Take a fresh look at your lifestyle.

उपनिर्वाचन निकट रुपन्देही क्षेत्र नं ३ः एमालेबाट चार आकांक्षी नेताहरुको दौडाहा

0

रुपन्देही । प्रतिनिधिसभामा रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित दीपक बोहोराको निधनसँगै यहाँ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न दलका नेताहरुले दौडधुप थालेका छन् ।

यसअघिको निर्वाचनमा समानुपातिकमा पहिलो रहेको नेपाली कांग्रेस र २०७९ को निर्वाचनमा बोहोरालाई साझा उम्मेदवार बनाएको सत्तारुढ नेकपा एमालेले जसरी पनि यो क्षेत्रमा जित निकाल्नेगरी आन्तरिक तयारी गरेका छन् । राप्रपा पनि बोहोराको विरासत बचाउने चुनौतीमा छ ।

कांग्रेस र राप्रपाका उम्मेदारका आकांक्षीहरुको बारेमा नेपाल प्रेसमा यसअघि नै समाचार सम्प्रेषण भइसकेको छ ।

हेर्नुस् दुवै समाचार

१) रुपन्देही ३ मा उपचुनाव निकट- कांग्रेसबाट खाणदेखि ७९ मा चुनाव हारेका ४ नेताले खोजे टिकट

२) दीपक बोहोराको विरासत धान्न दुई छोरा र नातिनी तयार, राप्रपाले कसलाई बनाउँछ उपनिर्वाचनको उम्मेदवार ?

नेकपा एमालेबाट आकांक्षीहरु उपनिर्वाचनबाट संसद छिर्ने योजनामा दौडधुपमा लागेका छन् । एमालेबाट पोलिटब्युरो सदस्यहरु खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल तथा सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले आन्तरिक रुपमा उम्मेदारीका लागि लविङ थालेका छन् ।

एमाले नेताहरुका अनुसार खिमलाल यहाँको मुख्य दावेदार जस्तै मानिएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई राष्ट्रियसभामा संसदीय दलका नेता हुँदाहुँदै प्रतिनिधिसभाको उम्मेदवार बन्न राजीनामा दिँदा दुवैतिर गुमाउने नेतामा पर्छन् ।

राष्ट्रियसभाको १८ महिना अवधि हुँदाहुँदै २०७९ सालमा राजीनामा दिएर रूपन्देही ५ मा उम्मेदवार बन्न आएका थिए । पार्टीले सुरूमा क्षेत्र नम्बर ५ मा वासुदेव घिमिरे (अहिले जितेकालाई) टिकट दिए पनि बीचमा उनको टिकट रद्द गरेर भट्टराईलाई टिकट दिएको थियो ।

तर पहिलेको पत्रलाई आधार मानेर आधिकारिक रूपमा सुरूमा घिमिरेले उम्मेदवारी दर्ता गराए । पछि एमालेबाटै भट्टराई उम्मेदवार बनेपछि आन्तरिक विवाद भएको थियो, तर निर्वाचन आयोगबाट पहिले मनाेनयन दर्ता गर्ने घिमिरेको उम्मेदवारी सदर भएपछि भट्टराई बाहिरिएका थिए । पार्टी नेतृत्वले नै घिमिरेको उम्मेदवारी नै आधिकारिक भनेपछि भट्टराईले दुवैतिर पद गुमाएका थिए ।

अहिले भट्टराई रिक्त क्षेत्र नम्बर ३ मा उपचुनाव भए उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । उनी यही क्षेत्रमा भेटघाट, पार्टी कार्यक्रम, छलफल तथा सांगठनिक गतिविधिमा केन्द्रित छन् । उनी निकटस्थका अनुसार महासचिव शंकर पोखरेलले नै उनलाई आन्तरिक तयारी गरेर अघि बढ्न ग्रीन सिग्नल दिइसकेका छन् ।

तर उनको आफ्नो भूगोल भने क्षेत्र नं ५ भएकाले यहाँका स्थानीयसमेत रहेका दुई दावेदार भरत पोखरेल र हरि अधिकारीलाई चित्त बुझाउन चुनौती छ । पार्टीले अघि सारेको अवस्थामा आफू उम्मेदवार बन्न तयार रहेको भट्टराई बताउँछन् ।

