Take a fresh look at your lifestyle.

हिन्दू राष्ट्रको एजेण्डामा कांग्रेस नरम, राजसंस्थाको पक्षमा यी ‘लिजेण्ड’ गर्दैछन् बहस गरमागरम

काठमाडौं । संविधान संशोधन गर्ने संकल्पसहित एमालेसँग सत्तायात्रा थालेको नेपाली कांग्रेसभित्र हिन्दू राज्य विषयमा बहस चलिरहेको छ। कांग्रेसभित्र यो बहस नौलो होइन । तर, अहिले बाक्लिँदो छ।

कांग्रेसका पुराना नेताहरू हिन्दू राष्ट्रमात्रै होइन, कुनै न कुनै ढंगबाट राजालाई स्पेश दिनुपर्छ भन्ने पक्षमा पनि एकपछि अर्को गरेर खुल्न थालेका छन् ।

सातै प्रदेश र भ्रातृ तथा शुभेच्छुक संघसंस्थासँग छलफलपछि कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले सभापति शेरबहादुर देउवालाई नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव दिएका छन् ।

विभागकी प्रमुख पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला हुन् । उनी सुरूआती देखिनै हिन्दू राष्ट्रको पक्षमा छिन्।

उनीमात्रै होइन, कांग्रेसका नेता डा. शशांक कोइरालाले पनि हिन्दू राज्यको पक्षमा छन् । सोमबार संसद् परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजाको पक्षमा आफू नभएपनि हिन्दूराष्ट्रको पक्षमा रहेको बताए ।

उनले भनेका थिए, ‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौँ । उनले दुरुपयोग गरे । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन । त्यसैले अब राजा हामीलाई चाहिँदैन। हिन्दूराष्ट्रको पक्षमा चाहिँ म छु ।’

कोइरालामात्रै होइन, अर्का सांसद दिपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताए । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संविधान निर्माणका क्रममा हिन्दूराष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बेवास्ता गरेको स्मरण गरे ।

दिपक गिरी ।

उनी हिन्दू राष्ट्रको पक्षमा यसरी प्रस्तुत भए,

०७२ सालमा संविधान आउँदाखेरी तत्कालीन समयमा पनि म संविधानसभाको सदस्य थिए । संविधान बनाउने बेलामा हामी देशभरी नै जनताको राय बुझ्न गएका थियौं । त्यसबेला जनताले दिएको राय बोरामा बन्द छ त्यो अहिले खोलियोस् त ! त्यसबेला करिब ८०/८२ प्रतिशत जनताले हिन्दू राष्ट्र हुनुपर्छ भनेको थियो ।

कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन । त्यतिबेला पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने आवाज ठूलो थियो । केही चलखेल भएको होला । अहिले पनि नेपालमा हिन्दू राष्ट्र आवश्यक परिरहेको छ ।

‘राजाबारे कांग्रेसले कम्युनिष्टको भाषा बोल्ने होइन’

कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै सांसद शंकर भण्डारीले पार्टीमा अभियान नै चलाइरहेका छन् । गएको फागुनमा भएको महासमिति बैठकमा उनैको नेतृत्वमा हस्ताक्षर अभियान नै चलाइएको थियो ।

उनले महासमिति बैठकमा आफूहरूले बहुमत सदस्यहरूको हस्ताक्षरसहित पार्टी नेतृत्वलाई सुझाव सुझाएको भएपनि कार्यान्वयन नगरेकोप्रति असन्तुष्टि जनाए ।

कांग्रेसका हिन्दू राज्यको पक्षमा खुलेका अधिकांश नेता राजावादीप्रति नरम छन्। भण्डारी पनि राजाबारे नरम नै सुनिन्छन् ।

हिन्दूराष्ट्र र राजाबारे नेपाल प्रेससँग सांसद भण्डारीले यसरी सुनिए-

नेपाली कांग्रेसको सबैभन्दा ठूलो महासमिति बैठक हो । गोदावरीमा भएको महासमितिको बैठकलाई त हामीले नीति महाधिवेशनको रुपमा लिएका थियौं, यो विषयमा पार्टीभित्र पनि छलफल हुँदै आएको थियो।

