काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा बागमती वारियर्स प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता भएको छ ।
दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगतामा महिलतर्फ मनुकला राई र पुरुषतर्फ सुजित अवाले ओभरअल विजेता घोषित भए । महिलातर्फ मनुकलाले ४३५.५ केजी तौल र पुरुषतर्फ सुजितले ७४२.५ केजी तौल लिफ्ट गर्दै ओभरअल विजेता बने । उनीहरू दुवैले नगद १ लाख पुरस्कार र ट्रफी हात पारे ।
२३ वर्षमुनितर्फ आक्रित बानियाँ, १८ वर्षमुनि अंकित योञ्जन विजेता बने । महिलतर्फ ५७ केजीमुनितर्फ शिल्पा अग्रवाल, ६३ केजीमुनितर्फ पुनम चौधरी, ६९ केजीमुनितर्फ महिमा सिंतान र ६९ केजीमाथि अल्बिना रजथला विजयी भए । पुरुषतर्फ ५९ केजीमुनि हिमाल महत, ६६ केजीमुनि अनिकित शाही, ७५ केजीमुनि रुनेश श्रेष्ठ, ८३ केजीमुनि विजय प्रजापति र ८३ केजीमाथि प्रसिद्ध शाक्य विजयी भए ।
प्रतियोगितामा प्रत्येक तौल वर्गका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः नगद रू. २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् । उमेर समूहका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार पुरस्कार पाए ।
प्रतियोगिताका विजेता, उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य शुभर्ण श्रेष्ठ र नेपाल पावरलिफ्टिङ संघका अध्यक्ष सुन्दर भुसालले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेशस्तरीय खेल प्रतियोगिता आयोजना हुनु निकै सकारात्मक कदम रहेको बताए । उनले प्रदेश सरकारले आगामी दिनमा यस्ता खेलहरूलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।