नवलपुर (नवलपरासी) । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरू भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।
अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।
पार्टीमा हालै उपाध्यक्षको जिम्मेवारी पाएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि अभियानमा जोडिएका छ्न् ।
अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट-४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । अभियानका क्रममा दाहालले गैँडाकोट-८ स्थित लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरे ।
माओवादी नेतृत्वले नगरपालिकाभित्रका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायत भेटघाट गरेको छ ।
अध्यक्ष दाहालले अभियानअन्तर्गत दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।
जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।
-रासस