Take a fresh look at your lifestyle.

हिजो हामी विचलित भयौं, जनतासँग माफी माग्न आएको हौंः प्रचण्ड

रुपन्देही । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन संस्कृतिमा कांग्रेस एमालेसँग मिलेर गल्ती भएको भन्दै त्यो उपचारका लागि जनतासमक्ष माफी माग्न आएको बताए ।

तराई केन्द्रीत हुलाकी मार्ग अभियानका क्रममा पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले अब त्यसप्रकारको गल्ती नगर्ने भन्दै माफी दिन आग्रह गरे ।

‘म अपील गर्न आएको छु, हामीले केही त्रुटि गर्द अरुलाई फाइदा भयो भनेर आत्मसमीक्षा गरेर आएका हौं, हामीलाई केही रोग लागेको छ, सच्चिन आएको हौं, एमालेसँग मिल्दा एमालेको रोग सरेको हो, कांग्रेससँग मिल्दा कांग्रेसको रोग सरेको हो, अब उपचारका लागि तपाईहरुसमक्ष आएका हौं’ उनले भने–‘हामी उपचारका लागि तपाईहरुसमक्ष आएका हौं, हाम्रो सर्वोच्च अधिकार जनतालाई नै छ, हामीलाई हिजो गरेका गल्तीको माफी दिनोस्, हिजो पाएका अधिकार कार्यान्वयनका लागि एक हुनुछ ।’

उनले आफू सरकारको नेतृत्वमा रहँदा राम्रो काम गरेकाले हटाइएको दावी गरे । ‘देशलाई अराजकतातर्फ लैजान खोजियो,हामी नेतृत्वमा रहँदा धेरै भ्रष्टाचारको फाइल खोलियो, धेरै भूमाफिया र विचौलियालाई कारबाही अघि बढाउने अभियान चलाऔं । बेथिति र अराजकताका विरुद्ध सम्झौता नगरेका कारण सरकारबाट बाहिरिन पर्यो’ उनले भने ।

प्रचण्डले तराईको लाइफलाइन बनेको हुलाकी मार्गमा आफ्नो र माओवादीको लिगेसीभएको बताउँदै आफू प्रधानमन्त्री भएकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर यसको प्रबन्ध मिलाएको जनाएको छ । पार्टीले संचालन गरेको तराईका नागरिकसँग पार्टीको सम्बन्ध बलियो बनाउन यो अभियान चलाएको बताए ।

‘हुलाकी मार्गलाई केन्द्रविन्दु बनाएर अभियान चलाएको, झण्डै ७० वर्षदेखि यसको कुरा चलेपनि लामो समयदेखि यो बाटो बनेको थिएन, मैले भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राखेर यो अभियान सुरु भएको हो, भारतले सहयोग नगरे आफै बनाउने प्रस्ताव गरेपछि सहयोग आएको हो, अहिले पौने ४ सय किमि सडक बनेको छ केही बन्ने क्रममा छ ।’ उनले भने ‘यो मार्गमा मेरो र माओवादीको ठूलो गिलेसी छ, अरु पार्टीले यसलाई जोडेर केही गरेका छैनन् तपाईहरुको भाग्य रेखा बनाउने लाइफलाइन हो ।’ हुलाकी मार्गबारे सहभागीलाई उनले भने –‘तराईमा बस्नेहरुलाई यो सडक नयाँ जीवन रेखा हो, हुलाकी राजमार्गले बनाएको यो मार्गले धेरै काम गर्नेछ, तराई मधेसमा आदिवासी, जनजाति, मुस्लिम तथा अल्पसंख्यकहरुको अधिकार पुनःस्थापित गर्न यो अभियान चलाएका हौं ।’

उनले पार्टी स्थापना भएदेखि नै तराईलाई केन्द्रमा राखेर धेरै योजना बनाएको बताए । ’सामाजिक विभेद र अपमानविरुद्ध अभियान चलायौं, नागरिकता दिलाउने हामीले नेतृत्व गरेको सरकारले अगाडि बढाएको हो, सामाजिक विभेद अन्त्य गर्न हिजोदेखि नै हाम्रो अभियान जारी छ’ उनले भने ‘मिटरब्याज पीडितको कारबाही प्रकृया हामीले थालेका हौं, तराईको ठूलो समस्या थियो यो । यसले धेरै विषयमा सम्बोधन गरेको छ ।’

माओवादी अध्यक्ष प्रचण्डले झापादेखि यहाँ आउँदासम्म जनताको धेरै माया पाएको बताए र भने–‘यो अभियानमा हामी जनताकै समस्या बुझ्ने गरेका छौं, सहिद, वेपत्ता परिवारको साथमा बसेका छौं, यसले यहाँको वास्तविकता बुझ्न सहयोग गरेको छ ।’ उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा गएर अहिलेको अस्थिरताबाट मुक्ति पाउने बताए ।

Leave A Reply

Your email address will not be published.