काठमाडौं । सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएको यो वैशाख महिना सकिएसँगै तीन वर्ष पुग्छ । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर उपमेयर जितेकी डंगोलले लोकप्रिय मतमा मेयर बालेन शाहलाई ७ हजार मतले पछि पारेकी थिइन् । प्रतिस्पर्धी तत्कालीन सत्ता गठबन्धनका रामेश्वर श्रेष्ठलाई ४५ हजार मतले पराजित गरेकी डंगोल नेपाली राजनीतिमा युवा आइकनका रूपमा स्थापित हुँदै गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत उनलाई ‘रिकग्नाइज’ गर्न थाल्यो ।
३ वर्षसम्म आफ्नो परिभाषित कामवाहेक मेयर बालेनका काम कारवाही र एकल निर्णयमा सार्वजनिक विमत्ति नराखेकी डंगोलले पछिल्लो समय महानगर लथालिङ्ग हुन थालेपछि अभिभावकीय हस्तक्षेप गरेर कर्मचारीलाई तलब खुवाउनेदेखि विकास आयोजनाको काम अघि बढाउने भूमिकामा आफूलाई उभ्याइन् ।
सुनिताले जब महानगरका जनप्रतिनिधि र कर्मचारीको आग्रहबमोजिम नेतृत्वदायी भूमिकामा आफूलाई अघि बढाइन् र युरोपेली युनियनको औपचारिक निम्तामा ब्रसेल्स र लक्जेम्बर्गको भ्रमण गरिन् त्यसपछि उनीमाथि साइबर हमला थालियो । राम्रो काम गर्दा नियोजितरूपमा हमला भएपछि नेकपा एमालेको युथ सेलिब्रेशनको वक्ताका रूपमा पहिलोपटक आक्रामक राजनीतिक अभिव्यक्ति दिएपछि डंगोलको पक्ष र विपक्षमा मान्छेहरू सामाजिक सञ्जालमा उत्रिए ।
यही मेसोमा उपमेयर डंगोलले शनिबार बिहान केही पत्रकारसँग आफ्नो काम कर्तव्य र अधिकारका साथै काठमाडौं महानगर कसरी चलिरहेको छ र कसको दायित्व के हो ? भन्नेबारेमा परिपक्व ढंगले ब्रिफिङ गरिन् । डंगोल महानगर र देश स्टन्टबाजी गरेर होइन विधि प्रक्रिया र प्रचलित कानून बमोजिम चल्नुपर्छ भन्ने सुनिइन् ।
काठमाडौं भ्यूटावर, महानगरबारे बाहिर आइरहेका विषय, अनिश्चित बनिरहेको कार्यपालिका बैठक, बेथितिमाथि उठिरहेका प्रश्न र आफ्नो भूमिकालगायतका विषयमा उनले मुख खेलेकी छन् ।
उनले उठाएका सवालहरू यस्ता छन्-
अख्तियार किन चुप छ ?
