काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टीका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधिएको दोहोर्याएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय छानबिन समितिको निष्कर्ष र सिफारिस विपरीत चार जिल्लामा फरक-फरक मुद्दा र कानून टेकेर मुद्दा लगाइएको दाबी गरे ।
उनले भने, ‘चितवनका मतदाताले अगाध विश्वासका साथ दिएको जिम्मेवारी निर्वाह गर्न नपाओस् भन्ने लागेरै होला, सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएर उहाँको सांसद पद निलम्बन गरियो ।
लोकतान्त्रिक राज्यले थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनेमा प्रोत्साहित गर्नुपर्ने हो । तर सरकार उहाँलाई जसरी पनि थुन्ने उद्देश्यमा लाग्यो ।’
उनले पार्टी सभापतिलाई चैत २२ गते प्रहरीले गरेको पक्राउ कानून विपरीत रहेको दाबी गरे । २२ गते पक्राउ गरेर २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले सभापति लामिछानेको दुई दिन तीन रातको हिरासत स्वतः अवैध भएको बताए ।
उनले सरकारले मुलुकमा परिवर्तन गर्न खोज्नेहरूलाई छानिछानी अवरोध सिर्जना गर्ने काम गरेको जिकिर गरे ।