काठमाडौं । आफूलाई ‘श्री ५ महाराजधिराज’ कै हैसियतमा राखेर पूर्वराजा ज्ञानेन्द्र शाहले आज जारी गरेको नयाँ वर्षको शुभकामना सन्देशलाई जसरी पनि विश्लेषण गर्न सकिन्छ । सन्देशमा उनको सोच क्लीयर छ, तर प्रस्तुतिमा अक्मकिएका छन् । आफ्नो आशयमा उनी खुलेर आउन सकेनन् ।
गत चैत १५ को राजावादी प्रदर्शन हिंसात्मक र अराजक बनेपछि पूर्वराजा शाहसमेत विवादमा तानिएका थिए । सरकार प्रमुखले उक्त प्रदर्शनको मुख्य जिम्मेवार नै पूर्वराजालाई ठहर्याएका छन् भने काठमाडौंका नगरप्रमुखले पनि उस्तै ठहरसहित जरीवानाको चिट हुत्याइदिएका छन् ।
आमजनमानसले भने आन्दोलन हिंसात्मक बन्नु र सडक फोहोर हुनुमा पूर्वराजालाई दोषि देखेको छैन । तथापि, दुई युवाको मानवीय क्षति र करोडौंको भौतिक क्षतिका विषयमा उनले मुख खोलिदिए हुन्थ्यो भनेर चाहनेहरु धेरै थिए ।
नयाँ वर्षलाई सन्दर्भ बनाएर पूर्वराजाले मुख त खोले, तर आलोचकहरुलाई कुनै जवाफ दिन चाहेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिदेखि काठमाडौंका मेयर बालेन्द्र साहले काटेको जरीवाना चिटको सन्दर्भलाई उनले घुमाउरो तरिकाले पनि छोएनन् । आफूलाई भाइमारादेखि मुर्तिचोरसम्मको आरोप लगाउँदै उफ्रिरहेका नेताहरुप्रति कुनै टिप्पणी वा कटाक्ष गरेनन् ।
त्यसो पूर्वराजसंस्थाले आफूमाथि उठेका कुनै पनि राजनीतिक प्रश्न वा आलोचनामा जवाफ दिँदै हिँड्ने परम्परा र अभ्यास छैन । अहिलेसम्म नेताहरु र ‘राजा’ बीच देखिएको मुख्य अन्तर नै यही हो । राजाले देशको अवस्थाप्रति र प्रणालीप्रति जति विरक्तिभाव देखाए पनि कसैलाई औल्याएर छुद्र टिकाटिप्पणी गर्दैनन् । आज पनि गरेनन् ।
करिब १४ मिनेट लामो भिडिओ सन्देश सुनिसक्दा पूर्वराजा अलिकति रक्षात्मक बनेको आभास हुन्छ । यसअघि फागुन ७ को शुभकामना सन्देशमा उनले स्पष्ट शब्दमा ‘व्यवस्था परिवर्तनका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आज भने उनी आफ्नो अमूर्त भाषामै फर्किएका छन् । पछि हटेको त भन्न नमिल्ला, तर उनी फागुन ७ बाट अगाडि बढ्न भने नसकेकै हो ।
पूर्वराजाले चैत १५ को आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिप्रति दुख व्यक्त गरेका छन्, तर आफूले कुनै जिम्मेवारी स्वीकार नगरिकन । उक्त प्रदर्शन पूर्वराजाकै डिजाइन र मार्गनिर्देशनमा भएको थियो भन्नेहरुलाई उनले मौनताबाटै जवाफ दिए । राजावादी नेताहरुको तहमा ओर्लिएर घटनाको सबै दोष सरकारमाथि थोपर्न पनि चाहेनन् । बरु आन्दोलनकारीलाई नै ‘प्रजातान्त्रिक हक अधिकारको उपभोग गर्दा संयम अपनाउनुपर्ने’ महत्वपूर्ण सन्देश दिएका छन् ।
शाहले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ ।’
सन्देशमा पूर्वराजाले आफूलाई ‘राजसंस्था’ कै रुपमा प्रस्तुत गरेका छन् । भिडिओमा उनलाई श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह भनेर सम्वोधन गरिएको छ भने तत्कालीन राजसंस्थाको निशानछाप पनि प्रयोग गरिएको छ ।
उनी भन्छन्, ‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुरÞ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको श्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।’
बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको वकालत गर्न खोजे तापनि पूर्वराजा राम्ररी खुल्न सकेका छैनन् । ‘राजतन्त्र’ नभनेर ‘राजसंस्था’ भन्नु र राज्यशक्तिको श्रोत जनता नै रहेको स्वीकार्नुलाई उनी एउटा सेरेमोनियल राजाको रुपमा फर्किन तत्पर रहेको अर्थमा बुझ्न सकिन्छ । तर, ठोसरुपमा उनले व्यवस्था परिवर्तनको हुटहुटी देखाएका छैनन् ।
एक ठाउँमा बल गरेर यति चाहिँ भनेका छन्, ‘जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ ।’ गत फागुन ७ को अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर पूर्वराजाले आफ्नो प्रष्टीकरण दिन खोजेका छन् ।
उनी भन्छन्, ‘हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपुर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन, समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो ।’
आजको सन्देशको सबैभन्दा महत्वपूर्ण पाटो चाहीँ पूर्वराजाबाट प्रस्तुत गर्न खोजिएको ‘राजनीतिक–आर्थिक दृष्टिकोण’ हो । यसअघिका सन्देशमा उनी समस्या देखाएर गनगन मात्र गर्थे । समाधानको सूत्र दिँदैनथे । यसले गर्दा ‘राजा र राजावादीहरुसँग केवल गुनासो छ, भिजन छैन’ भन्ने भाष्य बन्दै गएको थियो । सायद त्यही भाष्यलाई चिर्न खोजिएको हुनुपर्छ । तर, उनले प्रस्तुत गरेको भिजनमा कुनै नयाँपन छैन । यतिले मात्रै अहिलेको जेनेरेसनलाई आकर्षण गर्न सम्भव हुँदैन ।
पूवराजाको सन्देशमा समेटिएका आर्थिक विकासका दृष्टिकोणलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छः
–विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिएर आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा अर्जुनदृष्टि लगाउनुपर्ने
–स्वदेशी श्रोत–साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने
–युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र शीपलाई स्वदेश मै उच्च उपयोग गर्नु पर्ने, युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने
–विश्वभरि छरिरहेका नेपालीहरुले त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनुपर्ने, ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने
–शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार एवं आधुनिकरण गर्नुपर्ने
–‘सुशासन र भ्रष्टाचारमुक्त प्रशासन’ मूल नारा हुनुपर्ने