Take a fresh look at your lifestyle.

प्रचण्डको ‘ब्ल्यांक चेक’ मा देउवालाई छैन भर- ओलीसँगै सहकार्यको रहर

काठमाडौं । एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति एकपछि अर्को गर्दै कांग्रेसका नेताहरू सार्वजनिक वितृष्णा पोख्न थालेका छन् ।

उच्चस्तरीय संयन्त्रमै रहेर काम गरेका र सरकारलाई सफल बनाउन सुरूआती दिनमा निकै खटिएका कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा नै आलोचनामा उत्रिएपछि संशय बढेको हो । कांग्रेस नेताहरूले सरकारको विरोध गर्न थालेपछि गठबन्धनको आयुमा नै प्रश्न उठ्न थालेको छ । तर, कांग्रेस-एमाले दुवै दलका नेताहरू गठबन्धन सहमतिअनुसार पूरा कार्यकाल चल्ने दाबी गर्दै आइरहेका छन् ।

कांग्रेस महामन्त्री थापाले तीन-चार दिनदेखि लगातार सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई तारो बनाइरहेका छन् । एक भाषणमा उनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको गम्भीर आरोप लगाए । आज फेरि आफ्नो पार्टीमा ‘बाको शासन नरहेको’ भन्दै ओलीलाई कटाक्ष गरे । संयन्त्रले दिएको सुझाव सरकारले नसुनेको उनको निरन्तर गुनासो छ ।

महामन्त्री थापाले विगतमा सरकारलाई सफल बनाउन लागिपरेको तर आफूहरू अब ‘राम राम’ भन्ने खालको स्थितिमा पुगिसकेको समेत बताएका छन् ।

बौद्धिक पेसाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न, तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु भनेर व्यक्तिगतरूपमा जोखिम उठाउन तयार भएको हो । गाली खान तयार भएर शुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति थियो, तर सरकार ट्याक्टरको गतिमा छ ।’

गगनलगत्तै विश्वप्रकाशले पनि सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाउनुपर्ने ७ कारण बुधबार सार्वजनिक गरे । कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला ओली सरकारप्रति अगाडिदेखि नै रुष्ट सुनिन्छन् । कोइरालाको असन्तुष्टि ओली सरकार गठन भएदेखि नै हो । उनीनिकट अधिकांश नेताले ठूलो दल भएर पनि अहिलेसम्म सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।

बालुवाटारमा बुधबार बेलुका बसेको उच्चस्तरीय संयन्त्रको बैठक ।

कोइरालाले शनिबार पनि एक कार्यक्रममा सभापति शेबहादुर देउवाकै अघि कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी गरे ।

उनले भनेका थिए, ‘कांग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ, किनभने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ ।’

सरकारको गलत क्रियाकलापलाई गलत भन्न नसके कांग्रेसलाई अफ्ठ्यारोमा पर्ने उनको भनाइ छ । उनी सरकारले संविधान पुनरावलोकन, भ्रष्टाचारविरुद्ध कदम चाल्न नसकेको भन्दै आक्रोशित सुनिँदै आइरहेका छन् । कोइरालाको अभिव्यक्तिपछि देउवाले पनि सांकेतिकरूपमा समर्थन जनाएका थिए, जसले एमालेवृत्तमा तरंग नै ल्याइदियो ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबारको भेटपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्यो । तर, सरकारविरुद्ध ‘आगो’ ओकलिरहेका महामन्त्री थापा पूर्वनिर्धारित हिजोको बैठकमा सहभागी भएनन् ।

उनी बाराबाट बैठक सुरु हुनेबेलामा काठमाडौं आइपुगिसकेको भएपनि बालुवाटारतिर फर्किएनन् । बारामा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सरकारले नगर्नुपर्ने काम धेरै गरिरहेकाले गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका टिप्पणी गरेका थिए । हिजोको बैठकमा महामन्त्री थापामात्रै होइनन् उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी भएनन् ।

कांग्रेसभित्र असन्तुष्टि चर्किरहेको बेला गृहमन्त्री रमेश लेखकले सरकार सञ्चालनमा कुनै समस्या नभएको र सरकार ढल्ने कुनै सम्भावना नहरेको बताए । उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै असन्तुष्ट नेताहरुलाई भाषण नभइ सरकारको काम तथ्यांकमा हेर्न आग्रह गरे ।

उनले भने, ‘नेताहरू आ-आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा टिप्पणी मेरो केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ । परिणामले देखाएको छ, राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’

