Take a fresh look at your lifestyle.

एमाले सिरहा अधिवेशन : सर्वसम्मत नेतृत्व चयनमा सकस, चर्चामा अशोक

जनकपुरधाम । नेकपा एमाले सिरहाको ११ औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनमा सकस परेको छ । पार्टीमा गुट–उपगुट सक्रिय भएकाले सर्वसम्मत जिल्लाको नेतृत्व चयनमा सकस परेको हो ।

मंगलवारबाट सिरहा सदरमुकाममा सुरु भएको एमाले जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्बोधनका क्रममा उनले नेतृत्व सम्भवतः सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिए । उनले सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाए ।

उद्घाटन समारोह सकेलगत्तै सिरहाका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरूको बैठक बस्यो । बैठकको मुख्य उद्देश्य थियो– जिल्ला कमिटी सम्भवतः सर्वसम्मत चयन गर्नेमा सहमति जुटाउने । तर बैठकमा निष्कर्ष विहीन सम्पन्न भएको बुझिएको छ ।

जिल्ला अध्यक्षका लागि अशोक यादवको नाम चर्चामा छन् । यादव मधेश प्रदेशका पूर्व सांसद हुन् । तर एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले आफ्ना पकडका नेतालाई जिल्ला अध्यक्ष बनाउन चाहेका छन् ।

‘सिरहामा श्रेष्ठ आफ्नो वर्चस्व कायम राख्न चाहन्छन्’, एक नेताले भने, ‘जिल्ला अध्यक्षका लागि अशोक यादव योग्य छन् । तर उनी श्रेष्ठको एस म्यान बन्न सक्दैन । त्यसैले श्रेष्ठ यादवलाई वाइपास गर्न चाहन्छन् ।’

मधेश प्रदेशमा श्रेष्ठ र एमाले सचिव रघुवीर महासेठको गुट सक्रिय छन् ।  उनी दुबै जना प्रदेशमा मात्र होइन, आठै जिल्लामा आफ्ना गुट बलियो बनाउन उद्धत छन् । जसको प्रभाव सिरहा अधिवेशनमा पनि परेको छ ।

रघुवीर गुटमा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा. नविन यादव, सुखिपुरका मेयर रामऔतार यादव लगायत नेताहरू छन् । उनीहरू नै अशोक यादवलाई जिल्ला अध्यक्षका लागि अगाडी सारेको स्रोतले जनायो ।

हुन त श्रेष्ठ आफ्ना उम्मेदवार सार्वजनिक गरेका छैनन् । तर उनले रामविलास साहलाई जिल्ला अध्यक्ष बनाउन लविङ महाधिवेशन प्रतिनिधिहरू समक्ष गरिरहेका छन् । अन्दाजी ६५ वर्ष पार गरिसकेका साह उमेरको हिसाबले पनि जिल्ला अध्यक्षका लागि उपयुक्त नहुने टीकाटिप्पणी भइरहेको छ ।

एमालेका एक नेता भन्छन्– सिरहामा पार्टी कार्यकर्तामाझ श्रेष्ठको दबदबा छ । उनको अगाडी कसैले विरोध गर्न सक्दैनन् । त्यसैले श्रेष्ठ सर्वसम्मत नेतृत्व चयन गरेर आफ्ना पकडका नेतालाई नेतृत्व सुम्पिन चाहेका छन् । तर भित्रभित्रै धेरै नेता परिवर्तन चाहन्छन् । योग्य र सक्षम व्यक्तिलाई जिल्ला अध्यक्ष बनाउन चाहेका छन् ।

जिल्ला अधिवेशनका लागि १७ पालिकाबाट करिब ६ सय प्रतिनिधि चयन भएका छन् । आज बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने भनिएको छ । तर मौसम रातिदेखि नै परिवर्तन भएर ठाउँ ठाउँमा वर्षा भइरहेकाले बन्द सत्र ढिलो सुरु हुने देखिन्छ । एमालेका दीपेन्द्र यादवले अब छिट्टै बन्द सत्र सुरु हुने जानकारी दिए ।

उनले सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गर्ने बताए । उनले भने, ‘१७ पालिका छन् । १३५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । त्यसका लागि सबै पालिकाले प्रतिनिधि चयन गरेर पठाउने छ । चयन भएर आएका मध्येबाटै अध्यक्षसहितका पदाधिकारी चयन हुन्छ ।’

Leave A Reply

Your email address will not be published.