काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरेको ४२ औं दिनमा प्रहरीले उनीमाथि तेस्रो अभियोग थपेको छ । रिहाइको माग बढ्दै गएको स्थितिमा आज उनलाई ‘आपराधिक उपद्रव’ को नयाँ पूर्जी थमाइयो ।
यसअघि प्रहरीले मिश्रमाथि राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर काठमाडौं जिल्ला अदालतसँग म्याद लिइरहेको थियो । छैटौंपटक म्याद थप्दा ४१ दिन गुज्रिएको छ । बयानसमेत भइसकेको र कुनै नयाँ प्रमाण फेला नपरेका कारण मिश्रलाई रिहाइ गर्न चौतर्फीरुपमा आवाज उठिरहँदा दवावमा परेको प्रहरीले उनको हिरासत बास लम्ब्याउन नयाँ अभियोगको तरवार तेस्र्याएको हो ।
आफूलाई तेस्रो अभियोग थपिएपछि मिश्र आज इजलासमा आक्रोशित सुनिए । उनले आफूलाई के गर्न खोजिएको हो भनेर बुझ्न नसकेको बताए । न्यायाधीशहरुप्रति पनि उनले गुनासो पोखे ।
मिश्रको अभिव्यक्तिको सार यस्तो छः
आज ४२ औं दिनमा आइपुग्दा राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगाइदिएको छ । हिजो ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका लगाएर हिँडाइएको थियो । आज आएर पूर्जी थमाएर आपराधिक उपद्रवको टिका लगाइदिएको छ । त्या टिका पुछ्ने अधिकार न्यायालयसँग हुन्छ भनेर मैले यहाँ आफ्नो कुरा राखिरहेको छु ।
यो के गरेको मैले बुझ्दै बुझिनँ । ठिक छ त्यहाँ घटना भयो, मलाई पक्रेर ल्याइयो, मलाई त्यसमा कुनै गुनासो छैन । त्यसपछि औचित्यहीनरुपमा बारम्बार म्याद थपिइरहेको छ । वैशाख २ गते मेरो बयान सकियो । मसित भएको फोन उहाँहरुसितै छ । मैले प्रमाण नष्ट गर्ने ठाउँ छैन । भाग्ने ठाउँ छैन । १० गतेको बहसमा न्यायाधीसले तीन दिनमा कि थप प्रमाण ल्याउ, होइन भने हाजिर जमानीमा छाड भन्ने किसिमको आदेश गर्नुभयो । मैले सोचेँ, त्यही हुन्छ होला ।
तीन दिनपछि १८ वटा बुँदा पेश गरियो, हामी यसो गर्दैछौं । यताबाट यो डिटेल्स माग्दैछौं, त्यो माग्दैछौं भनेर । ठिक छ गर्नुस न । तर, यसका लागि म हिरासतमा बस्नैपर्छ ? म बाहिर बस्दा उहाँहरुलाई केही कुराले अवरोध गराउँथ्यो ? फेरि ५ दिनको, फेरि सात दिनको म्याद थपियो । महिला श्रीमान भएकाले म आज फेरि दोहोर्याउँुछ । म मेरो ८१ वर्षको डिमेन्सीया भएको आमाको कसम खाएर फेरि भन्छु, मैले कुनै पनि राज्यविरुद्धको कसुर वा संगठित अपराध गरेको छैन ।
यसलाई पनि कसैले नसुन्दिने भए म जाने कहाँ ? म देश बनाउन भने हिँडेको मान्छे । म इमानको धरातलमा उभिएर काम गरेको मान्छे । मेरो पृष्ठभूमि हेर्दा हुन्छ । नाकै अगाडि अश्रुग्यास हानेपछि म आवेशमा आएँ होला, तर के मैले हिंसाजन्य काम गरेको छु ? हिंसाजन्य कुरा गरेको छु ? फलानो ठाउँ घेर्न जाउँ भनेको छु ?
यदि बोलेकै आधारमा हुन्थ्यो भने ‘ले ले खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काइदे’ भन्नेहरु अहिले सत्तामै छन् नि । बोलेकै आधारमा हुने भए त के के छन् छन् । तर, मैले कुनै पनि हिंसाजन्य काम नगर्दा पनि अपराधि उपद्रवको टिका लगाइदिने ?
श्रीमानहरु के भन्नुहुन्छ भने सामान्यतया सुरुवातको निर्णय परिवर्तन गर्न मिल्दैन । नहुने हो भने म्याद थपको नाटक किन ? बहसको चरित्रै परिवर्तन गरौं । यत्रो प्रहरीको स्रोत किन प्रयोग गर्नु ? यत्रो मान्छेलाई पाँच घन्टा किन राख्नु । फाइल ल्याएर हस्ताक्षर गराए भइहाल्यो । बहस गर्यो गर्यो, बेदना पोख्यो पोख्यो, लास्टमा गएर उही म्याद थप ।