देउवालाई प्रचण्डको ब्ल्यांक चेक

कांग्रेसभित्र असन्तुष्टि चर्किरहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नयाँ सरकार बन्ने दाबी गरिदिए । प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको सार्वजनिकरूपमै भनिसकेका छन् ।

कांग्रेसले चाहेमा सरकारबाहिर बसेर वा सहभागी भएर सघाउन तयार रहेको भन्दै प्रचण्डले शेरबहादुर देउवालाई खाली चेक दिएका छन् । अब त्यो खाली चेकमा के कति भर्ने देउवालाई छुट छ ।

प्रचण्डको अहिको मूल लक्ष्य हो ओली सरकार ढाल्नु । ओलीले आफूसँगको सहमति तोडेर देउवासँग काँध मिलाएयता प्रचण्ड रुष्ट छन् । यद्यपि, कांग्रेससँग सधैँ नरम ।

आइतबार चितवन पुगेर प्रचण्डले भनेका थिए, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर, परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ, नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’

प्रचण्डले देउवा तयार भए सरकारबाहिरै बसेर भए पनि समर्थन गर्ने सन्देश बूढानीलकण्ठ पुर्‍याइसकेका छन् । तर, यसअघि नै प्रचण्डबाट पटक-पटक धोका पाइसकेकाले देउवाले विश्वास गर्ने आधार देखेका छैनन् ।

प्रचण्डको प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत हुने निश्चित छ, किनकी ओलीसँग नेपालको अझै पानी बाराबारको स्थिति छ । त्यसैले प्रचण्डको प्रस्तावमा विश्वास गरे देउवालाई तत्काल प्रधानमन्त्री बन्ने मौका छ । तर, प्रचण्डको विगत हेर्दा र माधवले आलोपालोको अत्तो थापेको सम्झिँदा देउवा ढुक्क बन्न सक्दैनन् ।

प्रचण्डको प्रस्तावअनुसार देउवालाई प्रधानमन्त्री बन्न रवि लामिछाने नेतृत्वको रास्वपा र राजा ल्याउन आन्दोलनरत राप्रपालाई बाहिर राखेर पनि पर्याप्त संख्या पुग्छ । कांग्रेसका ८८, माओवादीका ३२, नेकपा एसका १० र लोसपाको ४ गर्दा नै १३४ जना सांसद हुन्छन् । देउवाले आँटे त्यसमा जसपाको एउटा फग्लेटो सामेल हुने निश्चित हुन्छ ।

७ सांसद रहेका अशोक राई नेतृत्वको जसपा ओलीसँग नजिक रहे पनि उपेन्द्र नेतृत्वको जसपा नेपाल ओली सरकारसँग चर्को असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ । उसले सरकारलाई समर्थन गरेको भएपनि अहिलेसम्म केही पाएको छैन । यो अवस्थामा देउवा प्रधानमन्त्री बन्ने परिस्थिति हुँदा यादवले सहजै स्वीकार्ने छन् । उनीसँग ५ सांसद छन् । जुन देउवालाई प्रधानमन्त्री बन्न पर्याप्त गणित हो । त्यसमा रञ्जिता चौधरी नेतृत्वको नाउपा र सीके राउन नेतृत्वको जनमत पनि जसको सरकार बन्यो उतै जाने जमात हुन् । जनमतसँग ६ र नाउपासँग ४ सांसद छन् । उनीहरूले पनि देउवा प्रधानमन्त्रीको रुपमा अघि बढे सघाउँछन् नै ।

अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै कांग्रेसलाई सघाउन तयार रहेको बताए पनि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पार्टीभित्र औपचारिक छलफल नभएको दाबी गर्छन् ।

उनले भने, ‘अध्यक्षले कांग्रेसको हातमा छ, कांग्रेसले निकास दिनुपर्छ भन्नुभएको छ । हाम्रो तहबाट कांग्रेससँग कुनै छलफल भएको छैन । नेतृत्व तहमा भएको कुराकानीबारे जानकारी भएन ।’

तर, माओवादीका एक पदाधिकारी कांग्रेसभित्रको असन्तुष्टिमा अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति आउनुलाई स्वभाविकरूपमा लिन्छन् ।

ती नेताले भने, ‘कांग्रेसभित्र पनि अहिले सरकारप्रति असन्तुष्टि छ । त्यही असन्तुष्टिलाई लिएर अध्यक्षले अभिव्यक्ति आएको हो । कांग्रेसका शीर्ष तहसँग नभए पनि दोस्रो तहका नेताहरूसँग त छलफल हुनु स्वभाविक छ । तर यसले आकार लिइसकेको जस्तो बुझेका छैनौं ।’

