रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
लामिछानेलाई स्वास्थ्यपरीक्षण गरी कारागारको ब्लक नम्बर-४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने भण्डारीले बताए । उनका अनुसार अहिले भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी छन् ।
उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसलगतै लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौंबाट पक्राउ गरि रुपन्देही पुर्याएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले समेत उच्च अदालतमा निवेदन दिनुभएको थियो भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो । उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।