काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीलाई लिएर संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाएका छन् ।
संघको विधानविपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको गुनासो गर्दै उनीहरूले पारदर्शी र विधिसम्मत ढंगले अधिवेशन गराउन माग गरेका छन् ।
असन्तुष्ट नेताहरूले अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाएका छन् ।
’संघको हित विपरीत गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,’ उनीहरूले ज्ञापन–पत्रमा उल्लेख गरेका छन् ।
पर्सा, बारा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, झापा, ताप्लेजुङ, कास्की, बाग्लुङ, हुम्लालगायत ११ जिल्लाका निर्वाचित अध्यक्षहरूलाई अवैधानिक रूपमा हटाइएको उनीहरूको दाबी छ । त्यस्तै, सर्लाहीमा क्रियाशील सदस्य मनोमानी ढंगले पठाइएको, दोलखामा कार्यरत अध्यक्षले जबरजस्ती अर्का व्यक्तिलाई संयोजक बनाइएको भन्दै आपत्ति जनाइएको छ ।
नेपाली कांग्रेसले संघको अधिवेशन समयमै गर्न निर्देशन दिएपनि त्यसको अवज्ञा भएको, निर्देशन समितिमा रहेका वरिष्ठ नेताहरूले समेत सहजीकरण गर्न नसकेको उल्लेख गर्दै पार्टी सभापतिलाई हस्तक्षेप गर्न आग्रह गरिएको छ ।
’यदि अध्यक्षले यस्तै एकलौटी तरिकाले नाटकीय अधिवेशन गर्ने प्रयास गरे हामी उक्त निर्णय मान्दैनौं,’ ज्ञापन–पत्रमा भनिएको छ, ’पार्टीले मागअनुसार कदम चालेन भने हामी सामूहिक राजीनामा दिन बाध्य हुनेछौं ।’
केन्द्रीय सदस्यहरु चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रन्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल, र पार्वती आचार्यले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त पत्रको बोधार्थ कांग्रेसका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री, महिला विभाग र महिला संघ निर्देशन समितिलाई समेत पठाइएको छ ।