Take a fresh look at your lifestyle.

बारमा सत्ताधारी गठबन्धनको क्लिनस्वीप, विजय मिश्र भारी मतान्तरले विजयी (मतसहित)

0

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए ।

दुईजनाबीचको मतान्तर २४३१ छ ।

त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।

नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । स्वतन्त्र न्यायपालिका वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनको प्रतिवद्धता छ । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको योजना सुनाए ।

संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्‍याउने पनि मिश्रले बताए ।

बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी भए ।

शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।

Leave A Reply

Your email address will not be published.