उनले संसदीय राजनीतिमा विपक्षीले सत्तापक्षको असन्तुष्टिमा भित्रभित्रै खेज्नु स्वभाविक भएको तर्क गरे । सरकारप्रति कांग्रेसभित्र मात्रै नभइ एमालेमा पनि भित्र उकुसमुकुस रहेको उनले दाबी गरे ।

यसरी बन्दैछ देउवाको अनुकूल वातावरण

कांग्रेसमा यो कुरा प्रष्ट हो, अरु नेताहरूले जति धेरै सरकारको विरोध गरेपनि देउवाले नचाहेसम्म केही हुँदैन । आजको मितिमा देउवाले चाहेमा तत्कालै प्रधानमन्त्री बन्न सक्छन, जुन सुविधा र मौका अन्य दल र स्वयं कांग्रेसकै अरु नेतालाई छैन ।

भूराजनीतिक अनुकूलता पनि देउवालाई छ । ओलीलाई प्रधानमन्त्री बनाएको भारतले पटक्कै रुचाएको छैन भन्ने कुरा एक वर्ष पुग्न लाग्दा पनि भ्रमणको निम्तो नदिनुले प्रष्ट हुन्छ । उनले चीनको भ्रमण गरिसके । दुईपटक मोदीसँग साइडलाइन भेटघाट भएपनि त्यो नेपालकै पहलमा हो ।

आन्तरिक राजनीतिमा पनि ओलीको लोकिप्रयताको ग्राफ बिस्तारै घट्दै गएको विश्लेषण भइरहेको छ । राजावादी, बालेनवादी, रविवादीदेखि सत्तारुढ कांग्रेसकै एउटा समूह र एमालेबाहेकका सबै कम्युनिष्ट पार्टीहरू उनको विपक्षमा छन् । दुई ठूला दल मिल्दा पनि केही भएन भन्ने भाष्य जबरजस्त स्थापित हुँदैछ ।

यसरी सबै वातावरण आफू अनुकूल बन्दा पनि देउवालाई डर छ, जुनसुकै बेलामा कम्युनिष्टहरू मिल्न सक्छन् । देउवाले विगतमा कम्युनिष्टहरू मिल्दाको तीतो बिर्सिएका छैनन् । त्यसैले देउवा ०८३ असारसम्म कुर्न तयार रहेको हुनसक्ने विश्लेषण हुने गरेको छ । प्रचण्डसँगको पछिल्लो सहकार्य र उनको उत्ताउलोपनबाट देउवा झस्किएका छन् ।

ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव लिएर शीतल निवास जानुअघि देउवा र ओली ।

देउवाको अरु जे-जे कमीकमजोरी भए पनि उनी राजनीतिक इमान अलि बेसी भएका नेताका रूपमा चिनिन्छन् । अन्य दलहरूसँग गरेको समझदारी र सहमतिलाई सहजै तोड्न चाहँदैनन् । त्यसैले पनि उनी एमालेलाई धोका दिएर प्रचण्डको ललिलपपमा नलोभिने विश्लेषण एकथरिको छ । साथै, देउवाकी धर्मपत्नी आरजु राणा वर्तमान सरकारमा महत्वपूर्ण पोर्टफोलियोमा छिन् । त्यसले गर्दा पनि सरकार ढालिहाल्न उनलाई त्यति जाँगर छैन ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरूले जनाएको असन्तुष्टि सरकारको विकल्प खोज्ने खालको नभएको बताउँछन् ।

उनले भने, ‘उहाँहरूले सरकारको विकल्प खोज्नेगरी असन्तुष्टि व्यक्त गर्नुभएको होइन । सरकारको कार्यशैली सुधारको लागि हाम्रो गुनासो र सुझाव पनि हो ।’

उनले प्रचण्डबाट प्रस्ताव आउनुलाई स्वाभाविक रूपमा लिएको बताए ।

विश्वकर्माले थपे, ‘हामी ०८१ असार १७ गतेको समझदारीमा प्रतिबद्ध छौं । अहिले सरकारको विकल्प खोज्ने पक्षमा छैनौं । सरकारको कार्यशैली थप सुधार आवश्यक छ भन्ने महसुस गरेका हुनाले, अहिले देखिएको समस्या यही सरकारबाटै समाधान सम्भव बनाउने भनेर लागेका छौं ।’