‘म पार्टीको मान्छे हुँ । माथिबाट टिकट दिएर स्थानीय नेता कार्यकर्ताले बोलाए तयार छु । म यही क्षेत्रकै कार्यक्रममा दैनिक खटिरहेको छु’, उनले भने ।

यस क्षेत्रमा २०७० सालमा उम्मेदवार बनेका पोखरेल भैरहवामा २०५४ सालदेखि स्थायी बासिन्दा हुन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका सदस्य रहेका उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका भतिजा हुन् ।

२०४० सालमा पार्टी सदस्य लिएर १७ वर्षमै भूमिगत भएका उनले प्रगतिशील प्राध्यापक संघ, प्रेस चौतारी केन्द्रमा बसेर काम गरेका छन् । उनी अहिले सो क्षेत्रमा व्यवसाय गरेर बसेका छन् ।

‘मैले टिकट माग्ने होइन, पार्टीले आफैं खोजेर दिएर यो क्षेत्रलाई न्याय गर्छ भन्ने लागेको छ, निर्वाचन जिताउने भैरहवाले हो, यहाँका मतदाताले स्थानीयत्व खोजेका छन् । घनश्यामलाई जिताए पार्टी छाडे, बालकृष्णलाई जिताए फर्केर हेरेनन्, दीपक बोहोरालाई नबोले पनि भैरहवाको पूर्ण साथले जिताएकाे हाे’, उनले भने ।

उनले स्थानीय कार्यकर्ताको चाहनाका आधारका उम्मेदार छान्ने विषयमा पार्टीले आधार तय गर्नुपर्ने र पार्टी निर्णयका आधारमा नै आफू अघि बढ्ने जनाएका छन् ।

भट्टराई र पोखरेलसँगै पोलिटब्युरो सदस्य दधिराम न्यौपाने (एमएस) उम्मेदवारका लागि आकांक्षी हुन्, तर उनी आफैंले मुख खोलेका छैनन् । माओवादी राजनीतिबाट आएका उनी नेकपाकालपछि एमाले रोजेर बसेका हुन् । एमाले रोजेकै कारण उनलाई माओवादीले तत्कालीन प्रदेश सांसदबाट बर्खास्त गरेको थियो । पार्टीका लागि सांसद पद नै छाडेको भन्दै एमालेमा उनलाई माया गर्नेहरु पनि धेरै छन् ।

तर २०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभामा उनी थोरै मतले पराजित भए । त्यसपछि मुख्यमन्त्री बनेका लीला गिरीको प्रमुख राजनीतिक सल्लाहकार बने पनि सरकार नै लामो समय टिक्न सकेन । पार्टी कमिटीमा सबैतिरबाट सर्वसम्मत रुपमा नाम आए जाने नभए धेरै रुचि नगरेको उनी निकटस्थहरु बताउँछन् ।

‘म पार्टी निर्णयका आधारमा अघि बढ्छु, पार्टीलाई आवश्यकता परेर पठाए जाने कुरा हो’, उनले भने ।

भट्टराई, पोखरेल र न्यौपानेसँगै हरि अधिकारी पनि यो क्षेत्रका बलियो दावेदार हुन् । सिनपाका उपमेयर, मेयर भएर काम गरिसकेका अनुभवी अधिकारी लामो समयदेखि सो क्षेत्रमा स्थायी बसोबास गरेका नेता हुन् ।

एमाले प्रदेश कमिटी सदस्य तथा रुपन्देही तिलोत्तमाका स्थानीयसमेत रहेका नेता मोहन चापागाईंले पार्टी नेतृत्वमा सबैतिरबाट प्रहार भइरहेको बेला मिसन चुनाव जित्ने नै हुने र सबै विषयमा सर्वे गरेर त्यही आधारमा उम्मेदवार हुने र त्यही गर्नुपर्ने बताए ।

