काठमाडौं । प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित भोलि काठमाडौंमा प्रदेशस्तरीय आमसभा गर्दैछ । यही आमसभामार्फत राप्रपाले आफ्नो नयाँ आन्दोलनको शंखघोष गर्न लागेको हो ।
राप्रपाले गर्ने आन्दोलनलाई नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले समर्थन जनाइसकेको छ । समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आन्दोलनमा राष्ट्रिय झण्डा बोकेर सक्रिय सहभागी हुनसमेत सबैलाई अपिल गरेका छन् ।
जुनसुकै पार्टी र समूहले पनि राजसंस्थाको एजेन्डा बोकेर गर्ने आन्दोलनमा सहभागी हुने समितिको घोषित नीति नै छ । अर्को राजावादी दल राप्रपा नेपालले भने अहिलेसम्म राप्रपाको आन्दोलनका विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि दुर्गा प्रसाईँको नेतृत्वमा भएको तीनकुने आन्दोलनमा राप्रपा नेपालले समर्थन जनाएको थियो । तर, राप्रपाको आन्दोलनमा सहभागी हुने नहुनेमा पार्टी अनिर्णीत छ ।
राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले यो विषय आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट टुंगो लाग्ने बताए । उनले भने, ‘अहिले हामी बैठकमा छलफल गरेर निर्णय लिनेछौँ ।’ राजसंस्थाको एजेन्डाका लागि राष्ट्रिय झण्डा सहित हुने कुनै पनि प्रदर्शनमा सहभागी हुने राप्रपा नेपालको घोषित नीति रहेको बर्तौलाले स्मरण गराए ।
अन्य पार्टीको झण्डा बोकेर हुने आन्दोलनमा भने भाग लिन नसकिने उनको भनाइ छ । ‘यदि उहाँहरूले राष्ट्रिय झण्डा नै बोक्ने हो भने हाम्रो पार्टीको पनि सक्रिय सहभागिता हुन सक्छ । पार्टीको झण्डा बोकेमा हामीले साथ दिन मिल्दैन । त्यस्तो अवस्थामा हामी नैतिक समर्थन भने गर्नेछौँ,’ उनले भने ।
राप्रपाका बाग्मती प्रदेश अध्यक्ष विक्रम थापा भने भोलिको प्रदर्शनमा राष्ट्रिय झण्डा र पार्टीको झण्डा दुवै बोकिने बताउँछन् । उनले भने, ‘हाम्रो पहिलेदेखिकै अभ्यास यही नै हो । राष्ट्रिय झण्डा पनि हुन्छ, पार्टीको झण्डा पनि हुन्छ ।’
अरू पार्टीका मानिसहरू आफ्नै झण्डा बोकेर आएमा पनि नरोकिने उनको भनाइ छ । थापाले भने, ‘कांग्रेसका कार्यकर्ताहरू चारतारे झण्डा बोकेर आउँछन् भने पनि हामी स्वागत गर्नेछौँ । मुख्य कुरा एजेन्डा हो, झण्डा होइन ।’
यसअघि चैत १५ गतेको तीनकुने आन्दोलनमा सहभागी भए पनि त्यसको आयोजक राप्रपा थिएन । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्दा भएको विशाल जनप्रदर्शनलाई पनि राप्रपाले अगुवाइ गरेको होइन । भोलिको प्रदर्शन भने राप्रपाकै हो, जसले काठमाडौंमा उसको वास्तविक शक्तिपरीक्षण हुने छ ।