काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बजेट भाषणका लागि डाकिएको संयुक्त सदनको बैठक र त्यसअघि बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने निर्णय लिएको छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्वलाई मनन गर्दै रास्वपाले सो निर्णय लिएको हो ।
आज साढे एक बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ भने तीन बजे बजेट भाषणका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक डाकिएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्भेक्षण प्रस्तुत गर्दैछन् । त्यसपछि बस्ने संयुक्त बैठकमा उनले बजेट भाषण गर्नेछन् ।
रास्वपाले पहिलो बैठकको सुरूवातमा पार्टीका तर्फबाट धारणा राख्न पाउनुपर्ने माग सभामुखसँग गरेको छ । त्यसपछि आर्थिक सर्भेक्षण पेश गर्न दिने उसको प्रस्ताव छ ।
रास्वपाका कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठ संविधानले नै जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था गरेको हुँदा एउटा जिम्मेवार दलको हिसाबले संसद अवरोध नगर्ने निर्णय लिइएको बताउँछन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीमाथि अनुसन्धान गर्न छानबिन आयोग गठन गर्ने हाम्रो माग यथावतै छ । आज एक दिनका लागि अवरोध हटाउने निर्णय गरेका छौं । संवैधानिक दायित्वलाई मनन गर्दै सुसंस्कृत तरिकाले प्रस्तुत हुन्छौं ।’