हामीले गोदावरीको महासमिति बैठकमा प्रक्रियागत रुपमा, बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित म नै संयोजक भएर बैठकमा प्रस्ताव पेस गरेको हुँ र महासमितिको त्यो बैठकले पारित गरेको थियो। हामीसँग अभिलेख नै छ ।

तर, त्यो कुरालाई प्रक्रियागत रुपमा केन्द्रीय समितिले निरन्तरता दिनुपर्ने ठाउँमा त्यो भएन । पार्टी नेतृत्वमा भएकाहरुको अनिच्छाको कारणले त्यो अघि नबढेको हो । अब ढिला भइसक्यो । यो आवाज सडकमा पनि निस्किसक्यो ।

गोदावरीमा हिन्दूराष्ट्र स्थापनाको आवाजसहित महासमिति सदस्यमाझ चलाइएको हस्ताक्षर अभियान ।

धर्म भन्ने कुरा व्यक्ति, संस्था र पार्टीभन्दामाथिको कुरा हो । यो राष्ट्रको परिचयको मूल आधार हो । त्यसैलै कांग्रेसको बहुमत साथीहरूको धारणा र राष्ट्रिय आवश्यकताको आधारमा यो विचारलाई जतिसक्दो जनतामा जानुपर्छ ।

सनातन धर्म भनेको राजा भन्दा पनि माथि हो । त्यसैले राजा र धर्मलाई जोडेर कांग्रेसको राष्ट्रिय भूमिकालाई निष्तेज पार्ने षड्यन्त्र भइरहेको छ । त्यसबाट हामी माथि उठेर उच्च जिम्मेवारीका साथ कांग्रेस जनताको बीचमा सनातन धर्मको विषयमा जान आवश्यक छ ।

हामी कांग्रेसीहरू हौं, राजाको बारेमा हामीले कम्युनिष्टको भाषा बोल्न हुँदैन । उचित हुँदैन, सान्दर्भिक हुँदैन । र, त्यो कुरा हामी स्वीकार पनि गर्दैर्नौँ । राजाको बारेमा भोलि जनताले निर्णय गर्नसक्ने आउने स्थिति बन्ला । राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिति, हिजो कसरी राजसंस्था गयो, भोलि के होला अहिल्यै भन्ने सकिँदैन । तर, कांग्रेसले राजाकै बारेमा पनि कम्युनिष्टको भाषा बोल्ने होइन, त्यो कुरा स्वीकार्य पनि हुँदैन ।

राजाप्रति कांग्रेस नरम नै हुनुपर्छ भन्न खोज्नुभएको हो ?

जबजब मुलुक संकटमा पर्छ, मुलुकको राष्ट्रिय अस्तित्वमाथि प्रश्न उठ्छ, तबतब मुलुकलाई रक्षाको लागि पार्टीले त्यही अनुसारको नीति अवलम्बन गरेको विगतको हामीसँग इतिहास छ । बीपीले गरेको, किसुनजीले गरेको निर्णयहरू हाम्रो लागि इतिहास हुन् । यो कुरा कांग्रेसले भूल्न हुँदैन ।’

अहिले मुलुक नयाँ प्रकारको राजनीतिक, आर्थिक, वैदेशिक, सामाजिक, आर्थिक, धार्मिक सबै प्रकारले संकटमा परिरहेको छ । यो बेलामा कांग्रेसले आफ्नो निर्णय गर्ने हो नकि कम्युनिष्टको पछिपछि लागेर रमाउने काम गर्न हुँदैन ।

राजाको पक्षमा कांग्रेसका लिजेण्डहरू

केबी, विपिन, लक्ष्मण, लोकेश ।

कांग्रेसका केही लिजेण्डहरु खुलेर राजसंस्थाको पक्षमा उभिएका छन्, भलै उनीहरूको भूमिका कांग्रेसमा निर्णायक छैन । केबी गुरुङ, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, विपिन कोइराला, लोकेश ढकालजस्ता लिजेण्डहरू यो लाइनमा उभिएका छन् ।

कांग्रेसमा रहेर राजा चाहिन्छ भन्नेमा पर्छन् विद्यार्थी संघका संस्थापक सभापति विपिन कोइराला । उनी अहिले पार्टीको नेतृत्वमा छैनन् । उनी नेविसंघको सभापति हुँदै केन्द्रीय सदस्यसम्म भए । ०५१ मा सांसद बनेपछि स्वास्थ्यमन्त्री समेत बने ।

