काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने आईसीसी एक दिवसीय लिग-२ र टी-२०आई सिरिजका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
२०७८ सालको मंसिरमा क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको थियो । सोही समयमा क्यानले ज्ञानेन्द्र मल्ललाई पनि कप्तानको जिम्मेवारीबाट हटाएको थियो ।
त्यसयता राष्ट्रिय टोलीको कप्तान दुई पटक परिवर्तन भए पनि उपकप्तानको जिम्मेवारी भने कसैलाई दिइएको थिएन । साढे ३ वर्षपछि क्यानले दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीमा फर्काएको हो ।
दीपेन्द्र राष्ट्रिय टोलीका उत्कृष्ट र भरपर्दा अलराउन्डर हुन् । दीपेन्द्र आईसीसी टी-२०आईको अलराउन्डर वरियतामा तेस्रो नम्बरमा छन् । टी-२०आई क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान दीपेन्द्रको नाममा छ । उनले टी-२०आई क्रिकेटमा दुई पटक ६ बलमा ६ छक्का प्रहारसमेत गरेका छन् ।
भावी कप्तानको रुपमा हेरिएका दीपेन्द्रलाई त्यसबेला उपकप्तानबाट समेत हटाइएको थियो । त्यतिबेला सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको थियो । सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरिएको थियो । त्यसयता रोहितले राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् ।