विराटनगर । संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोशी प्रदेशले दमकमा जनजागरण सभा गर्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेशले दाबी गरेको छ ।
दमकको पशुहाटमा हुने सभा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए । प्रेस चौतारी नेपालले सभास्थलमै आज गरेको पत्रकार सम्मेलनमा राईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औंला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए ।
उनले भने, ‘हामीले ल्याएको संघीय गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धि हो । त्यसकै उपलब्धि रक्षाका लागि दमकमा सभा गरिन लागेको हो ।’
चैत १५ गते काठमाडौंमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए ।
‘प्रतिगमनकारी शक्तिहरुलाई हामी जवाफ दिन चाहन्छौं, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्’, राईले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक-आर्थिक रुपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् ।’
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने राईले जानकारी दिए । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनको भनाइ छ ।
पूर्वबाट आउने सहभागीहरुलाई रतुवा पुल पूर्वबाट नै सभास्थलमा र्यालीसहित प्रवेश गराइनेछ । यस्तै पश्चिमबाट आउनेहरुलाई पश्चिम स्टेनबाटै र्यालीसहित सभामा प्रवेश गराइनेछ ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुनेछन् । यस्तै विभिन्न कलाकारहरुले समेत प्रस्तुति दिनेछन् ।