कोइरालामात्रै होइन, पूर्वमन्त्री लक्ष्मण घिमिरे पनि उनैको लाइनमा छन् । ०६४ मा कांग्रेसका मुख्य सचेतक बनेको घिमिरे पार्टीमा केन्द्रीय सदस्य, पार्टी कार्यालयको मुख्य सचिवको जिम्मवारी पनि सम्हाले । उनले ०४८ मा रामेछाप १ बाट प्रत्यक्ष जितेका थिए भने ०६४ मा समानुपातिक सांसद बनेका थिए ।

राजाको पक्षमा खुल्ने अर्का कांग्रेस नेता हुन्, कुलबहादुर गुरुङ । गुरुङ ७ सालदेखि राजनीतिमा संलग्न छन् । कांग्रेसको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेको उनी पहिलो संविधानसभा निर्वाचन ०६४ मा इलाम ३ निर्वाचित भएका थिए । संविधानसभामा अध्यक्षको निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा संविधान सभाको अध्यक्षता गरेका थिए।

उनकै अध्यक्षतामा बसेको संविधानसभाको पहिलो निर्वाचनले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। तर, अहिले उनै गुरुङ राजाको पक्षमा उभिएका छन् ।

त्यस्तै कांग्रेसका युवा नेता लोकेश ढकाल पनि अहिले हिन्दूसँगै राजाको पक्षमा खुलेका छन् । काठमाडौंका पूर्वजिल्ला सभापति रहेका कांग्रेस अहिले पनि सक्रिय छन् ।

राजसंस्था पक्षधर कांग्रेस नेता लोकेश ढकाल कांग्रेसले जनतालाई र आफ्नै संस्थापक पूर्वलाई धोका दिएको बताउँछन् । उनले तत्कालीन सात दल र माओवादीबीचको १२ बुँदे समझदारीमा पनि राजा फाल्ने कुरा नरहेको बताए ।

ढकालले भने- हालै चैत १५ गते हाम्रो पार्टीका दुई महामन्त्रीले जारी गरेको वक्तव्यमा पनि २०६२/६३ सालको जनआन्दोलनको म्याण्डेट संसद पुन:स्थापना गर्ने थियो भनेर स्वीकार गरेका छन् । त्यस वक्तव्यमा राजतन्त्र फाल्ने एजेण्डा थिएन भन्ने स्वीकार गरिएको छ । कांग्रेस गलत बाटोमा हिँडेको छ । बीपी र गणेशमानको मान्यताविपरीत कांग्रेस गयो । कांग्रेसको महासमितिले गणतन्त्रमा जाने निर्णय गरेर किसुनजीले आफैँले स्थापना गरेको पार्टी रुँदै रुँदै छाडेको सम्झिरहेका छौं । अहिले कांग्रेसलाई किसुनजीको आँशुले पोलेको छ ।

ढकालमात्रै होइन, कांग्रेस प्यूठानका युवा नेता पशुपति डीसी पनि राजाको पक्षमा वकालत गर्दै आइरहेका छन् । खुमबहादुर खड्कानिकट रहेर राजनीति थालेका डिसी कांग्रेसको महासमिति सदस्यसमेत रहिसकेका उनी अहिले राजसंस्था पुन:स्थापनाको अभियानमा छन् ।

जीवनभर कांग्रेस नै रहने तर राजा र हिन्दूराज्यको एजेण्डा नछाड्ने भन्ने खड्का आफूजस्तै सयौं कांग्रेस नेता कार्यकर्ता अहिले यो अभियानमा रहेको बताउँछन् । बोल्न डराए पनि भित्रभित्रै ठूलो पंक्ति सक्रिय रहेको उनको दाबी छ । हिन्दूराज्यको मागभित्र सेरेमोनियल वा सांस्कृतिक राजाको समेत अन्तर्य लुकेको उनको भनाइ छ।

‘हिन्दू राष्ट्रमा हाम्रो भावना छ’

