काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ का कार्यवाहक संयोजक डा. जगमान गुरुङ सबै राजावादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन प्रयासरत छ । आज एक कार्यक्रममा उनलाई आंशिक सफलता मिल्यो ।
समितिले आज काठमाडौंको शंखपार्कमा ‘प्रतिवद्धता सभा’ आयोजना गरिरहेको छ । यसअघि तीनकुनेमा भएको जनप्रदर्शन बिथोलिएपछि चुपचाप बसिरहेको समिति आजको सभाबाट फेरि जुर्मुराउन खोजेको हो । सभामा केही मूर्धन्य राजावादीहरूलाई एकठाउँ राख्न डा. गुरुङ सफल भए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट गुरुङको निम्तो मान्दै सभामा उपस्थित भएका छन् । उनीहरू दुवैले भाषण पनि गरे । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने गएनन् । उनलाई पनि गुरुङले निम्तो गरेका थिए ।
पार्टीले आफ्नै आन्दोलन अगाडि बढाइरहेको अवस्थामा अन्य समूहको कार्यक्रममा गइरहनु लिङदेनले आवश्यक नदेखेको राप्रपा स्रोतले बताएको छ । हिजो राप्रपाले बल्खुमा गरेको कार्यक्रमलाई जनआन्दोलन समितिले समर्थन र ऐक्यवद्धता जनाएको थियो । त्यसको गुन तिर्न भए पनि राप्रपा अध्यक्ष लिङदेन आफ्नो कार्यक्रममा आउने गुरुङले आशा राखेका थिए । उनले समितिका सदस्यहरुलाई ‘कमल थापा, केशरबहादुर विष्ट र राजेन्द्र लिङदेन उपस्थित हुने’ भनेर जानकारी पनि गराएका थिए ।
अध्यक्ष लिङदेन नगए पनि राप्रपाबाट उच्च तहकै प्रतिनिधित्व भएको छ । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी जनआन्दोलन समितिको कार्यक्रममा पुगेर भाषणसमेत गरेका छन् । उनले राजसंस्था पुन:स्थापनाका लागि भएका सबै गतिविधिमा राप्रपाले समर्थन जनाउने र आफ्नो आन्दोलनमा पनि सबैको समर्थन लिन तयार रहेको बताए ।
‘जगमानजीले यो अभियानमा अभिभावकीय नेतृत्व लिएकोप्रति धन्यवाद ज्ञापन गर्छु, अब सबै एकतावद्ध हुनुपर्छ’ डा. लोहनीले भने ।