धी अत्यन्त कठोर मुद्दा चलाइनु, तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारसमेत उल्लेख गरिएको छ ।
‘हामी अपिल गर्दछौं, चैत १५ को घटनामा संलग्न दोषीहरूलाई जवाफदेही बनाउने प्रक्रिया प्रारम्भ होस्, पीडितहरूलाई न्याय मिलोस्, र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरियोस्। यो नेपाल मात्र होइन, विश्वभरका मानवअधिकारप्रेमीहरूको साझा चिन्ताको विषय हो।’ पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझाउन राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीसहितका सदस्यहरु राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय ललितपुर पुगेका थिए ।