चितवन । नेपाली समाजमा महिलाका अवस्थालाई लिएर सधैँ चिन्ता र चिन्तनको विषय छ महिलाका समतामूलक सहभागिता कसरी अभिवृद्धि गर्ने ? तर, पछिल्लो दशकमा नेपाली महिलाले अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्वका साथै उपस्थिति पनि बलियो बनाउन थालेका छन् ।
नेपालको राष्ट्रपति हुँदा विद्यादेवी भण्डारी सन् २०१६ मा फोब्र्सको विश्वका प्रभावशाली महिलाको सूचीमा समावेश भएकी थिइन् । जबकी छिमेकी देश भारतकी प्रभावशाली नेता मानिने सोनिया गान्धीले कुनै उपाधि पाएकी थिइनन् ।
नेपालको राष्ट्रपति पद सेरोमोनियल भएपनि भण्डारीलाई निर्वाचित गराउने राजनीतिक दल र नेपालको महिलाको राजनीतिमा सहभागिता गराउन नेतृत्वदायी भूमिका खेल्ने नेतृत्वको रूपमा विश्वका एक सय जनामध्ये ५२ औँमा अटाएकी थिइन् तत्कालीन राष्ट्रपति भण्डारी ।
राजनीतिक क्षेत्रबाट मात्रै होइन सामाजिक क्षेत्रबाट पनि नेपाली महिलाहरूले बलियो प्रभाव अन्तर्राष्ट्रिय मञ्जमा पार्न सफल भएका छन् । सामाजिक क्षेत्रकै प्रतिनिधित्व गर्ने बन्दना राणा महिला विरुद्धको सबैखाले विभेद अन्त्य गर्ने सिड कमिटीमा लगातार तेस्रो कार्याकाल निर्वाचित उपाध्यक्षको भूमिका निभाइरहेकी छिन् । सिड कमिटीमा नै काम गर्ने पहिलो नेपाली महिला हुन् उनी ।
अघिल्लो पुस्ताका महिलाहरू त राजनीति तथा सामाजिक क्षेत्र हुँदै अन्तर्राष्ट्रिय मञ्चमा सहभागि हुने मौका पाएका देखिन्छन् । तर, पछिल्लो समय नयाँ पुस्ताले पनि आफ्नो नेतृत्वदायी क्षमता विश्व मञ्चमा देखाउन थालेका छन् ।
नेपालको माथिल्लो राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर-व्यवस्थापिका सङ्घ (आईपीयू) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रबाट नेपाललाई पहिलोपटक उपस्थिती गराएकी छन् । अझ शाक्यको उपस्थित निर्वाचित हो । माल्दिभ्स र इरानबाट परेको उम्मेदवारीमा ३६ देशका सभामुखको समर्थन पाएर उनी निर्वाचित भएकी हुन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्टमा गत चैत महिनामा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । पूर्व राजदूत समेत रहेकी शाक्य नेकपा एमालेको विदेश मामिला विभागकी सचिवसमेत हुन् ।
पटक-पटक विवादमा परिरहने काठमाडौं महानगरका मेयर बालेन साहका अपरिपक्व निर्णय सच्याउँदै महानगरलाई गति दिएर अभिभावक बनिरहेकी युवा नेता तथा उपमेयर सुनिता डंगोलले पनि आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानपूर्वक उभ्याएकी छिन् ।
उनी वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा समेटिएकी हुन् । फोरमले विश्वका फरकफरक विधाका युवालाई उनीहरूको कार्यदक्षताका आधारमा समेट्ने गर्छ । डंगोलको नाम उक्त सूचीमा समावेश हुनुमा फोरमले सुनिताले मिस नेवाको उपाधि जितेकोदेखि नेपालका ७५३ पालिकामा सबैभन्दा ठूलो मतान्तरले काठमाडौंको उपमेयरमा निर्वाचित भएको विषयलाई पनि आधारका रूपमा प्रस्तुत गरिएको छ ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपमेयर उम्मेदवार भएर विपक्षीलाई तीन गुणाभन्दा बढी मतान्तरले हराएर जीत हासिल गरेकी थिइन् । निर्वाचित भएपछि पनि महानगरको काम अघि बढाउन अभिभावकीय र प्रभावकारी भूमिका प्रदान गर्दै आएकी छिन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रत्यक्ष निर्वाचित युवा सांसद सोविता गौतम पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्दैछिन् । उनले अन्तर्राष्ट्रिय संसदस्य संघ (आईपीयू) को स्वास्थ्य समितिको सदस्य बन्न उम्मेदवार बनेकी छन् । नेपालबाट अन्तर्राष्ट्रियरूपमा स्वास्थ्य क्षेत्रको राजनीतिक विधाबाट प्रतिनिधत्व गर्ने यो अवसर सांसद गौतमले पहिलोपटक पाएकी हुन् । युवा सांसद गौतम निर्वाचित भइन् भने पहिलोपटक अन्तर्राष्ट्रिय फोरममा नेपाली युवा त्यसमाथि महिला नेतृत्वको पहिलो सहभागिता हुनेछ ।
त्यतिमात्रै होइन विज्ञान, सामाजिक काम लगायतका क्षेत्रबाट नेपाली महिलाहरुले विभिन्न विश्व मञ्चमा आफूलाई प्रभावशालीरूपमा उभ्याउँदै आएका अन्य उदाहरण पनि छन् ।
अघिल्लो वर्ष अर्थात् सन् २००४ मा बीबीसीले समेटेको एक सय प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य परेकी थिइन् । नेपालको पर्यावरण र वातावरणीय क्षेत्र जोगाउन क्रियाशील शिलशिलाले प्लाष्टिकको पुनः प्रयोगका लागि नेटवर्क सञ्चालन गर्दै आएकी छिन् ।
उनले फोहोर व्यवस्थापनका लागि सीमान्त क्षेत्रका व्यक्तिलाई सहभागी तथा रोजगारीमा सहयोग गर्दै आएकी छिन् ।
यसरी नेपालमार्फत विश्वका मञ्चहरूमा महिलाको सहभागिता राजनीति, समाज, पर्यावरण लगायतका बहुक्षेत्रबाट हुँदै आउनुलाई अभियन्ता तथा अनुसन्धाता रिता शाह नेपाली महिलाको अन्तर्राष्ट्रिय मञ्चमा नै उठेका साखको रूपमा लिन्छिन् । उनको विचार महिलाका विषय स्थानीय, राज्य हुँदै अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याउन जरुरी छ ।
नेपाली महिलाले पछिल्लो दशकमा प्राप्त गरेको अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागिताको उपलब्धि नेपाली महिलाका विषयलाई ती मञ्चहरूसम्म पुर्याउने अवसरका रूपमा उनले लिएकी छन् ।
यो उपलब्धि हो, साह भन्छिन्, ‘यी उपलब्धिलाई दीगो विकासको लक्ष्यसँग जोडेर लैँगिक समता स्थापित गर्न नेपाली महिलाहरूले लाग्न जरुरी छ ।’
त्यसैगरी एकल महिलाको आवाजमा स्थापना कालदेखि नै आवाज उठाउँदै आएकी हाल राष्ट्रिय मावअधिकार आयोगकी सदस्य समेत रहेकी लिली थापा पछिल्लो समय नेपाली महिलाहरुलाई अन्तर्राष्ट्रिय जगतले मान्न थाल्नुको पछाडि लामो महिला आन्दोलनको उपलब्धी हो भन्छिन् ।
उहाँहरूले प्राप्त गर्नुभएको उपलब्धी हाम्रा लागि पनि गौरवको विषय हो । थापा भन्छिन्, ‘लामो समयदेखिको महिलाका क्षेत्रमा सहभागिताका लागि नीति निर्माण, समताको लागि आन्दोलनहरूले आज हामीलाई सुखद नतिजा दिएको छ ।’
उनका अनुसार तत्काल अन्तर्राष्ट्रिय जगतले मानेका युवा नेतृत्वहरूले काम गरेर देखाउने अवसर पनि पाएका छन् । अग्रजहरूले गरेका आन्दोलनबाट प्राप्त गरेको उपलब्धीलाई अब परिणाममा देखाउनुपर्ने उनले धारणा राखिन् ।