प्रचण्डको प्रस्ताव औपचारिकरूपमा बूढानीलकण्ठसम्म नआएको उनले बताए ।

‘अहिलेसम्म त्यस्तो कुनै औपचारिक प्रस्ताव आएको छैन । हाम्रो सभापतिको जोसँग सहकार्य गर्ने हो त्यसैमा प्रतिबद्ध हुने बानी छ । हिजो प्रचण्डसँग सहकार्य हुँदा ओलीसँग गोप्य कुनै वार्ता सम्झौता गर्नुभएन र अहिले ओलीसँगको सहकार्यमा हुँदा प्रचण्डसँगको सहकार्यको प्रस्तावलाई उहाँले सुन्नुभएको छैन ।’

यहीबीच प्रधानमन्त्री ओली र देउवाबीच मंगलबार बालुवाटारमा एक घण्टा वार्ता हुँदा एमालेजनले अलिकति सन्तोषको सास फेरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार यो भेट दुई नेताबीचको नियमित हो ।

उनले भने, ‘सहकार्यको विषयमा बाहिर चलेको हल्लामा कुनै सत्यता छैन । उहाँहरू सहमतिमा प्रतिबद्ध हुनुहुन्छ ।’

‘कांग्रेसले चाहेकै दिन सरकारको नेतृत्व लिनसक्छ’

शेखरनिकट रहेका सांसद सञ्जय गौतमले सरकारबाट सन्तुष्ट हुने अहिलेसम्म कुनै काम नभएको टिप्पणी गरे ।

उनले भने, ‘हामी टेक्निकल्ली सरकारमा छौं । तर, सरकारमा भएको अनुभूति गर्न पाएका छैनौं । जुन उद्देश्यको लागि यो सरकार गठन भएको हो, त्यो अनुसार काम अघि बढ्न सकेको छैन । संविधान संशोधन, सुशासनलगायतको मुद्दा अहिले जहाँको त्यहीँ छ ।’

उनले अहिले सरकार बनाउनको लागि मात्रै एमाले र कांग्रेस मिलेको जस्तो देखिएको टिप्पणी गरे ।

गौतमले थपे, ‘आम जनता पनि यो सरकारप्रति सन्तुष्ट छैनन् । सरकारले त्यो फिल गर्नुपर्‍यो । संयन्त्रले पनि त्यही अनुसारको काम गर्नुपर्‍यो । हामीले सरकारको विरोध गरेको त होइन, तर कार्यशैलीप्रति आम जनताको गुनासो छ, त्यही कुरा हामीले पनि बोलिरहेका छौं । अहिले शीर्ष तहबाट पनि आउन थालेको छ । शेखर दाइले त सुरूदेखि नै भन्दै आउनुभएको कुरा हो ।’

उनले सरकारको ध्यान मुलुकको स्थिरता कायम कसरी गर्न सकिन्छ, संविधान संशोधन कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

नेता गौतम ।

गौतमले थपे, ‘सरकारको नेतृत्व गर्नु र प्रधानमन्त्री बन्नुमात्रै ठूलो कुरा होइन नि । मुलुकलाई स्थिरता दिन्छौं, संविधान संशोधन गर्छौँ भनेपछि दुई तिहाई चाहिन्छ भनेका हौं । मैले सदनमै राष्ट्रिय सरकारको प्रस्ताव पनि राखेको हुँ । तर, यो विषयमा सरकारले पहल त गर्नुपर्‍यो भन्ने हाम्रो माग हो ।’

एकातिर संविधान संशोधनको काम नै प्रारम्भ नगर्ने अर्कोतिर सुशासनको प्रत्याभूति नै गराउन नसक्ने भएपछि बिस्तारै आक्रोश बढ्दै जाँदा व्यवस्थालाई नै असर गर्ने भएकाले सरकारमा बस्नेहरूले सोच्नुपर्ने उनले बताए ।

कांग्रेसका अर्का एक नेताले चाहेकै दिन सरकारको नेतृत्व लिने परिस्थिति बन्दै गइरहेको दाबी गरे ।

ती नेताले नेपाल प्रेससँग भने, ‘कांग्रेसले सरकारको नेतृत्व जुनुसुकै बेलामा लिनसक्छ, माओवादीले हामी सरकारमा नगए पनि सहयोग गर्छौ, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाओस् भनिरहेकै छ । आफ्नो नेतृत्वमा सरकार बनाउनु कांग्रेसका लागि ठूलो कुरा होइन ।’

राजनीतिमा हरेक कुराको सम्भावना हुने तर्क गर्दै ती नेताले थपे, ‘राजनीति सम्भावना खेल हो । हाम्रो पाटोबाट अहिले नेतृत्व लिने त्यो प्रयास भएको छैन । सम्भावनालाई इन्कार गर्न पनि सकिँदैन । हामीले औपचारिक छलफल गरिसकेका छैनौं, तर माओवादीबाट वारम्बार प्रस्ताव आइरहेको कुरा लुकेको छैन ।’

