धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी ‘टिम ११ संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता’ अन्तर्गत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो । सायलका अभिषेक कोइरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दीप कार्की र कैलाश माझिले समान २\२ विकेल लिए ।
एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टिम धनगढी १६.१ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । धनगढीका लभ माझीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कमजोर रह्यो । सायलका किरण चन्दले ३ तथा अभिषेक कोइरालाले २ विकेट हात पारे ।
प्रतियोगिता अन्तरगत आइतबार उत्तर त्रशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ सेन्टर र सायल गाउँपालिकाबीच खेल हुनेछ । शनिबार बिहानको खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल वेष्टन र टिम वेतालले १\१ अङ्क बाँडेका थिए ।
प्रतियोगिता विजेतालाई १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट बलर, ब्याटर, र राइजिङ प्लेयरलाई ३ हजार ५ सय ५५ रुपैयाँ र प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।
प्रतियोगिताका संयोजक रामचन्द्र शाही प्रतियोगिताले यहाँको क्रिकेटलाई अझै माथि उठाउन मद्दत गरेको बताउँछन् । शाहीले धनगढीमा विगत १० वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन्। ग्रास रुटबाट क्रिकेटको विकासमा उनी लागि परेका छन्।