काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लामो सङ्घर्षपछि गणतन्त्र स्थापना गरेको भन्दै यही व्यवस्थामार्फत नै जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास भइरहेको बताएका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले के दियो भन्नेहरूलाई तथ्याङ्कमा हेर्न आग्रह गरे ।
उनले गणतन्त्र दिवसको अवसरमा आज एमालेले सबै पालिकामा विभिन्न कार्यक्रम गरेर मनाएको बताए ।
महासचिव पोखरेलले भने, ‘काठमाडौं उपत्यकाका कमिटीहरूको आयोजनामा हामीले यो कार्यक्रम आयोजना गरेका थियौँ । भव्य र सानदार रूपमा विभिन्न सांस्कृतिक बाजागाजासहित गणतन्त्र उत्सवलाई भव्यताका साथ र्यालीको आयोजना गरेर सम्पन्न गरेका छौँ ।’
उनले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने पार्टीको निर्णयअनुसार नै आज कार्यक्रम गरेको बताए ।