काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपीएल)को उपाधि जित्ने अभियानमा रहेको लिभरपुलले आफ्नो अवस्थालाई थप मजबुत बनाएको छ ।
आइतबार रातिको खेलमा वेस्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेपछि जारी सिजनमा लिभरपुल उपाधि नजिक पुगेको हो ।
अर्को हप्ता हुने इपीएलको खेलमा दोस्रो स्थानको आर्सनलले इस्विचसँग पराजय भोग्यो र लिभरपुलले लेस्टर सिटीलाई पराजित गर्न सके उपाधि छिनोफानो हुनेछ ।
आइतबारको खेलको १८ औँ मिनेटमा मोहम्मद सलाहको पासमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा रोबर्टसनको आत्मघाती गोल मार्फत वेस्टह्यामले बराबरी गर्ने मौका पायो ।
खेल बराबरीतर्फ उन्मुख हुँदै गर्दा ८८ औँ मिनेटमा लिभरपुल कप्तान भान डाइकले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
जितपछि लिभरपुलको ३२ खेलबाट ७६ अङ्क पुगेको छ र उ दोस्रो स्थानको आर्सनल भन्दा १३ अङ्कले अघि छ ।