Take a fresh look at your lifestyle.

विषादीमुक्त कृषि र स्वस्थ जीवनशैली अभियानका जोसिला डा. कृष्णदेव जोशी

0

कैलाली । कृषिमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । बालीनालीमा रोगकीरा लाग्दा प्रयोग गरिने रासायनिक विषादी होस् या उत्पादन वृद्धि गराउने नाममा प्रयोग गरिने हानिकारक अन्य कृषि सामग्री सबै ढङ्गले समाज विषाक्त बन्दै गएको छ ।

उत्पादनपूर्व माटोमा प्रयोग गर्ने विभिन्न झारनाशक विषादीदेखि उत्पादनपछि उपभोक्ताको घरसम्म पुग्नुअघि प्रयोग गरिने विषादीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । हानिकारक रसायनले माटोको उर्बरा शक्ति र मान्छेको आयु दुवै घट्दो छ । यस्तो अवस्थामा बैतडीका डा. कृष्णदेव जोशी विषादीमुक्त कृषि उत्पादन प्रणाली र स्वस्थ समाज तथा जीवनशैली बनाउने अभियानमा जुटेका छन् ।

२०१७ सालमा बैतडीको श्रीकोट हालको दोगडाकेदार गाउँपालिकामा जन्मिएका जोशीले करिब ३५ वर्षदेखि कृषि अनुसन्धान, विकास र क्षमता अभिवृद्धिको अनुभव बटुलिसकेका छन् । उनी २०७४ सालदेखि कृषि, पशुपक्षी र फलफूलमा जैविक तत्वको प्रयोग गराउन लागिरहेका छन् ।

कृषिमा तौरतरिका नपुर्‍याएर र जथाभावी रासायनिक तत्त्वको प्रयोगले मानिसको आयुमात्रै नभई वातावरणमा समेत गम्भीर असर परिराखेको उनी बताउँछन् । नेपालबाहेक दक्षिण एसिया, पूर्वी अफ्रिकालगायत विश्वका दुई दर्जन बढी देशको अनुभव र जिम्मेवारीपछि अहिले जोशी मुलुकमै रहेर जैविक कृषि उत्पादन गरिरहेका छन् ।

‘म जन्मिँदा मेरो परिवारले नै वर्षभरि खान पाउने अवस्था थिएन, तर हामीले खाने खाद्यान्न स्वच्छ, पूर्ण रूपमा विषादीरहित घरकै उत्पादन हुन्थ्यो’, उनी भन्छन्, ‘आज हाम्रो प्रमुख मुद्दा भनेको सबैले पेटभरि स्वच्छ खाद्यान्न पाऊन् भन्ने हो । हामी अहिले यही अभियानमा छौँ ।’

कक्षा ८ सम्म आफ्नै गाउँमा अध्ययन गरेका जोशी माध्यमिक तह अध्ययन गर्न छिमेकी गाउँ लागे । छात्रवृत्तिमा सिद्धानाथ विज्ञान क्याम्पसमा ११ र १२ मा जीव विज्ञान सङ्काय अध्ययन गरेका उनले छात्रवृत्तिमै भारतको बेंगलोरमा कृषि विषयमा स्नातक गर्ने मौका पाए । महाकाली सिंचाइ परियोजनाअन्तर्गतको सुन्दरपुर कृषि फर्ममा पहिलो तालिम अधिकृतको रूपमा काम गरेका उनले त्यसपछि कपास विकास समितिमा काम गरे । तत्पश्चात् उनले लुम्रे कृषि केन्द्रमा काम गरे ।

‘लुम्रे कृषि केन्द्रले नेपाललाई मात्रै होइन, विश्वलाई नै अनुसन्धानको लागि धेरै कुरा सिकाएको छ’, उनी भन्छन्, ‘सहभागितामूलक बाली प्रजनन र सहभागितामूलक बाली जात छनोट जस्ता थुप्रै सरल, कम खर्चिलो र समुदायको अधिकतम सहभागिता हुने विधिबारे विश्वले हामीबाट सिक्दैछ ।’

एमएस्सी र पीएचडी गर्न बेलायत पुगेका जोशीलाई त्यहाँ अवसरका चाङहरूले पछ्याएका थिए, तर अध्ययन सकेर उनी आफ्नो भूगोल र भूमि सम्झिएर नेपाल फर्किए । सहभागितामूलक तरिकाले धानको नयाँ जातहरूको विकास गर्न सकिन्छ भन्ने विश्वास गरेका जोशी विस्तारै माटो, मल र मानिसलाई स्वस्थ राख्नुपर्छ भन्ने अभियानमा आकर्षित भए ।

