डोटी । डोटीका दुई क्याम्पसमा मङ्गलवार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिमकै पुरानो क्याम्पस डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा इन्द्र राणा विजयी भएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका उम्मेदवार राणाले आफ्नो निकटतम प्रतिस्पर्धी एमाले निकटकम अनेरास्ववियुका सुरेश रोकायालाई १ सय ११ मतले पछि पार्दै बाजी मारे ।
राणाले २ सय २१ मत प्राप्त गर्दा रोकायाले १ सय १० मतमै चित्त बुझाउनु प¥यो । माओवादी निकट अखिल ९क्रान्तिकारी०, नेकपा एस निकट अखिल (समाजवादी) का साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरेका छन् । सिंहलाई विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनको पनि समर्थन रहेको थियो ।
सचिवमा नेविसंघकै साजन रावल २ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलबाट सचिव पदका उम्मेदवार हरिस बोगटीले १ सय १० र अनेरास्ववियूका उम्मेदवार मोहन ऐरले ९५ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकै दिपा विष्टले २ सय २० मत निर्वाचित भइन् । कोषाध्यक्षमा अन्य उम्मेदवारहरू अनेरास्ववियुकी ईश्वरी मलासीले १ सय १५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।
सदस्यहरूमा पनि नेविसंघबाटै निर्वाचित भएका छन् । यस्तै, डोटीको बिपीनगरमा रहेको केदारसूर्य बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अखिल (क्रान्तिकारी) की यशोदा बोहरा विजयी भएकी छिन् । अखिल (क्रान्तिकारी) र अनेरास्ववियूको तर्फबाट उम्मेदवार बनेकी बोहराले नेपाल विद्यार्थी संघकी रमिता बोहरालाई ९ मतले पछाडि पारिन् । यशोदाले ४६ मत प्राप्त गर्दा रमिताले ३७ मतमै चित्त बुझाउनु पर्यो ।
सचिवमा अनेरास्ववियुका विक्रम साउँद निर्वाचित भएका छन् । सचिव पदका लागि साउँद र नेविसंघका भक्त पातलीले समान ४२ मत प्राप्त गरेका थिए । गोलापर्थाबाट साउद चुनिएका हुन् ।
कोषाध्यक्षमा नेविसंघकी हिरा मन्नी निर्वाचित भएकी छिन् । उनले अखिल (क्रान्तिकारी) की उमा बोहरालाई पराजित गरेकी हुन् ।
सदस्यहरूमा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ ।