काठमाडौं । हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ । बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो ।
१७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए । तर, अन्तिममा उनी चुके ।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहियो ।
नेपाली दर्शकले सेलिब्रेसन गर्न थालिसकेका थिए । तर, त्यसपछिका दुई बल डट खेलेर बसिर प्रेसरमा आए । तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट भए र नेपालको क्याम्प स्तब्ध बन्यो ।
आउट हुनुअघि बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेका थिए । उनलाई साथ दिँदै नन्दनले १४ बलमा ४ छक्का र दुई चौकासहित ३७ रन जोडे ।
बसिर र नन्दनले नवौं विकेटका लागि २८ रनमा ७२ रनको अविश्वसनीय साझेदारी भएको थियो । आश मारिसकेको अवस्थाबाट नेपाललाई ब्यूँताउँदै उनीहरुले बलियो स्थितिमा पुर्याएका थिए ।
१८.४ ओभरमा नन्दन आउट हुँदा नेपाल १६४ रन जोडेको थियो र जितका लागि ८ बलमा ११ रन चाहिएको थियो । अन्तिममा आएका ललित राजवंशीले १९ औं ओभरको छैटौं बलमा सिंगल रन लिने अवसर त्यागेका थिए, ताकि अन्तिम ओभरमा बसिर स्ट्राइकमा आउन सकिन् ।
अन्तिम ओभरमा बसिरले सिंगल नलिने रणनीति बनाए । जसअनुसार दोस्रो र तेस्रो बल डट हुन पुगेको थियो । एउटा बाउन्ड्री उनले निकालेको भए नेपालले एउटा अविस्मरणीय जित हासिल गर्ने थियो । तर, बसिर आउट भएसँगै नेपालको हार्ट ब्रेक भयो । कुवेतले तीन रनको जित दर्ता गर्यो ।
यसअघि पहिलो इनिङमा पनि नेपालले सुरुमा खराब बलिङ गर्दै पछि प्रभावशाली कमब्याक गरेको थियो । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले दुई–दुई विकेट लिए ।
कुवेतले पावर प्लेका ६ ओभरमा नै ७१ रन जोडेर विष्फोटक सुरुवात गरेको थियो । त्यसपछि लगातार विकेट लिँदै नेपालले कुवेतलाई १७४ रनमा रोक्न सफल भयो, जुन यो पिचमा धेरै कठिन लक्ष्य थिएन । तर, नेपालका प्रमुख ब्याटरहरुले विर्सनलायक ब्याटिङ गरे ।
नेपालले २४ रनमा पहिलो विकेटका रुपमा इन फर्म कुशल भुर्तेललाई गुमाएको थियो । उनले ७ बलमा ३ रन मात्रै जोड्न सके । आसिफ सेखले केही सुन्दर सटहरु खेल्दै १४ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि आएका कप्तान रोहित पौडेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी क्रमशः ७, शून्य र शून्य रनमा आउट भएसँगै नेपालको ब्याटिङ धराशयी बनेको थियो ।