विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशनमा नेतृत्व चयनमा अलमल भएपछि प्रतिनिधि घर फर्किएका छन् ।
४ दिनअघि अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयन गर्ने भनेपनि त्यो सफल हुन सकिरहेको छैन । बुधबार राति छलफलविनै एकैपटक नाम टाँस्ने तयारी भएको थियो ।
प्रतिनिधिले विरोध जनाएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो । निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्ने मत बलियो भएपछि मनोनयनको कार्य अघि बढाएर सहमतिको प्रयास स्वरूप वार्ता थालिएको एक नेताले बताए ।
अध्यक्षका निम्ति आयोजक समितिका संयोजक चन्द्रवीर राई, उद्धव पोखरेल, दिपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगी गरी ९ जनाले मनोनयन गरेका छन् । तर, अध्यक्षमा पोखरेल र ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२ उपाध्यक्ष र १ सचिव पदका लागि ४-४ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला कमिटीका धेरै सदस्य भने निर्विरोध भइसकेका छन् ।
अझै पनि अध्यक्ष मण्डलमा रहेका नेताहरूले सहमतिको रटान लाइरहेका छन् । सर्वसम्मत नेतृत्व छान्ने भन्दै कागजात बोकेर अधिवेशनस्थलबाट उनीहरू पार्टी कार्यालय हिँडेपछि प्रतिनिधि पनि अधिवेशनस्थल मनास्लु होटल छाडेर घर फर्किएका छन् । अधिवेशनका लागि ४३६ प्रतिनिधि सहभागी थिए ।
प्रतिनिधि घर फर्किए पनि नेतृत्व चयन भइनसकेको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एसका सचिव बलदेव चौधरीले बताए ।
उनले भने, ‘हामी आजसम्ममा सर्वसम्मत नेतृत्व छान्छौं । अहिले भने टुंगिसकेको छैन । अध्यक्ष मण्डललाई नेतृत्व छान्ने अधिकार प्रतिनिधिले दिएकाले सर्वसम्मत नेतृत्व छान्ने प्रयास भइरहेको छ । त्यही भएर उहाँहरू घर जानुभएको हो ।’
अध्यक्ष मण्डलका सदस्य वसिम आलमले आज बेलुकासम्ममा नेतृत्व चयन हुने बताए ।
उनले भने, ‘हामी आकांक्षी सबैलाई छलफल गराएर नेतृत्व छान्ने प्रयासमा छौं । आज बेलुकासम्ममा नेतृत्व छान्छौं ।’
अधिवेशनले ९१ जनाको कार्यसमिति चयन गर्नेछ ।