विराटनगर । नेकपा एमाले मोरङमा गुटको बिजारोपण गर्ने विराटनगर मानगढ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित भएका छन् ।
नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमाले विद्रोही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गरेका छन् ।
वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गरे । दुर्गा चापागाईँले ६३५ मत प्राप्त गरिन् । घिमिरे एमाले संस्थापन पक्षका उम्मेदवार हुन् । चापागाईँ कांग्रेसबाट उम्मेदवार बनेकी थिइन् । अध्यक्ष जितेका भट्टराई विनोद ढकाल समूहका उम्मेदवार हुन् ।
उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल निर्वाचित भइन् । खुला उपाध्यक्षमा भोलानाथ घिमिरे निर्वाचित भए । सचिवमा प्रदीपकुमार नेपाल निर्वाचित भए । कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भए ।
मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्तामध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ जनाले भोट हालेका थिए ।
गत वर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा विवाद मच्चिएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालीन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र उम्मेदवार लालमणि भट्टराईलाई कारवाही गरेको थियो ।
एमालेकै विवादका कारण २०८१ जेठ १९ गते नयाँ नेतृत्वका लागि भएको निर्वाचन टुङोमा पुग्न सकेन । विवाद निरुपणका लागि उच्च अदालत विराटनगरसम्म पुगेको थियो । अदालतले पुन: मतदानको फैसला गरेको थियो ।
मानगढ खानेपानीको निर्वाचनका कारण एमाले मोरङमा गुटगत संघर्ष शुरू भएको हो । खानेपानीको विवादको असर १० औ मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगर अधिवेशनमा देखिएको थियो ।
मानगढ खानेपानी प्रकरणबाट एमाले मोरङमा शुरु भएको गुटगत लडाई जिल्ला र नगर अधिवेशनमा प्रकट भएको थियो ।
दुवै अधिवेशनमा विनोद ढकालले पार्टी संस्थापनका उम्मेदवारको प्यानल नै पराजित गराएर आफ्नो प्यानल विजयी गराएका थिए । गुट शुरू भएको मानगढमा पनि उनले आफ्ना उम्मेदवार विजयी गराएका छन् ।