काठमाडौं । लोकतान्त्रिक गणतन्त्रका विरुद्ध पछिल्लो समय भइरहेका गतिविधिविरुद्ध लाग्न र प्रतिकार गर्न गणतन्त्र पक्षधर विभिन्न ६ राजनीतिक महिला संगठनहरु एक ठाउँ भएका छन् ।
अखिल नेपाल महिला संघको अगुवाइमा बसेको विभिन्न ६ राजनीतिक दलका महिला संगठनहरुको बैठकले पछिल्लो समय भइरहेको गणतन्त्र विरुद्धका गतिविधिको संयुक्त रुपमा प्रतिकार गर्ने निर्णय गरेको छ ।
अनेमसंघका इन्चार्ज सीता पौडेलको अगुवाइमा बसेको ६ राजनीतिक संगठनका महिला नेताहरुको बैठकले हरेक राजनीतिक परिवर्तनमा महिलाको उच्च भूमिका रहेको स्मरण गर्दै राष्ट्रलाई गणतन्त्र रक्षाका लागि महिला को सकृयताको आवश्यकता परे एकजुट भएर सामना गर्ने निर्णय गरेको हो ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै राजतन्त्रका नाममा लोकतन्त्र र गणतन्त्र विरोधीहरुले पश्चगामी कदम चाल्ने दुस्साहस गरेको उल्लेख गर्दै चैत १५ को घटनालाई त्यसैको एक उदाहरण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कथित राजावादीको नाममा आफ्नै कर्ममा लागेका श्रमजिवी पत्रकार र सर्वसाधारण नागरिकको हत्या, पार्टी कार्यालय तोडफोड, ब्यवसायीक संस्था, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीमा आगजनी र तोडफोड गर्दै जनतालाई दिग्भ्रमित पार्ने र समाजमा त्रासदी फैलाउने जस्ता जघन्य अपराधजन्य र अमानविय कृयाकलाप भएका छन् त्यसले लोकतान्त्रिक शक्तिहरु एकजुट भएर लोकतान्त्रिक गणतन्त्रको रक्षामा लाग्नुपर्ने आवश्यकता देखाएको छ ।’
अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमाल, नेपाल महिला संघका अध्यक्ष उषा राउत, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला संघ (समाजवादी) अध्यक्ष जयन्ती राइ, अखिल नेपाल महिला संघ (मसाल) का अध्यक्ष मिना पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दद्धारा बैठक पछि जारी गरिएको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘नेपाली महिला आन्दोलनको मुल प्रवाहमा रहेका सबै महिला संगठनहरु लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुने सबै खाले भ्रामक प्रचार, अपराधिक गतिविधि विरुद्ध संयुक्त रुपमा निगरानी गर्दै कडा प्रतिवाद गर्न तयार छौं ।’
लोकतन्त्र प्राप्तिको आन्दोलनमा महिलाहरुको अग्रणी भूमिका रहेको र अहिलेको महिलाको बदलिएको अवस्था त्यसैको उपज भएकाले कुनै पनि हालतमा लोकतन्त्रलाई आघात पुग्ने गतिविधि हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
महिलाको बलिदानी पुर्ण आन्दोलनकै कारण नीतिगत तहमा महिलाको एक तिहाइ सहभागीता सुनिश्चित, स्थानिय तहमा महिलाको समानुपातिक नेतृत्व, राज्यका प्रमुख तहमा महिलाको नेतृत्व पुग्ने लोकतान्त्रिक संविधान निर्माण जस्ता उपलब्धी प्राप्त गर्न सकेको उल्लेख गर्दै आन्दोलनवाट प्राप्त अधिकार रक्षाका लागि एकजुट भएर प्रतिकार गर्ने जनाएका छन् ।