उपमेयर डंगोलले महानगरको विषयमा पटकपटक अनियमितता र भ्रष्टाचारको कुरा आइरहँदा पनि नियामक निकाय मौन देखिएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएकी छन् ।
काठमाडौं भ्यू टावर केही दिनअघि सार्वजनिक भिडिओ क्लिपलगायतका विषयहरू उठिरहँदा सत्यतथ्य कुरा बाहिर आउनु जरुरी रहेको उनको भनाइ छ ।
डंगोलले भनिन्, ‘सधैँ जनता भ्रममा बसिराख्न हुँदैन । महानगरको यति धेरै फाइल छ रे अख्तियारमा छानबिन गर्नु पर्दैन ? मेरो विशेष आग्रह छ- कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गरियोस् । हामी सुशासनको नारा लगाइरहने, तर यत्रो अनियमितताको कुरा आउँदा जो सुकै संलग्न होस् कारवाही हुनुपर्यो ।’
एकजनामात्र हो कि संगठितरूपमा भ्रष्टाचार भएको छ भन्ने अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ छ ।
भ्यूटावर औचित्यहीन
महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्यू टावर अनावश्यक भएको बताइन् । प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन् । सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको भनाइ छ ।
‘जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता त्यही छ । हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैनन् भनेर ढाँट्न पाइँदैन । त्यहाँ बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी छैन’, डंगोलको प्रष्टीकरण छ ।
उनले महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्ने बताइन् । सर्वोच्चमा विचाराधीन रहेको ठमेलको छाया सेन्टरको प्रसंग पनि उनले उप्काएकी छन् ।
‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन । तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ । हामी सम्पदा संरक्षणको कुरा गर्छौं तर भएका सम्पदा पनि मास्दै गएर हुन्न’, उपमेयरले भनिन्, ‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं । त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न । त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ ।’
कार्यपालिका बैठक छिटो राखौं
सञ्चारकर्मीमाझ डंगोलले लामो समयदेखि कार्यपालिका बैठक नबस्दा एजेण्डा र फायलहरूको चाङ लागेको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिँदा र मेयर र वडाध्यक्षबीच दूरी बढ्दै जाँदा गत पुस ८ पछि कार्यपालिका बैठक बस्न सकेको छैन ।
वडाध्यक्षहरूले आफूलाई पनि कार्यपालिका बैठकका लागि दबाब दिइरहेको उनले सुनाइन् । बैठकका लागि मेयर बालेन साहसँग समन्वय प्रयास गरिरहेपनि सफल हुन नसकिरहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय विदेशबाट फर्किएपछि मेयरसँग भेट हुन सकिरहेको छैन ।
डंगोलले भनिन्’, ‘अहिलेका धेरै समस्याको समाधान कार्यपालिका बैठक राख्नासाथ हुन्छ । बोर्ड बैठक बस्न मेयर सा’वसँग भेट्ने प्रयास गरिरहेकी छु । भेट भइरहेको छैन । कति कानून पास गर्न बाँकी छ । एजेण्डाको चाङ छ, वडाध्यक्ष र कर्मचारीहरूले पनि दबाब दिइराख्नुभएको छ । मेयर सा’बले जहिले भन्नुहुन्छ त्यो दिन बस्छ । बैठकमा इन्डोर्स गराएर जानुपर्ने कुरा फास्ट ट्रयाकबाट लैजाने भन्दै नहुने काम पनि गर्नुभएन । एजेन्डानै नहुँदा पनि शुभकामना दिन बैठक त राख्नुपर्छ । कोसिस गरिरहेकी छु ।’
१७ सेकेण्डको भिडिओको पूरै फुटेज चाहियो
उपमेयर डंगोलले पछिल्लो समय सामाजिक सञ्जालबाट भाइरल गराइएको भिडिओ क्लिप सुनियोजित भएको दाबी गरेकी छन् । उनले त्यसको पूरा फुटेज बाहिर ल्याउनुपर्ने बताएकी छन् । गते चैत १० को वडाध्यक्षसहितको एक छलफलको सार्वजनिक गरिएको १७ सेकण्डको क्लिपमा काठमाडौं भ्यू टावर निर्माणमा ५-५ करोड घुस अफरको संवाद सुनिन्छ । उपमेयर डंगोलले आफू त्यस दिन बैठकमा उपस्थित नभएकाले त्यो दिन भएको छलफलको पूरा भिडिओ खोजी गरिरहेको बताइन् ।
यसबारेमा डंगोलको भनाइ यस्तो छ
त्यो मिटिङमा म थिइनँ । म नेपालवाहिरै थिएँ । १७ सेकेण्डको भिडिओ काटेर सुनियोजितरूपमा अहिले वाहिर ल्याएर भ्रम छर्न पाइँदैन । यदि त्यस्तै कुराकानी थियो भने किन अहिलेसम्म कुर्नुपर्थ्यो ? अन द स्पोट सार्वजनिक गरेर संलग्नलाई कारवाही गर्नुपर्थ्यो । त्यो १७ सेकेण्ड अगाडि पछाडि पनि त केही कुराकानी भाको होला । स्वयं मेयर सा’वले बैठकमा के भन्नुभयो ? फूल भिडिओ म र आम नागरिकले सुन्न हेर्न र बुझ्न पाउने अधिकार छ । मैले पूरा भिडिओ मागेको छु । पाएकी छैन । अगाडि पछाडिको आवाज छैन पनि भनेको सुन्दैछु । (हाँस्दै) मुसाले काट्यो भनेजस्तो पो हो कि !
