Take a fresh look at your lifestyle.

एमाले सुदूरपश्चिम दलका नेता रावलले फिर्ता गरे सरकारी गाडी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका रावलले बुधवार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन् ।

गाडी फिर्ता गर्दै रावलले प्रदेश सरकारले सत्ता पक्षीय दलको नेताको हैसियतमा उपलब्ध गराएको सुविधा अन्तरगत गाडी प्रयोग गरेको बताए ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सत्ता पक्षीय संसदीय दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेका कारण लिएको दाबी गरे ।

तर उक्त ऐनमा भएको प्राविधिक त्रुटि संशोधन गर्न बाँकी रहेको अवस्थामा सरकारकै आग्रहमा गाडी प्रयोग गरेको तर आफूलाई गाडी आवश्यक पर्छ भनेर कसैलाई दबाब नदिएको पनि प्रस्ट्याएका छन् ।

केही सञ्चार माध्यममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई धम्क्याएर, दबाब दिएर गाडी प्रयोग गरेको आरोप लगाउँदै समाचार सार्वजनिक भए पनि त्यसमा सत्यता नभएको रावलको दाबी थियो । हाल आर्थिक मामिला मन्त्रालयको सहमतिका लागि विचाराधीन अवस्थामा रहेको ऐन चाडै कार्यान्वयनमा जाने समेत उनको भनाई थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री सार्कीले समेत संसदीय दलका नेताले गाडी सुविधाका लागि धम्की र दबाब दिएको कुरामा कुनै सत्यता नभएको बताए ।

उनले प्रदेश सभाका पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधनका क्रममा रहेको अवस्थामा बताउँदै सरकारले उपलब्ध गराएअनुसार नै रावलले गाडी प्रयोग गरिरहेको उनको भनाई थियो । विचाराधीन अवस्थामा रहेको ऐन चाडै कार्यान्वयनमा आउने उनी बताउँछन् ।

Leave A Reply

Your email address will not be published.