Take a fresh look at your lifestyle.

सन् २००९ को टीमलाई महिला लिजेन्ड टी-२० सिरिज

रुपन्देही । पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच भैरहवामा सम्पन्न ‘महिला लिजेन्ड टी- २० सिरिज’ सन् २००९ को टीमले हात पारेको छ ।

मुलुकमै पहिलोपटक महिला लिजेन्डबीच भैरहवामा दुई दिवसीय स्पर्धा भएको थियो । जसमा दुबै खेल जित्दै सन् २००९ को टीमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

मंगलबार सिद्धार्थ क्रिकेट मैदान भैरहवामा सम्पन्न सिरिजमा सन् २००९ को लिजेन्ड महिला टीमले सन् २००७ को टीमलाई ८१ रनले पराजित गर्दै सिरिज हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १४१ रन बनायो । जसमा करुणा भण्डारीले ३२, रीतु कनौजियाले २९, सोनु खड्काले २८, एञ्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०-१० रन बनाए ।

बलिङमा सन् २००७ का नेरी थापामगरले ३, सुस्मिता चौधरीले २ र नीतु थापाले १ विकेट हात पारिन् ।

जवाफमा सन् २००७ को टीम ८ विकेट गुमाएर ६८ रनमात्रै बनायो र हार व्यहोर्‍यो । उसका लागि नीरा राजोपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा सन् २००९ को टीमकी सरस्वती पुन र सीता शाहीले २-२ तथा रीतु कनौजिया र करुणा भण्डारीले समान १-१ विकेट लिए ।

प्रतियोगितामा सन् २००८ की करुणा भण्डारीलाई बेस्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै सहभागी सबै खेलाडीलाई मायाको चिनोले प्रोत्साहन गरिएको आयोजकले जनाएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिन्किङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो ।

सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर सिरिज आयोजना गरिएको थियो । नेपालमा पुरुष लिजेन्ड क्रिकेट हुँदै आए पनि महिला लिजेन्ड क्रिकेट भने पहिलो पटक गरिएको हो ।

Leave A Reply

Your email address will not be published.