Take a fresh look at your lifestyle.

माओवादी केन्द्र विराटनगरमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगरको अधिवेशनमा नेतृत्व चयनमा रस्साकस्सी शुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल्ले हिजो उद्घघाटन गरेको अधिवेशनमा महानगर कमिटीको अध्यक्षका लागि चारजना आकाङ्क्षीका रूपमा देखिएका छन् । चार जना आकाङ्क्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ ।

महानगरको अध्यक्ष बन्न वर्तमान कमिटीका अध्यक्ष नवीन पौडेलसहित उपाध्यक्षहरू दिनेश राजवंशी (देव) र ज्ञानु भट्टराई आकाङ्क्षी छन् । यस्तै वर्तमान सचिव नमिता न्यौपाने समेत अध्यक्षमा मुख्य आकाङ्क्षी हुन् ।

आकाङ्क्षीका रूपमा वर्तमान उपाध्यक्ष दिनेश राजवंशी र सचिव न्यौपाने लाइन लिन प्रयासरत छन् । उनीहरू नेताहरूकै आड भरोसामा अध्यक्षको लाइनमा उत्रिएका हुन् ।

राजवंशी शिवकुमार मण्डल लगायतको समर्थनमा अध्यक्षको दाबी गरिरहेका छन् ।

न्यौपाने भने अध्यक्ष प्रचण्डको ‘मूल लाइन’ को उम्मेदवार बन्न लागेकी हुन् । जिल्ला कमिटीका दोस्रो तहका केही नेताको समर्थन भने भट्टराईलाई पनि रहेको जनाइएको छ ।

राजवंशी र न्यौपाने भने आ–आफ्नो टिम नै बनाएर अघि बढ्न लागेका हुन् ।

न्यौपानेको पक्षमा बहुसंख्यक नेताको समर्थन जुटाउन कसरत भइरहेको एक कार्यकर्ताले बताए । तर न्यौपानेले चाहेजस्तो सहज अवस्था भने नरहेको राजवंशी पक्षका नेताको भनाइ छ ।

वर्तमान कमिटीकै अध्यक्ष पौडेलले आइतबार उद्घाटन सकिएका कारण सोमबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिए । उनले बन्द सत्रको हलको ‘डिमान्ड’ र कार्यकर्ताले महसुस गरेमा आफू दोहोरिन पनि तयार रहेको बताए ।

‘स्वाभाविक रूपमा म अहिले अध्यक्ष नै भएको, हलले डिमान्ड गरेमा र कार्यकर्ताले आवश्यकताको महसुस गरेमा अघि आउने हो’ उनले भने ।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीका इन्चार्ज भोगेन्द्र यादवले सबैको उद्देश्य सर्वसम्मत नेतृत्व चयन गर्नमा केन्द्रित रहने बताए । त्यसपछि मात्रै निर्वाचनको प्रक्रियामा जाने उनले बताए ।

‘हामी सवै जना सर्वसम्मत गर्न लागेका छौँ, भएन भने त निर्वाचन हुन्छ’ उनले भने, ‘अहिले कसैले कसैलाई बोकेको छैन ।’

स्रोतका अनुसार यादव पनि वर्तमान उपाध्यक्ष राजवंशीकै पक्षमा रहेका छन् । उनले राजवंशीसँगै भट्टराईलाई पनि स्वभाविक दाबेदार रहेको बताउने गरेका छन् । तीन उपाध्यक्ष पद मध्ये सरस्वती ओझा र शारदा मैनालीले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।

उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीभित्र सबैभन्दा घातक पक्ष नै ‘गुटबन्दी’ भएको बताए । उनले भने ‘अघिल्लो पटक प्रदेश अध्यक्षले आचारसंहिता भनेर सुनाउनु भएको थियो, पार्टी अनुशासन पालन नगर्नेलाई कारबाही गरिन्छ भनेर सुनाउनु भएको थियो, यहाँ पार्टी त्यही रूपले निर्माण हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले कम्युनिष्ट पार्टीका लागि सबैभन्दा घातक गुटबन्दी हुन्छ, गुटबन्दी गरेर हिँड्ने, पार्टीका निर्णय, नीति, विधि र नेतृत्वभन्दा बाहिर गएर स्वार्थ समूह बनाउने काम गर्‍यो भने त्यो घातक हुने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.