मुलुकमा कृषिमा बढिरहेको हानिकारक रसायनको प्रयोग र त्यसले पारिरहेको असरबारे उनले नजिकबाट बुझिरहेका छन् । २०७४ सालमा काठमाडौंमा इलमी एग्रो एन्ड टेक कम्पनी स्थापना गरेर रैथाने लाभदायक जीवाणुमा आधारित जीवाणु मल, बाली विरुवाको रोगकीरा नियन्त्रण गर्न जैविक नियन्त्रक, प्राङ्गारिक मल छिटो तयार गर्न उनले रैथाने जैविक नियन्त्रक उत्पादन सुरु गरे ।

साथै परालको जैविक उपचारद्वारा पोसिलो र रुचिकर पशु आहारा बनाउने प्रविधि तयार गरे । जोशीले विज्ञान प्रविधिमा आधारित कृषि अनुसन्धान र अन्वेषण विकास गरेर उत्पादन कार्यमा क्रियाशील छन् ।

‘कुहाउन मिल्ने, तर सदुपयोग हुन नसकेका वस्तुहरूलाई एकीकृत गरेर इलमी रैथाने डिकम्पोजरले कुहाउने गर्छ’, उनी भन्छन्, ‘लाभदायक जीवाणु र ढुसीहरूमार्फत यो तयार गरिएको हो । यसले माटोको गुणस्तर र उर्बराशक्ति बढाउनुका साथै बाली उत्पादन बढाउन पनि सहयोग गर्छ ।’

जोशीका खेतीको आधार माटो हो र माटोमा हुने कार्बनिक वस्तु माटोको प्राण हो । स्वस्थ माटोमा ५ प्रतिशत अग्र्यानिक वस्तु हुनुपर्ने उनको भनाइ छ । ‘माटो स्वस्थ नहुँदा कृषिको उत्पादकत्व घट्दै जान्छ’, उनी भन्छन्, ‘माटो जीवित, उर्बर र उत्पादनशील बनाउन माटो स्वस्थ हुनुपर्छ । माटोमा भएको कार्बनिक पदार्थलाई बढाउन र माटोलाई उर्बर बनाउने दिशामा हामी लागिपरेका छौँ ।’

अनियन्त्रित ढङ्गले विषादी प्रयोग गर्दा माटोमा कार्बनिक पदार्थ घट्दो छ । ५ प्रतिशत आवश्यक पर्नेमा नेपालका केही क्षेत्रमा १ प्रतिशत र केहीमा त्योभन्दा पनि घट्ने क्रममा छ । जोशी भन्छन्, ‘सरकारले अन्तर्राष्ट्रिय सम्झौतामार्फत ३.९७ प्रतिशत अग्र्यानिक तत्त्व बढाउन सहमत भएको सन्देश दिइसकेको छ, तर यो प्राप्तिका लागि ठोस कार्यक्रमहरू कार्यान्वयन भएको छैन ।’

माटोलाई स्वस्थ, मलिलो र दिगोपना दिन प्रशस्त मात्रामा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने हुन्छ, तर परम्परागत तरिकाले मल बन्न ४ देखि ६ महिना लाग्छ । ४० देखि ४५ दिनभित्र मल बनाउन इलमी रैथाने डिकम्पोजर तयार गरिएको उनले बताए ।

‘माटोमा रहेको फस्फोरसलाई घुलनशील बनाउन फस्फेट घुलनशील ब्याटेरिया, पोटासलाई घुलनशील बनाउन पोटासियम घुलनशील ब्याटेरिया, वायुमण्डलमा रहेको नाइट्रोजनलाई विरुवाको जरासम्म पुर्‍याउन विरुवाले प्राप्त गर्ने एजोटोब्याक्टर र यस्तै लाभदायक जीवाणुजन्य पदार्थ तयार गरेका छौँ’, उनले भने ।

ढुसीजन्य रोग नियन्त्रण गर्न ट्रइकोडर्मा र ब्याटेरिया नियन्त्रण गर्न सुडोमोनस, अन्य लार्भाकीर नियन्त्रण गर्न बीटी तयार गरिएको छ । ब्युभेरिया साथै गोवर मलमा हुने खुर्मे कीरा नियन्त्रण गर्न मेटाराइजिम तयार छ ।

‘यसको प्रयोग माटो, बीउविरुवालाई उपचारमा गर्न सकिन्छ । यस्ता जैविक जीवाणु प्रभावकारी रूपमा प्रयोग बढाउन घामबाट जोगाएर प्रयोग गर्नुपर्छ’, उनी भन्छन्, ‘रासायनिक मल र विषादीसित मिसाएर कहिल्यै पनि प्रयोग गर्नुहुँदैन । यससम्बन्धी तालिमसमेत दिइरहेका छौँ ।’

