काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलिको सदनमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने बताएको छ । तर, गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीको शर्त छ ।
आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताए ।
उनले भने, ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनाैं । प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’
उनले गत वर्ष २२ वटा वैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको सम्झिए ।
‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौं । हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं ।’
कांग्रेस पदाधिकारी वैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।
झाले भने, ‘अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट दिन पाउँछ ? अनुसन्धानमा सघाउनुपर्ने होइन ?’