‘प्रस्तावित नामहरु भित्रबाट नै पार्टीले छनाेटको प्रक्रिया बढाउला, तर त्यसको मुख्य आधार आन्तरिक सर्वे नै होला जस्तो लाग्छ, तीन दशकमा निर्वाचन सबै नजिकबाट हेरेकाले पनि त्यो हुनुपर्छ भन्ने मेरो राय रहन्छ’, उनले भने ।

एमालेका पालिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीले उपचुनाव भए पार्टीले उपयुक्त पात्रलाई अगाडि सार्ने जनाएका छन् ।

‘अहिले पार्टीले कुनै तयारी गरेको छैन, निर्वाचनको मिति पनि तोकिएको छैन, तर हाम्रो निचोड कसैसँग गठबन्धन गरेर एमालेले कसैलाई क्षेत्र छाड्दैन, त्यो निश्चित हो’, उनले भने ।

यस्तो छ यो क्षेत्रको विगत

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले पालैपालो निर्वाचन जितेका छन् । २०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले जितेको यस क्षेत्रमा २०५१ म एमालेका धनपति उपाध्याय निर्वाचित भए ।

उपाध्यायको निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जिते । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना हुँदा बालकृष्ण खाण नेपाली कांग्रेसबाट निर्वाचित भए ।

२०७० सालमा दीपक बोहोरा राप्रपाबाट, २०७४ मा घनश्याम भुसाल नेकपा एमालेबाट र २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा यो क्षेत्रमा विजयी भए ।

यस क्षेत्रमा २०७४ र २०७९ को प्रदेशसभा सदस्यमा हाल लोसपामा रहेका सन्तोषकुमार पाण्डे र एमालेबाट तुलसीप्रसाद चौधरी दोहोरिएर जितेका छन् । मतको प्रतिशतलाई आधार मान्ने हो भने २०७९ सालको प्रतिनिधिसभा सदस्यमा विजयी राप्रपाका दीपक बोहराले ३६,७१७ मत ल्याएका थिए ।

यस क्षेत्रमा २०७४ सालमा नेपाली कांग्रेसले राप्रपाका नेता दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाणलाई समानुपातिकमा राखेकाे थियाे, तर नेकपा एमालेका तर्फबाट घनश्याम भुसालले ३२,८६६ मत ल्याएर जित्दा बोहराले २७,४२२ मत ल्याएका थिए । उक्त समयमा एमाले र नेकपा माओवादी मिलेर लडेका थिए ।

२०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त भएको छ ।

निर्वाचनसम्बन्धी कानूनमा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी भएमा उपनिर्वाचन गर्ने भन्ने उल्लेख छ, तर उपनिर्वाचन गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन । उपनिर्वाचन गर्नुपर्ने बाध्यकारी अवस्था नरहेको भए पनि समय धेरै बाँकी रहेकाले चुनाव छिट्टै हुनसक्ने आंकलन दलहरुको छ ।

२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यस निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो । रुपन्देही ३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तमा नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १९ वडा समेटिएको छ ।

उत्तर दक्षिण क्षेत्रमा फैलिएको रुपन्देही क्षेत्र नं ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । स्थानीय तहको परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले ६ मा प्रमुख र २ मा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ मा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी दलले १ पालिकामा उपप्रमुख जितेको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर लडेका थिए ।

समानुपातिक मत कसको कति ?

२०७९ सालको निर्वाचनमा दलहरुले प्राप्त गरेको समानुपातिक मतका आधारमा रुपन्देही ३ मा कांग्रेस सबैभन्दा बढी मतमा छ । कांग्रेसले २०,२७९ मत पाएको छ । दोस्रोमा एमालेले १६,९८६, तेस्रोमा रास्वपाले १४,१५४ र पाँचौंमा राप्रपाले ९,१८३ मत पाएका छन् ।

यहाँ नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाउँदा लोसपाले पनि ५ हजार र जनमत पार्टीले ३,७०० मत पाएको छ । माओवादी केन्द्रले २,६०० सय मत पाएको छ । त्यस्तै जनमुक्ति पार्टीले १,९००, हाम्रो नेपाली पार्टी लौरोले १,३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।

Leave A Reply

Your email address will not be published.