Take a fresh look at your lifestyle.

‘रक्सी चोर’ सँग कांग्रेस सहमहामन्त्रीको नाता भेटिएन, लिङदेन र अमरेशलाई प्रमाण ल्याउने चुनौती

0

काठमाडौं । नेपालका राजनीतिकज्ञहरु बेला-बेला हचुवामा गम्भीर अभिव्यक्ति दिन्छन् । फलस्वरुप बोलेका कुराहरुको समेत जवाफदेहिता लिन सक्दैनन् । पछिल्लो दृष्टान्त बनेका छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ।

तीन दिनअघि लिङदेनले प्रतिनिधिसभा बैठकमै एउटा सनसनीपूर्ण दावी गरे, जसलाई उनले अझैसम्म पुष्टि गर्न सकिरहेका छैनन् । उनले भाटभटेनीमा चैत १५ गते भएको लुटपाटमा सत्तारुढ दल नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोरा पक्राउ परेको र राजनीतिक पहुँचका आधारमा बिनाकारवाही छोडिएको दावी गरेका थिए ।

संसद बैठकमा लिङदेनले यस्तो भनेः

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीका सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन तुरून्तै छोड्नुभयो ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले रक्सी खान्न, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि भिडिओ हेरेर प्रहरीले पक्रियो । पक्रँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो तर उसैले ल्याएको मानिस छुटेन । यो कुरा सार्वजनिक गरिदिन्छु भनेपछि दुई घन्टाभित्र तपाईंहरूले छोड्नुभयो, त्यसकारण त्यो सत्यतथ्य सार्वजनिक हुन जरूरी छ ।’

भाटभटेनीबाट रक्सी चोरेको गम्भीर आरोप लगाईंरहँदा अध्यक्ष लिङदेनले सहमहामन्त्रीको नाम भने खुलाएका छैनन् । कांग्रेसमा ८ जना सहमहामन्त्री भएकाले लिङदेनले कसलाई ईंगित गरेका हुन् भन्ने कौतुहलता सिर्जना भयो । कांग्रेसका ८ सहमहामन्त्री हुन्– फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, बद्री पाण्डे र जीवन परियार । उनीहरुमध्ये कसको छोराले रक्सी चोर्यो त भन्ने प्रश्न उठ्ने नै भयो ।

लिङदेनको सचिवालय र प्रहरीलाई समेत उद्वृत गरेर केही मिडियाले सहमहामन्त्री महेन्द्र यादवका छोरालाई मुछे । तर, यादवका दुई छोरामध्य कान्छा विकासले एक भिडिओ वक्तत्व जारी गर्दै आफूहरुको संलग्नता अस्वीकार गरेका छन् । उनले आफ्नो दाइ आकाश भारतमा अध्ययनरत रहेको बताएका छन् र घटनामा आफ्नो संलग्नता देखिने प्रमाण ल्याउन चुनौति पनि दिएका छन् । तर, प्रमाण कसैले देखाउन सकेको छैन ।

आजै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभामा अध्यक्षको बचाउ प्रयास गरे । उनले कांग्रेस सांसदहरलाई लक्षित गर्दै ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचालेको’ आरोप लगाए ।

शाहीले भने, ‘हाम्रो अध्यक्षले सहमहामन्त्रीको छोराले रक्सी चोरेको भन्नुभयो, तर कसैको नाम लिनुभएको थिएन । चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाउँथ्यो रे, आज संसदमा त्यही भयो ।’

कांग्रेस सांसदहरुले भने कुनै तथ्य प्रमाणबिनै गरिमामय संसदमा राप्रपा अध्यक्षले दुष्प्रचार गरेको आरोप लगाएका छन् । कि आरोप पुष्टि गर्नुपर्ने कि माफी माग्नुपर्ने उनीहरुको भनाइ छ ।

राप्रपा अध्यक्ष लिङ्देन बेतुकका र हावादारी भाषण गरेर हिँड्ने नेता होइनन् । तर, यो प्रकरणमा उनी चुकेको दावी प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार कांग्रेसका कुनै पनि सहमहामन्त्रीका छोरा भाटभटेनी लुटपाटमा पक्राउ परेका छैनन् । बाहिर प्रचारमा आएजस्तो महेन्द्र यादवका दुवै छोराहरु यो घटनामा नमुछिएको स्रोतले बतायो । त्यसो भए लिङदेनले के आधारमा बोले त ?

खासमा लिङदेन भन्दा पहिल्यै एक सांसदले सोही आशयको अभिव्यक्ति दिएका थिए । उनी हुन्, कांग्रेस पृष्ठभूमिका स्वतन्त्र सांसद अमरेशकुमार सिंह । उनले एक अन्तरवार्तामा कांग्रेसका सहमहामन्त्री पुत्र भाटभटेनी लुटपाटमा पक्राउ परेको र गृहमन्त्रीको आदेशमा छुटेको दावी गरेका थिए ।

उनले भनेका छन्, ‘कांग्रेसको एकजना सहमहामन्त्रीको छोरा भाटभटेनी लुटमा थिए, उसले एक लाख ७० हजारको रक्सी लगेको थियो । उसले मेरो क्षेत्रको पनि एकजना केटालाई लगेको थियो, सेम थरको मान्छे थियो । कांग्रेसको गृहमन्त्री भएकाले रक्सी चोर्नेलाई चार दिनमै छोडिदियो । ४–५ हजारको सामान लगेको मेरो क्षेत्रको मान्छेलाई अहिलेसम्म छोडेको छैन ।’

