Take a fresh look at your lifestyle.

विद्या भण्डारी एमालेमा प्रतिस्पर्धा गर्न आउनुहुन्न, आवश्यकता परे पार्टीले प्रस्ताव गर्छ : शेरधन राई

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा आउने बताएका छन् । पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले यद्यपि अहिलेसम्म भण्डारीको कमव्याकबारे पार्टीभित्र कुनै औपचारिक छलफल नभएको बताए ।

भण्डारीकै गृहजिल्लाका नेता राईसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी-

– पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने आन्तरिक तयारीमा रहेको चर्चा छ । पार्टीमा छलफल सुरू भएको हो ?

त्यसबारे अहिले कुनै छलफल भएको छैन । उहाँले आउँछु पनि भन्नुभएको छैन । उहाँको सक्रियता, भेटघाट राष्ट्रको बारेमा गरिरहनुभएको चिन्ता चासोलाई अर्को अर्थ लगाएर अनुमानको प्रतिक्रियामात्रै हो ।

अहिलेसम्म पार्टीभित्र छलफल भएको छैन, छलफल भएर पार्टीको आग्रह र प्रस्तावमा सक्रिय राजनीतिमा आउने स्थिति बन्यो भने त्यो बेग्लै परिस्थिति हो। त्यो भोलिको कुरा हो ।

– उहाँको पछिल्लो सक्रियतालाई हेर्दा त आगामी महाधिवेशनको तयारीजस्तो देखिन्छ नि !

उहाँको सक्रियता भनेको देशको शैक्षिक, स्वास्थ्य, कृषिको बारेमा, विज्ञान र प्रविधिको प्रयोगको बारेमा, समग्र देशको विकास र समृद्धिको बारेमा उहाँले विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरिराख्नुभएको छ । यो जायज पनि छ ।

उहाँ राष्ट्राध्यक्ष भइसकेको व्यक्ति हो । उहाँले राष्ट्र र जनताको बारेमा चासो राखेर भोलि राज्य र दलहरूलाई सुझाव दिन सक्नुहुन्छ । राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले सबै विषयमा चासो राखेर अहिले देखाउनुभएको सक्रियतालाई धेरै सकारात्मकरूपमा लिन सकिन्छ । अब भोलि सक्रिय राजनीतिमा आउनसक्ने कुरा बेग्लै हो । त्यो सम्भावना छैन भन्न सकिँदैन । भोलि पार्टीले छलफल गरेर पार्टीले प्रस्ताव गरेको अवस्थामा उहाँले निर्णय गर्ने कुरा हो ।

यो पनि पढ्नुहोस्- प्रचण्डले खेलेको ‘पासाङ पासा’, विद्या भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकताको आशा ?

तर, अहिले उहाँको सक्रियता देशको एउटा सचेत नागरिकको हैसियतमा देश र जनताप्रति सधैँ चासो र चिन्ता राखिरहने नागरिकको हैसियतमा, राष्ट्रलाई योगदान पुग्नेगरी सक्रियता देखाउनुपर्छ भन्ने आशा र अपेक्षा जनताको छ । त्यही रूपमा अहिले विभिन्न प्रदेशहरूमा गरिराख्नुभएको छलफल र संवादलाई लिनुपर्छ ।

– तपाईंले राजनीतिमा आउनसक्ने सम्भावनाको कुरा गर्दा केपी ओलीको सहमतिमै हुन्छ ?

केपी ओली अहिले पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँको प्रस्तावविना र छलफलविना कसरी ? सक्रिय राजनीतिमा आउन सम्भव छैन ।

– तर, कतिपयले यो सक्रियतालाई आगामी महाधिवेशनमा नेतृत्वको तयारीको रुपमा अर्थ्याउँछन् नि !

चर्चा त विभिन्न कोणबाट हुन्छन् नै । आफ्ना स्वार्थहरू पनि होलान् । एमालेमा उहाँ प्रतिस्पर्धा गरेर मैदानमा भिडेर, केपी ओलीको काउन्टरमा उभिएर आउने भन्ने कुरामा कुनै अर्थ छैन । उहाँ सक्रिय राजनीतिमा आउनुभयो भने पार्टीको प्रस्तावमा आउनुहुन्छ ।

– उहाँ नेतृत्वमा आए प्रचण्ड-माधवसहितको नेकपा बन्नसक्ने चर्चालाई के भन्नुहुन्छ ?

यो बेतुकको प्रसंग हो । यस्तो खालको एकता र एकीकरणको फण्डा सबै क्लोज भइसक्यो । एमालेले एकताको अगुवाइ गर्दै विगतमा प्रचण्डलाई एकीकरणमा ल्याएको होइन ? तर, उहाँहरू दक्षिणपन्थी पोल्टामा गएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम गर्नुभयो । त्यसैले उहाँहरू साँच्चिकै कम्युनिष्ट हुनुहुन्छ कि हुँदैन ? भन्नेमै प्रश्न छ । अब एकता एकीकरणभन्दा पनि एमालेको नेतृत्वलाई स्वीकार गरेर आएमात्रै सम्भव छ ।

एमालेले तीनवटा कुरामा कम्प्रमाइज गर्दैन अब – पहिलो, नेकपा एमाले र चुनाव चिन्ह सूर्य । दोस्रो, जनताको बहुदलीय जनवाद । तेस्रो अहिले केपी ओली नेतृत्व ।

यही तीन कुरालाई स्वीकारेर जुनसुकै दल एमालेमा समाहित हुनसक्छ । त्यसका लागि एमालेको ढोका सधैँको लागि खुला हुन्छ । तर, फेरि एकता, एकीकरण भन्ने कुरा चाहिँ नेपालको कम्युनिष्ट आन्दोलनमा समाप्त भइसक्यो ।

Leave A Reply

Your email address will not be published.