Take a fresh look at your lifestyle.

नाउपा-जनमत एकता: सरेको कि टरेको ?

कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीचको एकता तत्काललाई धकेलिएको छ ।

बुधबार ९ बुँदे सहमतिसहित पार्टी एकता घोषणा गर्न दुवै दल तयार भएका थिए । तर, पार्टी एकता स्थलबाटै नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा भाँडियो । डिल्लीबजार कारागारबाट साढे पाँच घण्टामै रेशम छुटेपनि पूर्वनिर्धारित समयमा पार्टी एकता भएन । अहिले दुवै दलबीच पार्टी एकताको अर्को मिति तय भएको छैन ।

रेशम रिहा भएपछि मध्यबानेश्वरको सनराइज क्याफेमा स्वागत र सम्मान कार्यक्रम राखियो । त्यहाँ जनमतका उपाध्यक्ष, प्रवक्तासहितका नेताहरू पुगेका थिए । चौधरीले आजसम्म दुई दलबीच छलफल हुने र शुक्रबारसम्म एकता हुने भन्दै नेता कार्यकर्ताहरूलाई आश्वस्त पारेका थिए ।

नेता कार्यकर्ताहरूले रातिसम्मै भएपनि एकता गर्न दबाब दिएका थिए । जनतम पार्टीका अध्यक्ष नै नभएको कार्यक्रममा एकता हुने सम्भावना थिएन । नाउपाका नेताहरू संरक्षक रेशम रिहा भएपछि बधाई दिएर फर्किए । रेशमले आज दुई दलबीच छलफल हुने बताएका थिए । तर, अहिलेसम्म पनि नाउपा र जनतमबीच शीर्ष तहको छलफल भएको छैन ।

यता नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी भएपछि एकता अझै लम्बिने सङ्केत देखिएको छ ।

‘तत्काल एकता हुने जस्तो देखिएको छैन । संरक्षक ज्यूले भोलिसम्म एकता गर्ने भनेर हामीलाई आश्वस्त पार्नु भएको छ तर, भोलि एकता हुनेमा हामी नै ढुक्क छैनौँ’ नाउपाका एक नेताले भने, ‘हामीले बुझेअनुसार तत्काल अब एकता हुँदैन । ’

नाउपाले अहिले नेता कार्यकर्ताहरूलाई घर फर्किन भनिसकेको छ । १७ गते एकता घोषणा सभामा सहभागी हुन काठमाडौँ गएकाहरू अहिले एकता नहुने देखिएपछि घर फर्किन थालेका हुन् ।

‘हामीलाई अहिले एकता हुँदैन तपाईँहरू घर जानुहोस् भन्ने सूचना आएको छ ’, अर्का एक नेताले भने, ‘ अब कहिले एकता हुन्छ भन्नेबारे कुनै टुङ्गो छैन । ’

बुधबार पनि नागरिक उन्मुक्ति पार्टीले पूर्ण एकता गर्नु पर्ने बताउँदै आएको थियो । जनमत पार्टीले भने केही तयारी बाँकी रहेको भन्दै संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गरेर कमिटीलाई पछि टुङ्गाउने बताएको थियो । नाम घोषणाकै विवादका बिचमा एकता अघि नै किचलो सुरू भएको दुई पार्टीबीच तत्काल एकता हुने सम्भावना क्षीण रहेको दुवै दलका शीर्ष नेताहरू स्वीकार गर्दै छन् । यहीबीचमा रेशम पक्राउ, रञ्जिता बिरामी र संयुक्त बैठक नबसेको हुँदा एकतामा ढिलाइ हुने देखिएको हो ।

नाउपाले मात्रै होइन जनमत पार्टीले पनि चाँडै एकता सम्भावना नरहेको बताएको छ ।

‘एकता कै दिन रेशम चौधरीलाई पक्राउ गरिएको विषय सामान्य होइन हामी यसको भर्त्सना गर्दै सत्यतथ्य छानबिनको माग गर्छौं ’, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव भन्छन्, ‘हामी सबै तयारी गरेर केही समयपछि एकता गर्ने पक्षमा छौँ । ’

एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०-५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५-२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

२५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबीच छलफलमा सहमति भएको थियो । नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको थिएन ।

नाउपाले सबै विषय टुंग्याएरमात्रै एकता गर्ने जनाएको थियो भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सह-अध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको थियो । तर, अहिले रेशम पक्राउपछि अहिले दलको संयुक्त बैठक पनि बस्न सकेको छैन । जसले गर्दा एकता नै अनिश्चित बनेको छ ।

Leave A Reply

Your email address will not be published.