कांग्रेस प्रवक्ता महत ।

पार्टीभित्र हिन्दू धर्मको बहस चलिरहेको बेलामा प्रवक्ता डा. प्रकाशशरण महत त्यसप्रति नरम नै सुनिन्छन् ।

उनी भन्छन्, ‘हामी संविधान निर्माणको बेलामा नै धर्म निरपेक्षतको पक्षमा थिएनौं । धार्मिक स्वतन्त्रता भए हुन्छ भन्ने थियो । सम्झौता गरेको हो । त्यसैले हाम्रो पहिचान हिन्दू, बौद्ध, किरात, धर्म संस्कृति चाहिँ सनातन धर्म संस्कृति हो । यसमा हाम्रो भावना छ ।’

भनेपछि हिन्दू राज्यको पक्षमा कांग्रेस उभिने सम्भावना बढ्दै गएको हो ? उनले थपे, ‘यो विषयमा भावना छ अब कसरी निर्णयमा परिर्णत हुन्छ अहिले भन्न सकिँदैन ।’

उनले पूर्वराजा ज्ञानेन्द्र सेरेमोनियल राजा हुने खालको व्यक्ति नै नभएको टिप्पणी गरे । त्यसो त केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ज्ञानेन्द्रको संविधान राजा बन्न लायक व्यक्ति नभएको भन्दै त्यो सम्भव नभएको अभिव्यक्ति दिएका थिए ।

सभापति देउवाको अभिव्यक्तिसँग मिल्दोजुल्दो ढंगले पूर्वराजाबारे प्रवक्ता महतले भने, ‘उनी सेरेमोनियल हुने खालका नै छैनन्, मौका पाउनेबित्तिकै निरंकूश भइहाल्ने त्यसैले राजसंस्थाको पक्षमा कांग्रेस छैन । किनभने सेरेमोनियल हुने क्यारेक्टरको राजा छैनन् यो पूर्वराजा । धर्म, संस्कृतिको सुनश्चित गर्ने कुरामा चाहिँ भावना छ ।’

उनले राजाको पक्षमा पार्टीका नेताहरु कोही नखुलेको दाबी गरे ।

उनले थपे, ‘नेताहरू त खुलेजस्तो लागेको छैन । व्यक्तिगतरूपमा राजाप्रति सहानुभूति राख्नेहरू त पार्टीभित्र हुनसक्छन् । तर, सेरेमोनियल हुनेखाले राजा नै छैनन्, जो राजा थिए उनको क्यारेक्टरले पनि नदेखाएको हुनाले त्यसको पक्षमा छैनौं ।’

‘राजसंस्था कल्पना गर्न सकिँदैन’

पार्टीभित्र नेताहरू हिन्दू राष्ट्रको पक्षमा खुल्ने क्रम बढेपनि त्यसलाई स्वीकार गर्न नसकिने केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली बताउँछन् ।

उनी भन्छन्, ‘अहिले संविधान संशोधनको बहस भइरहेकाले पार्टीभित्र केही नेताहरूले हिन्दू राज्यको विषयमा उठाएका हुन् । तर, यो र राजसंस्थाको विषयमा कल्पना पनि गर्न सकिँदैन । धर्म भनेको व्यक्तिको स्वतन्त्रताको कुरा हो । राज्यले के गर्ने कसो गर्ने भन्ने कुरा होइन ।’

उनले संविधानमा लेखिएको बिषयलाई अहिले नै परिवर्तन गर्नुपर्छ भन्ने नरहेको भन्दै धेरै जातजाति, वर्ण, धर्म र समूदायका मान्छे रहेको उल्लेख गर्दै कुरा उठेपनि गहिरो ढंगले बहस नभएको तर्क गरे ।

उनले कांग्रेसभित्र वडादेखि माथिल्लो तहसम्म संस्थागतरूपमा संवैधानिक राजसंस्थाको विषयमा कुरा नउठेको दाबी गरे ।

उनले थपे, ‘त्यो सम्भावना पनि छैन । पार्टीभित्र केही नेताहरूको चाहना हुनसक्छ । त्यो अरु पार्टीमा पनि हुनसक्छ । तर, कांग्रेस त्यो बाटोमा जाने सम्भावना छैन ।’

Leave A Reply

Your email address will not be published.