Take a fresh look at your lifestyle.

लायन्स कप भलिबलः तीन विभागीयसहित इरानी टोली सेमिफाइनलमा

0

पोखरा । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।
शनिबारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग हारे पनि नेपाल पुलिस क्लव सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बी’ मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ‘ए’ बाट अर्को विभागीय टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

समूह ‘बी’अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपीएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपीएफ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह ‘बी’को उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

दोस्रो सेमिफाइनल खेल समूह ‘बी’ विजेता नेपाल पुलिस र समूह ‘ए’ उपविजेता टोली एपीएफबीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल सोमबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.