उनले कांग्रेसले ठूलो दलको भएर अहिलेसम्म नेतृत्व लिन नसकेको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेको सुनाए ।

ती नेताले थपे, ‘माओवादी त्यो कुरामा क्लियर छ । माओवादी कांग्रेसको नेतृत्वमा सरकार बनोस् भन्नेमा छ । माओवादीले भनेझैं सरकार बनाउनकै लागि दुई ठूला पार्टीको सहकार्य अप्राकृतिक नै हो । दुईटा ठूला पार्टी मिलेर सरकार बनाउने कुरा त प्राकृतिक हुँदै होइन ।’

एमाले भन्छ- प्रचण्डको छटपटी र कुण्ठा

कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढिरहेको बेलामा सोमबार बसेको सचिवालय बैठकमा पनि यसबारे छलफल भएको थियो । तर, प्रधानमन्त्री ओलीले केही नेताहरूले असन्तुष्टि जनाए पनि सभापति देउवा प्रतिबद्ध रहेको ब्रिफिङ गरेका थिए ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिलाई सकारात्मकरूपमा लिएको निष्कर्ष बैठकले निकालेको सुनाए ।

बैठकपछि उनले भने, ‘सरकारको प्रभावकारी होस् गति बढाओस् भनेर आउने टिकाटिप्पणीलाई हामीले सकारात्मक रुपमै लिएका छौं । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकै तहमा संयन्त्र बनाएका छौं । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौं ।’

उनले कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको आरोप लगाए । प्रचण्डले सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा पोख्नको लागि सरकार परिवर्तनको हल्ला चलाएको जिकिर ज्ञवालीको छ ।

एमाले उपमहासचिव ज्ञवाली ।

उनीमात्रै होइन प्रमुख सचेतक महेश बर्तौलाले पनि सरकार परिवर्तनको कुनै सम्भावना नभएको दाबी गरे ।

उनले भने, ‘हामी भिन्न राजनीतिक दल हौं, फरक राजनीतिक विचार, कार्यक्रम भएको र एकआपसमा प्रतिस्पर्धी दल हौं । हामी एउटा राजनीतिक समझदारीका साथ ५/६ महिनामा सरकार परिवर्तन भइरहने परिस्थितीबाट मुलुकलाई मुक्त बनाउनको लागि मिलेका छौं । सरकारको स्थिरताबाट नै राजनीतिक स्थिरता जन्मिने हो । त्यसैले हामी समझदारी गरेर अघि बढेका हौं ।’

कांग्रेस र एमालेको बीचमा संस्थागत निर्णयमा कुनै समस्या नआएको बर्तौलाले दाबी गरे ।

उनले थपे, ‘आजको दिनमा कुनै अन्तरविरोध र मतभेद छैन । काम गर्ने तरिकाबारे कुनै द्वन्द्व पनि छैन । हामी दुई दलबीच भएको समझदारीप्रति कटिबद्ध छौं । तर दलभित्रका केही नेताहरूलाई रुचि, अरुचि हुन्छन् नै । लोकप्रियताको भोकले हामीकहाँ जे पनि बोल्ने प्रवृत्ति विकास भएका छन् । त्यसले पनि केही न केही बोलिराख्ने अहिलेको राजनीतिको समस्या हो ।’

लोकप्रियताको लागि बोल्ने केही नेताहरूको आधारमा कांग्रेस र एमालेबीच आन्तरिक समझदारी बिग्रेको भन्ने चर्चा चलेको भए पनि त्यस्तो कुनै सम्भावना नरहेको उनले बताए ।

‘हामी कुनै समस्या छैन । लोकतन्त्रमा दलहरूले आफ्नो विचार भित्र पनि राख्ने, बाहिर पनि राख्ने प्रवृत्ति विकास भइरहेका छन् । त्यसैले अहिले मासअनुसार नै बोल्ने नेताहरूको प्रवृत्तिमा विकास भएको छ । सत्ता साझेदार दलका कतिपय नेताहरूले पनि पपुलिष्ट बन्नको लागि बोल्ने देख्छौं । सहयात्रामा रहेर जिम्मेवारीमा बसेको मान्छेले पनि यो भएन त्यो भएन भने बोल्दै हिँड्ने कुरा शोभनीय हुँदैन ।’

उनले कांग्रेस एमालेबीचको मुल नेतृत्वबीच कुनै मनमुटाव, दरार र असन्तुष्टि नभएको भन्दै सात बुँदे सहमति अनुसार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रयत्नमा रहेको बताए ।

Leave A Reply

Your email address will not be published.