Take a fresh look at your lifestyle.

बीपीको शिरमा कसरी बेरियो जुटको बोरा ? झूटो अफवाह फैलाउँदै कांग्रेस

रुपन्देही । नेपालगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा कालो कपडा बेरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो विषयलाई लिएर कांग्रेस र राप्रपा समर्थकहरू आपसमा आरोप-प्रत्यारोप गरिरहेका छन् ।

कांग्रेसले महामानव मान्ने गरेका बीपीको शालिक नेपालगञ्ज उपमहानगरपालिका-१२ स्थिति बीपी चोकमा ठडिएको छ । यो राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाको निर्वाचन क्षेत्रमा पर्छ । नेपालमा लोकतन्त्र आएपछि राजा-महाराजाहरूको शालिक तोडफोड गर्ने श्रृंखला चलेको थियो । त्यसैको सिको गर्दै राजावादीहरूले पनि शालिकलाई निशाना बनाएका हुन् त भन्ने प्रश्न उठेको छ ।

कांग्रेसका स्थानीय नेताहरूले राप्रपाका कार्यकर्ताले उग्रता देखाउँदै बीपीको शालिकमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । शालिकको अनुहारमा कालोमोसो दलिएको समेत उनीहरूको दाबी छ । राप्रपाले भने स्थानीयदेखि केन्द्र स्तरबाटै खण्डन गरेको छ । बीपीप्रति आफूहरूको पनि सम्मान रहेकाले यस्तो दुर्व्यवहारको कल्पनै गर्न नसकिने उनीहरूको भनाइ छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद पौडेलले यस्तो घृणित कार्यको विरोध गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोराउन चेतावनी दिएका छन् । उनले लोकतन्त्रका लागि बीपीको योदान स्मरण गराउँदै यस्तो दुस्साहस नगर्न सुझाएका छन् ।

पार्टीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा इतिहास बनाएका व्यक्तिको शालिकमा कालोमोसो लगाउने, कालो कपडा बेर्ने र तोडफोड गर्न तयार हुने व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् पौडेलले ।

नेपालगञ्जकी पूर्वउपप्रमुख तथा कांग्रेस महासमिति सदस्य उमा थापाले शनिबार साँझ प्रहरीको ठूलो घेराबन्दीको बीचमा निस्केको राँके जुलुसमा सहभागीहरूले बीपीको शालिकमा दुर्व्यवहार गरेको बताइन् ।

‘यो बीपी र प्रजातन्त्रमाथिको प्रहार हो, दुर्व्यवहार हो, अराजकता हो, यस्तो कामले कसैलाई राम्रो गर्दैन’ उनले नेपाल प्रेससँग भनिन्, ‘प्रहरीको निगरानी नभएको भए उनीहरुले तोडफोड पनि गर्ने थिए, निकै अराजक बनेको थियो त्यो समूह ।’

भएको के थियो ?

शनिबार राति राजावादीहरूको समूहले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणाको रिहाइको माग गर्दै राँके जुलुस निकालेका थिए । प्रहरीले प्रदर्शनकारीले बोकेको राँको निभाउन जुटको बोराहरू पानीमा भिजाएर ल्याएका थिए । यो अभ्यास पहिले पनि हुने गर्थ्यो ।

प्रहरीले जुलुसमा हस्तक्षेप गरेर मसाल खोस्न खोज्दा जुटको बोरा तानातान भयो । यही क्रममा बोरा पुत्किएर शालिकको टाउकोमा पुगेको प्रहरीले बताएको छ । प्रहरीले तत्कालै शालिकमा चढेर उक्त बोरा निकालेको थियो । त्यसमा प्रदर्शनकारीले कुनै अवरोध गरेनन् । प्रहरीले उक्त बोला निकालेको भिडिओ पनि सार्वजनिक भएको छ ।

राप्रपाका सहमहामन्त्री ऋषि देवकोटाले कांग्रेसले भ्रामक प्रचार गरिरहेको बताए ।

उनले भने, ‘कांग्रेस नेताहरुले राप्रपालाई बदनाम गराउनका लागि भ्रामक प्रचार गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले पनि यसमा मद्दत गरे । खासमा बोरा उछिट्टएर त्यहाँ पुगेको मात्र हो । त्यसमा हाम्रा कार्यकर्ताको कुनै हात छैन ।’

प्रहरीको भनाइ पनि राप्रपाको दाबीसँग मेल खान्छ । भवितव्यले भएको घटनालाई अनावश्यक प्रचार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातलीले बताए ।

उनले भने ‘हिजो साँझ राँके जुलुसको समयमा म पनि त्यहाँ नजिकै थिएँ । कसैले जानेर गरेको होइन । जुलुसको मसाल निभाउने क्रममा कपडा वा बोरा उछिट्टिएर गएको हो । यो एक्सिडेन्टली भएको हो, अनावश्यकरूपमा यसलाई प्रचार गरियो । अनावश्यक फण्डा गरिएको हो,’ उनले नेपाल प्रेससँग भने ।

राप्रपा नेपालगन्जले आफ्नो तर्फबाट यस्तो नभएको प्रष्टीकरण दिएको छ । नगर अध्यक्ष हुकुम जीसीले इतिहास बनाएका सबै नेताहरुप्रति पार्टीको उच्च सम्मान भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो पार्टीको यस्तो नीति नरहेको यदि आन्दोलनमा घुसपैठ भएर यस्तो गरिएको भए छानबिन हुने बताएका छन् ।

कालो पोतिएको छैन

बीपीको अनुहारमा कालो कपडामात्रै नभएर कालो पोतिएको प्रचार पनि कांग्रेसले गरेको छ । तर, यथार्थमा कालो पोतिएको छैन । प्रहरीले पनि कालो पोतिएको कुरा झूटो भएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.