हेटौँडा । आफूले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर दिने विषयमा तोकआदेश दिएपछि विवादमा आएकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले एउटा टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा पत्रकारलाई पत्रुकार भनेपछि थप विवादमा आइन् ।
एक टिभी कार्यक्रम प्रस्तोताले एसीको तोकादेशको विषयमा प्रश्न गरेपछि झनक्क रिसाउँदै उनले ‘देश बिगार्ने यस्तै पत्रुकारले हो’ भन्दै फोन राखेकी थिइन् ।
एसी दिने तोकको सामाजिक सञ्जालमा विरोध भइरहदा मेयर लामाको पत्रकारप्रतिको टिप्पणीले सामाजिक सञ्जालमा थप चर्चा पाएको थियो ।
यसैबीच पत्रकारलाई प्रयोग गरिएको भाषाको विषयमा मेयर लामाले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिएकी छिन् ।
उनले आफ्नो फेसबुक मार्फत ‘नगरप्रमुख हुनुको नाताले सञ्चार क्षेत्र प्रति मेरो सदैव उच्च सम्मान भाव रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँछु’ भनेकी छिन् ।
आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्याउने मनसाय नभई परिस्थितिजन्य घटनाका रूपमा लिन अनुरोध गर्दै लामाले आगामी दिनमा प्रेस र उपमहानगरपालिकाको सम्बन्ध विगतमा झैँ प्रगाढ रहन्छ भन्ने विश्वास व्यक्त गरेकी छिन् ।