प्रहरी स्रोतका अनुसार अमरेशको क्षेत्रका एक व्यक्ति लुटपाटमा पक्राउ परेको सत्य हो । तर नेपाल प्रेसले प्रहरी मार्फत बुझ्ने प्रयास गर्दा भाटभटेनी लुटपाटमा पक्राउ परेका कोही पनि व्यक्तिसँग कांग्रेस सहमहामन्त्रीको नाता खुलेन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उपलब्ध गराएको भाटभटेनी लुटपाटमा संलग्न २० जनाको सूचीभित्र दुई मधेसी छन् । तर, यादव कोही पनि छैनन् । सहमहामन्त्री यादव धनुषाका बासिन्दा हुन् । त्यसैले भाटभटेनी लुटपाटमा संलग्नमध्ये सोही जिल्लाको ढल्केबर घर भएका ३२ वर्षीय आशिककुमार महतो पो कतै यादवका नातेदार हुन् कि भनि बुझ्दा कुनै साइनो, सम्बन्ध खुलेन ।

काठमाडौं प्रहरीले धनुषास्थित जिल्ला प्रहरीमार्फत बुझ्न पठाउँदा भाटभटेनी लुटपाटमा संलग्न महतोलाई त्यहीँका मानिसले पनि त्यति राम्रोसँग चिन्दैन रहेछन् । उनी काठमाडौंमा कहिले कसैको घरमा रंग लगाउने त कसैको निर्माणाधीन घरमा ज्यालादारी ज्यामीका रुपमा काम गरेर जिविकोपार्जन गर्ने व्यक्ति हुन् ।

त्यसपछि अर्का सम्भावित व्यक्तिबारे प्रहरीले अध्ययन गर्दा त्यहाँबाट पनि कांग्रेस सहमहामन्त्रीसँगको सम्बन्ध पुष्टि भएन । ती सम्भावित व्यक्ति थिए, सर्लाहीको रामनगर गाउँपालिका– २ का ३२ वर्षीय गोविन्द राय । उनी पनि काठमाडौंमा मजदुरी गरेर जीवनयापन गरिरहेका सामान्य व्यक्ति हुन् । कुनै राजनीतिक दल वा व्यक्तिसँग उनको सीधै सम्बन्ध नभेटिएको प्रहरीले जनाएको छ ।

भाटभटेनी लुटपाटमा संलग्न रही प्रहरीद्वारा पक्राउ गरिएका यी दुईबाहेक अरु कांग्रेस सहमहामन्त्रीका नातेदार हुने सम्भावना नरहेका कारण बुझ्ने काम नभएको प्रहरीले जनाएको छ । उक्त घटनामा सप्तरीका दुई, रौतहट र बाराका १–१ जना पक्राउ त परेका छन् । आरोपको खोजी गर्ने क्रममा ती पनि सम्वद्ध पाइएनन् ।

बरु, लुटपाटमा संलग्न सर्लाहीका गोविन्द रायचाहिँ अमरेशको निर्वाचन क्षेत्रका बासिन्दा र मतदाता हुन् भन्ने कुरा खुलेको प्रहरीले जनाएको छ । अमरेशले सर्लाहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । राय त्यही क्षेत्रको रामनगर गाउँपालिका, वडा नं. २ का बासिन्दा हुन् । अमरेश आफूचाहिँ रामनगरकै छिमेकी गाउँ बलराका बासिन्दा हुन् । ती दुबै पालिकामा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसको बागी उम्मेदवार भएर अमरेशले चुनाव जितेका थिए ।

प्रहरीस्रोत भन्छ, ‘अमरेश माननीयज्यूसँग पनि ती व्यक्तिको नाता सम्बन्ध देखिँदैन, तर निर्वाचन क्षेत्र क्षेत्रका बासिन्दाचाहिँ पक्कै हुन् ।

भाटभटेनी काण्डमा पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले आपराधिक उपद्रव मुद्दामा म्याद थपेर अनुसन्धान गरेको थियो । तर कसुरको गाम्भीर्यता स्थापित नभएपछि पक्राउ परेको २० मध्ये सबै हाजिर जमानीमा छुटे ।

भाटभटेनीको घटनालाई लिएर यसअगाडि पनि भ्रामक खबरहरु बाहिरिएका थिए । शुरुमा भनियो, स्याउ चोर्ने व्यक्ति सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारी हुन् । भाटभटेनीमा स्याउ बोकेर हिँडिरहेका प्रोढ व्यक्तिसँग उनको अनुहार कता–कता मिल्थ्यो । तर, ती व्यक्ति अरु नै थिए ।

यसैबीच, प्रहरीले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीका छाेरा पक्राउ गरी बिना कारबाही छाेडिएकाे भन्ने समाचारप्रति ध्यानाकर्षण भएकाे जनाउँदै त्यस्ताे काेही व्यक्तिलाई पक्राउ नगरिएकाे जिल्ला प्रहरी परिसरले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.