जे गर्दा महानगरको हित हुन्छ त्यही गर्छु
उपमेयर डंगोलले हिजो आफूले गरिरहेका कामलाई अझ व्यापक र मासरूपमा गर्नकै लागि सोचीविचारी राजनीतिमा छिरेको बताएकी छन् । आफूबारेमा सकारात्मक/नकारात्मक आइरहेका टिप्पणी भन्दा पनि म के गर्दैछु र कसका लागि गर्दैछु भन्नेलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाइ छ ।
उनले थपिन्
म ‘बहुजन हिताय, बहुजन सुखाय’ बुद्धवाणीलाई ध्यानमा राखेर अघि बढेको हुँ । हिजो मैले गरिरहेको कामलाई एम्प्लिफाई गर्न राजनीतिमा आएकी हुँ । मलाई कतिले बोलिनस् पनि भन्छन् । तर, महानगरको हितमा मैले के गर्दा हुन्छ डे वान देखि नै त्यही गर्दै आएकी छु । के गर्दा राम्रो हुन्छ त्यही गर्छु । कहिले बोलेर समाधान हुन्छ भने बोल्छु । नबोलेरै विवाद समाधान हुन्छ भने त्यसै पनि गर्दै आएको छु । तपाईँहरूले विगतमा पनि हेर्नुहोस् कार्यपालिकामा विवाद भइरहँदा पनि अन्तिममा मैले नै समाधान गरिआएको छु । ममाथिका कमेन्टहरू हेर्नुहुन्छ भने सुनिनसक्नु, हेरिनसक्ने खालका छन् । त्यतातिर ध्यान दिएर हुन्न मैले महानगर र यहाँका जनताको हितमा काम गर्नुछ ।
उनले आफूलाई तोकिए/दिइएको जिम्मेवारीको काम कुनै नरोकिएको बताइन् । न्यायिक समितिमा पेण्डिङ फायल एउटै नरहेको डंगोलले बताइन् ।
‘निसुका फायल जिरो बनाएका छौं । मेलमिलापमा नागरिकको विश्वास बढाउँदै लगेका छौं । न्याय चौतारीले कानूनी सचेतनाको राम्रो सन्देश गएको छ । मेरो कार्यकक्ष सबैलाई खुल्ला छ । सचिवालयबाटै हुने काम त्यहीँ टुंग्याइदिनु भनेको छु । मलाई भेट्नै पर्ने काममा म कार्यकक्षमा हुँदा कसैलाई रोकटोक छैन’, उनले भनिन् ।
३ वर्षको अनुभवले उपमेयरको भूमिकालाई लिएर संविधान र कानूनमै सुधार्नुपर्ने आफूले देखेको र यसका लागि वकालत गर्ने उनको भनाइ छ । जनताबाट निर्वाचित भएर आएको प्रतिनिधिले तिनै जनताको माग र भावनाअनुसार काम गर्न नपाउनु विडम्बना भएको डंगोलको भनाइ छ ।
‘कानून-संविधानमा समस्या छ अब बोल्छु । जनताले भोट दिएर जिताएर पठाएपछि उहाँहरूको अपेक्षा हुन्छ नि ! अहिलेका समस्या मलाई पनि त थाहा छ । तर, कहिँ हस्ताक्षर नै नचल्ने । इलेक्टेड बनाको हो । तर, सेलेक्टेडजस्तो छ’, उनले भनिन् ।
बालेनसँगको ट्युनिङका विषयमा सञ्चारकर्मीको जिज्ञासमा उनले भनिन्, ‘सम्बन्ध हिजो जस्तो हो, आज पनि त्यस्तै छ । हिजो चिसिएको सम्झिनु हुन्छ भने आज पनि त्यस्तै । हिजो राम्रो सम्झिनु हुन्छ भने पनि त्यस्तै नै हो ।’