Take a fresh look at your lifestyle.

आइपीएल : हैदरावाद र मुम्बईको म्याचमा फिक्सिङको आरोप, विवादमा मुछिए ईशान किसन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत अस्ति भएका सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सको म्याचमा फिक्सिङको आशंका गरिएको छ ।

हैदरावादका ब्याटर ईशान किसन फिक्सिङमा संलग्न भएको हुन सक्ने भन्दै फ्यानहरूले छानबिनको माग गरेका छन् । उक्त म्याचमा हैदरावादले पहिलो ब्याटिङ गरेको थियो र ओपनर ट्रभिस हेड शून्य रनमै पेभिलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा आएका किसन निकै अपत्यारिलो तरिकाले आउट भए । मुम्बईका दीपक चहरले फ्याकेको दोस्रो ओभरको पहिलो बलमा उनी स्वघोषितरुपमा आउट भएका हुन् ।

चहरले फ्याकेको लेन्थ बल लेगको दिशामा स्वीङ भएको थियो र किसनले त्यसलाई फाइन लेगको दिशा दिने प्रयास गरेका थिए । तर, उनी चुके । बलले न उनको ब्याटलाई छोयो न प्याडलाई । अम्पायरले वाइडको इशारा गरे । तर, सबैलाई चकित बनाउँदै किसन आफू आउट भएको मानेर लुइँलुइँ पेभिलियनतिर हिँडे ।

उनलाई मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ‘स्पोट्सम्यानसिप’ देखाएको भन्दै धाप मारे । ब्याटर नै आउट भएको स्वीकारोक्ति गरेर हिँडेपछि अघि वाइड दिएका अम्पायरले अल्मलिँदै आउटको इशारा गर्न बाध्य भए, जबकि टिभीमा समेत ‘वाइड’ को सिम्बोल आइसकेको थियो । अम्पायरको इशारा बदलिएसँगै टिभीको सिम्बोल पनि बदलिएर ‘विकेट’ लेखियो ।

उक्त बलमा किसन बिट हुँदा न बलर दीपक चहरले अपिल गरेका थिए, न विकेट किपर रिकेल्टोनले । अम्पायरले आउटको संकेत गर्दै बिस्तारै औँलो ठड्याएपछि चहरले यसो अपिल गरेजस्तो गरे । रिकेल्टोन भने मौन नै बसे । पछि स्किोमिटरबाट हेर्दा बलले ब्याट र प्याड दुवैमा नछोएको पुष्टि भयो ।

क्रिकेट खेलमा ब्याटरले अम्पायरभन्दा पहिल्यै आफूलाई आउट करार गरेका दृश्यहरू यदाकदा देखिने गर्छन् । आउट भएर पनि अम्पायरले दिएन भने ‘स्पोट्सम्यानसिप’ देखाएर आफैं पेभिलियन फर्किने तरिका हो यो । तर, किसनले जे गरे, त्यसलाई स्पोट्सम्यानसिप मान्न क्रिकेट विज्ञहरू तयार छैनन् । बलले आफ्नो ब्याटमा लागे–नलागेको सबैभन्दा बढी ब्याटरलाई नै थाहा हुन्छ ।

अम्पायरले वाइडको इशारा गर्दा अनि बलर र विकेटकिपरले आउटको अपिल नै नगर्दा किसनले कसरी आफूलाई आउट माने भन्ने प्रश्न उठेको छ ।

किसनको विकेट हैदरावादका लागि निकै महत्त्वपूर्ण थियो । उनी आउट भएपछि हैदरावादको ब्याटिङ कोल्याप्स भएको थियो र हेनरिच क्लासेनले जसोतसो सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । तर, म्याच हैदरावादले हार्‍यो ।

यो घटनालाई लिएर कतिपयले म्याच फिक्सिङको आरोप लगाएका हुन् । भारतका दिग्गज क्रिकेटर वीरेन्द्र शहवागले समेत यो घटनाप्रति सन्देह व्यक्त गरेका छन् ।

युट्युब र टिकटकमा थुप्रैले भिडिओहरू बनाएर यसबारे छानबिनको माग गरिरहेका छन् । तर, अहिलेसम्म ईशान किसनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Leave A Reply

Your email address will not be published.