जोशी माटो र उत्पादनसँगै केही हदसम्म पशु स्वास्थ्यमा पनि लागिरहेका छन् । किर्ना, उपियाँ र जुम्रा नियन्त्रण गर्न विषादी प्रयोग गर्दा त्यसको असर पशु र मानव स्वास्थ्यमा पर्ने हुन्छ । उनले भने, ‘यी समस्या समाधान गर्न पनि हामीले जैविक पदार्थ तयार गरेका छौँ ।’

पोषणयुक्त नभएको पराललाई उपयोगी पशु आहारा बनाउन जैविक ढङ्गले ल्याक्टोबेसिलस बनाएका जोशी भन्छन्, ‘यसले पराललाई गुन्द्रुक जस्तो बनाउँछ । परालमा पोषण बढाउँछ र मिथेन उत्पादन हुन दिँदैन ।’

सुरक्षित खाद्य उत्पादन नहुँदा समाजमा मानव रोगहरू पनि बढिरहेका छन् । अहिले भयावह बन्दै गएको क्यान्सर र बच्चाहरूमा देखिन थालेको अटिजम जस्ता रोगहरूको कारण पनि कृषिदेखि पशु उत्पादनसम्म प्रयोग गरिने नानाथरिका विषादी नै हुन् । भारतबाट विनापरीक्षण आइरहेका तरकारी र फलफूल थप हानिकारक छन् ।

जोशी माटो र मान्छे दुवै स्वस्थ बनाउन आफूहरूले ११ वटा इलमी रैथाने जैविक पदार्थ उत्पादन गरेको बताउँछन् । मुलुक कृषि प्रधान देश भनिए पनि राज्यले बलियो कृषि नीति अवलम्बन गर्न नसक्दा अहिले उर्बर भूमि घटिरहेको छ । कृषियोग्य जग्गा विनामापदण्ड घडेरी बनिरहेका छन् । तराईमा जनसङ्ख्याको चाप बढ्दै गएको छ भने पहाड रित्तिँदै गएको छ । उनको बुझाइमा यो स्थिति त्रुटिपूर्ण नीति र असन्तुलित विकासका कारण भएको हो ।

‘हाम्रा पहाडाहरू रित्ता हुँदैछन् । तराइको उर्बर भूमि घडेरी बनिरहेका र कङ्क्रिट बन्दैछ । जग्गाअनुसारको बाली र बालीअनुसारको जैविक उपचार विधि नहुँदा निकै समस्या बढ्दै गएको छ’, उनी भन्छन्, ‘नयाँ बस्ती विकास तराईमा होइन, पहाडमा हुनुपर्छ । भू-माफियाबाट उर्बर जग्गा जोगाउनुपर्छ ।’

प्रदेशको राजधानी, विश्वविद्यालयका केन्द्रीय कार्यालय, सरकारी ठूला कार्यालय, पहाडमा बनाउनुपर्ने उनको सुझाव छ । त्यसले त्यहाँ आर्थिक गतिविधि बढ्दा पहाडतर्फ बसाइसराइ हुने र त्यसपछि तराईको उर्बर भूमि जोगाउन सकिने उनी बताउँछन् ।

सुदूरपश्चिम र कर्णालीमा खाली रहेको ठूलो क्षेत्रफलमा फलफूल, जडीबुटी र पशुपालन गर्न उनी सुझाव दिन्छन् । यसो हुन सके बस्ती रित्तिने, जग्गा बाँझो रहने समस्या हुँदैन र समग्रमा देश समृद्ध बन्नसक्छ ।

कैलाली र कञ्चनपुरबाहेक ७ जिल्लामा १० प्रतिशतभन्दा बढी समथर खेतीयोग्य जग्गा छैन । अधिकांश भिरालो र सिंचाइको पहुँचमा नरहेका जग्गाहरूमा अर्थपूर्ण अन्नबाली सम्भव रहेको उनको भनाइ छ ।

‘त्यस्ता जग्गाहरूमा धान, गहुँ, मकै, कोदो लगाउनु समय, श्रम र पैसा सबै व्यर्थमा खर्च गर्नु हो । त्यसले सम्मानित जीविकोपार्जन हुन सक्दैन’, उनी भन्छन्, ‘तसर्थ भिरालो जग्गामा ठूलो क्षेत्रफलमा व्यावसायिक फलफूल, जडीबुटी र पशुपालनमा जोड दिनुपर्छ ।’

Leave A Reply

Your email address will not be published.