काठमाडौं । प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको संयुक्त जनआन्दोलन समितिले जनाएको छ । उनलाई तीनकुने गोलीकाण्डका सन्दर्भमा झूटो मुद्दामा फसाउन खोजिएको आरोप पनि समितिले लगाएको छ ।
आज समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवलशम्शेर गत चैत १५ गते तीनकुनेको आन्दोलनपछि पक्राउ परेका थिए । उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
राणालाई यसपूर्व नै आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।
राणाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार समुदायसँग पनि आवाज उठाइदिन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।
‘साथै तीनकुने गोलीकाण्डमा गोली जसले हान्यो उसैले मुद्दा चलाई पानी माथिको ओभानो बन्ने सरकारको दुष्प्रयासका क्रममा पक्राउ गरिएका सम्पूर्ण निर्दोष परिवर्तनकारी नागरिकहरूलाई रिहा नगरिए पर्न जाने क्षतिको जिम्मेवार सरकार स्वयम हुनु पर्ने समेत चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
राप्रपा महामन्त्री राणालाई केही महिना अगाडि गिजाको क्यान्सर भएको थियो । उनले भारतको मुम्बईमा गएर उपचार गराएका थिए ।