काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर मागपत्र बुझाएका हुन् ।
नेकपा एसले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नारासहित कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि विभिन्न सुझाव दिएको छ ।
नेकपा एसले मुलुकको राष्ट्रिय एजेण्डा बनाउन सरकारले ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
‘सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा/स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रसाशनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेश गर्नेछन् । त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ’, मागपत्रमा भनिएको छ ।
पटक-पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने स्वयंसिद्ध तथ्यलाई राजनीतिक इतिहासले धेरै पटक पुष्टि गरेको उक्त पार्टीले ठहर गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा मुलुक पुगिसकेके पनि आर्थिक जीवन र प्रणालीको हिसाबले पुरानै बाटो पच्छ्याइरहेकोले धेरै कुरा गुमाएको चिन्ता व्यक्त गरिएको छ ।
बालुवाटारमा मागपत्र लिएर नेपालसहित वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाललगायत पुगेका थिए ।
प्रधानमन्त्री ओलीले आगामी नीति तथा कार्यक्रम र बजेटमा माग र सुझावलाई समेट्ने प्रतिवद्धता जनाए ।
यस्तो छ नेकपा एसको मागपत्र