सिन्धुपाल्चोक । चैत ५ गते देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको थियो । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको चौतारा क्याम्पसमा पनि स्ववियु निर्वाचन हुँदै थियो । सत्ता गठबन्धनका कांग्रेस र एमालेका विद्यार्थी संगठनको प्यानल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थीको गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।
शान्तिपूर्वक रुपमा निर्वाचन हुँदै गर्दा क्रान्तिकारीले नक्कली विद्यार्थीलाई लगेर मतदानमा सहभागी गराउन खोजेपछि सत्ता गठबन्धनका विद्यार्थीहरूले त्यसलाई रोक्न खोजेका थिए । सत्ता गठबन्धनका विद्यार्थी संगठनबाट सभापतिका प्रत्याशी सुशील तामाङ र समानुपातिकबाट सदस्यको उम्मेदवार एवं पत्रकार महासंघ कार्यसमिति सदस्य प्रमीला विकले मतपेटिकामा लात्तीले हानेपछि अवस्था तनावग्रस्त भएको थियो । तत्काल मतदान प्रक्रिया स्थगित भयो भने नक्कली मतदाता र मतपेटिकामा लात्तीले हान्ने विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मतदानको दिन दिनभर चौतारा बहुमुखी क्याम्पसको गेट अगाडिको माहोल अशान्त बन्यो । क्रान्तिकारीका उम्मेदवार अमृत श्रेष्ठले ल्याएको नक्कली मतदाता पहिचान भएपछि विवाद सुरु भएको थियो । त्यसबीच आफूले फर्जी मत हाल्न नक्कली मतदाता ल्याएको क्रान्तिकारीका उम्मेदवार श्रेष्ठले क्याम्पस परिसरमै गल्ती स्वीकार समेत गरेका थिए ।
राजनीति दलहरूका नेताहरू बिच सहमति भएपछि नक्कली मतदाता र मतपेटिकामा लात्ती प्रहार गर्ने विद्यार्थीहरूलाई सोही दिन अबेर प्रहरीले छाडेको थियो । प्रहरीले मतपेटिका शील गरेर सुरक्षित सँग जिल्ला प्रहरी कार्यालयमा नै राखेको छ ।
राजनीतिक दलका नेताहरू बिच छलफल हुँदै गर्दा केही दिनपछि अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेपछि एक महिना यता विद्यार्थी संगठन,राजनीतिक दल र क्याम्पसले स्ववियुको विवादित विषय समाधानका लागि कुनै गृह कार्य नै गरेको छैन ।
क्याम्पस प्रशासनले स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य अगाडि नबढाएको विरोधमा क्रान्तिकारी विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका थिए । तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका फर्निचर, कम्प्युटर लगायतका सामानमा क्षति पुगेको छ। झ्यालको सिसाहरू फुटाएका छन् भने फूलको गमला सबै फुटाएर क्याम्पस नै अस्तव्यस्त बनाएका थिए ।
दलहरूको हस्तक्षेप, निरीह क्याम्पस प्रशासन
विद्यार्थी संगठनहरु बिच निर्वाचन भए पनि चौतारा क्याम्पसको स्ववियु निर्वाचन भने प्रमुख तिन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी बिच प्रतिष्ठाको लडाई नै भएकाले पनि तत्कालै सहमति हुने सम्भावना देखिएको छैन ।
चौतारा क्याम्पसमा माओवादी आफ्नो विरासत जोगाउन चाहन्छ भने एमाले र कांग्रेस माओवादीको विरासत भत्काउन खोजिरहेको छ । त्यही भएर स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमालेका विद्यार्थी संगठनबिच गठबन्धन भएको थियो ।
निर्वाचन प्रक्रिया स्थगित भएपछि त्यसको केही समय पछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै पक्षलाई राखेर छलफल गराउन खोजेका थिए । तर थापालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले धम्कीपूर्ण चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी थापाले छलफलको अग्रसरता नै लिएनन् ।
चौतारा क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल भने यो आफूहरूको भन्दा राजनीतिक सवाल भएकाले राजनीतिक दलहरू बिच छलफल गरेर पछि मात्रै आफूहरू निकासा दिन सक्ने पक्षमा रहेको बताए । केही दिन पछि क्याम्पस सञ्चालक समितिको बैठक बस्छ,होला त्यसपछि के गर्ने निर्णय होला दंगालले भने ।
सत्ता गठबन्धनबाट सभापतिका उम्मेदवार भएका एमाले निकट अनेरास्ववियु का सुशील श्रेष्ठ लगायत प्यानले नै हार्ने देखेपछि पूर्वसासंद एवं एमाले केन्द्रीय सदस्य सुवास कर्माचार्यले विद्यार्थी नेताहरूलाई मतपेटिकामा लात्ती हानेर फालिदिन निर्देशन दिएको माओवादीको आरोप छ । तर एमालेका नेताहरू भने यो स्वीकार्न तयार छैनन् एमालेका एक नेता भन्छन्- क्रान्तिकारीले हार्ने निश्चित भएपछि नक्कली मतदाता लगेपछि अहिलेको अवस्था सिर्जना भएको हो।
चौतारा क्याम्पसका पूर्व स्ववियु सभापति एवं क्रान्तिकारी विद्यार्थीका नेता मिलन तामाङ भने क्याम्पस सञ्चालक समितिको गैरजिम्मेवारीका कारण चौतारा क्याम्पसमा समस्या भएको बताउँछन् । ‘विद्यार्थीले आफ्नो प्रतिनिधि छनोटका लागि मत दिइएको एक महिना भइसक्यो, मतेपेटिका प्रहरी कार्यालयमा छ, क्याम्पस प्रशासनले कुनै चासो गर्दैन’, लामाले भने ।
आफूहरू नयाँ मतदान,रोकिएको मतदान गर्न वा अहिले भएको मतपेटिका मतगणना गर्न समेत तयार भए पनि क्याम्पस प्रशासनले कुनै चासो नदिएको लामाको भनाई छ ।